समाचार
काठमाडौँ ।
वरिष्ठ गायक तथा स्रष्टा शम्भुकुमार मिलनका नाममा स्थापित शम्भु–निर्मला कला–साहित्य समाज, काठमाडौँले हरेक वर्ष साहित्य र गीतसङ्गीत क्षेत्रमा विशेष योगदान गरेका एकएक जना विशिष्ट साधकलाई प्रदान गर्दै आएको ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’यसवर्ष साहित्यतर्फ नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. वासुदेव त्रिपाठीलाई र गीतसङ्गीततर्फ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरेको छ ।
मिलनको पाँचौँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८२ अर्पण समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठान पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले जनही रुपैयाँ २१,१२१ राशिसहित उक्त पुरस्कार तथा सम्मान प्रा. डा. त्रिपाठी (साथमा श्रीमती गीता त्रिपाठी) र मीरा राणालाई अर्पिएका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले प्राडा त्रिपाठी र राणा नेपाली साहित्य र गीतसङ्गीतका उच्च शिखर भएको बताए ।
विशिष्ट अतिथि डा. विष्णुविभु घिमिरेले नेपाली भाषा साहित्यको मानकीकरणमा त्रिपाठीले र गीतसङ्गीतको उन्नयनमा राणाले दिएका योगदानको स्मरण गरेका थिए । सम्मानित प्रतिभा त्रिपाठीको विस्तृत परिचय प्रस्तुत गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य सचिव, वरिष्ठ साहित्यकार तथा दर्शनविद् प्रा. जगत्प्रसाद उपाध्यायले सिर्जना, समालोचना, भाषा, व्याकरण, शब्दकोश, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षा, दर्शन, पूर्वीय तथा पाश्चात्य साहित्य सिद्धान्त, विधासिद्धान्त, साहित्येतिहास, प्रशासन आदि जस्ता बहु क्षेत्रका ज्ञाता प्राडा त्रिपाठी नेपाल र नेपालीका लागि एक विशिष्ट गौरव रहेको बताए ।
सम्मानित व्यक्तित्व मीरा राणाको परिचयात्मक मन्तव्य राख्दै वरिष्ठ गायक तथा सङ्गीतकार डा. टीका भण्डारीले राणाको गायनकला, सङ्गीतकला, बहुभाषिक क्षमता, प्रशासनिक दक्षता आदि सबै क्षेत्रमा उत्तिकै दखल रहेको बताए । विशिष्ट साधक सम्मान ग्रहण गरेपछि प्राडा त्रिपाठीले समयले साथ दिएसम्म आफ्ना अधुरा काम पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै मीरा राणाले गायक मिलनसँगको साङ्गीतिक सहकार्यको स्मरण गर्दै आजीवन नेपाली मौलिक गीतसङ्गीतको उन्नयनमा लाग्ने प्रण गरेका थिए ।
संस्थाकी संरक्षक निर्मला रेग्मीले यस सम्मानलाई हरेक वर्ष निरन्तरता दिने र राष्ट्रका गौरवहरूलाई खोजीखोजी प्रकाशमा ल्याउने संस्थाको योजना रहेको बताए । संस्थाका अध्यक्ष प्राडा देवी नेपालले सभाध्यक्षको मन्तव्य राख्दै २०८० सालमा वरिष्ठ पत्रकार, लेखक तथा अन्वेषक भैरव रिसाललाई सम्मान गरेर थालनी भएको यस सम्मानबाट २०८१ सालमा साहित्यतर्फ वैरागी काइँला र गीतसङ्गीततर्फ ईश्वर अमात्यलाई सम्मान गरिएको बताए । त्यस्तै यस वर्ष प्राडा त्रिपाठी र राणालाई सम्मान गरिएको हुँदा आगामी वर्षमा पनि यस गरिमालाई घट्न नदिने र सम्मानको पाँच वर्ष पूरा भएपछि गायक तथा स्रष्टा मिलनका साथै सम्पूर्ण सम्मानित प्रतिभाहरूको जीवनी, व्यक्तित्व र कृतित्व समेटिएको बृहत्ग्रन्थ प्रकाशन गर्ने उनले घोषणा गरेका थिए।
नेपालका आधिकारिक इतिहासविद्, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त, त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेल विशिष्ट अतिथि रहेका थिए । सूचना विभागको सभाकक्षमा आयोजित उक्त कार्यक्रम संस्थाका महासचिव कृष्णप्रसाद पाण्डेले सञ्चालन र कोषाध्यक्ष सिर्जना रेग्मीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा गायिका डा. सीता थापाले मीरा राणाको कालजयी गीत ‘तिमीलाई रुवाउने मेरो धोको हैन’ गाएकी थिइन ।
कवि प्रविज्ञा नेपालले स्रष्टा त्रिपाठीको ‘वीरपुर्खा’ कविता वाचन गरेका थिए । साथै ललितकला क्याम्पसकी छात्रा रोशा फुयालले गायक मिलनको अमर लोकगीत ‘पानी प¥यो मायालु’गाएकी थिइन । उनलाई रोशन फुयाल र सन्देश हुमागाईंले वाद्यवादनमा सहयोग गरेका थिए । उक्त अवसरमा गायक सचिन रौनियारले गायक मिलनको एउटा गीत गाएका थिए । कविद्वय रत्ननिधि रेग्मी र गीता कार्कीले सम्मानित व्यक्तित्वद्वयको कवितात्मक सम्मानपत्र वाचेका थिए ।