कविता–हिन्दी
काठमाडौँ ।
बाल नाट्य सँस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ । छुनुमुनुमा १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दिक्षान्त समारोहको अवसर पारेर आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १ सय ११ रूपैयाँ ताम्रपत्र दोसल्ला र भादगाउँले टोपीलगाएर सम्मान गरिएको हो ।
उनीहरूलाई सम्मान गर्दै छुनुमुनुका अध्यक्ष युवा रङ्गकर्मी राजन भुजेलले आआफ्नो विधाका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा छुनुमुनु सँस्था नै गौरवान्वित भएको बताए । यस्तै छुनुमुनुका वरिष्ठ सल्लाहकार तथा रङ्गकर्मी प्रभाकर न्यौपानेले नृत्य र नाट्य विधामा थापा र शर्माको योगदानको तुलना हुनै नसक्ने भन्दै संस्थाले आफ्नो गच्छेले भ्याएसम्मको सम्मान गरेर दुबै जनाको योगदानको स्मरण गर्न खोजेको बताए ।
सम्मानित व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक थापाले नृत्य र अभिनय विधामा लागेर कला साहित्यको उन्नयनमा योगदान गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरे ।
अर्का सम्मानित व्यक्तित्व वरिष्ठ रङ्गकर्मी शर्माले उन्नत समाजमा सधैँ कलाको सम्मान हुनाको साथै घरघर, विद्यालय र विश्वविद्यालयमा समेत रङ्गकर्म, नृत्यका साथै साहित्यका अन्य विधाको अध्ययन अध्यापन हुने गरेको स्मरण गरे ।
नेपालमा पनि विद्यालय तहमा रङ्गकर्ममा बालबालिकाको आकर्षण बढ्दै गएकोमा उनले प्रशन्नता व्यक्त गरे । वरिष्ठ कलाकार प्रभाकरदेव पाण्डेले पछिल्लो छिमलमा अझ अब्बल नाट्यकर्मी जन्मिरहेकोमा खुशी ब्यक्त गर्दै विद्यालय, घर परिवारले त्यसमा सहयोग गरेको बताए । यस्तै नाट्यकर्मी पुरु रिसाल,आशान्त शर्मा र केदार श्रेष्ठले नाट्यविधामा बालबालिकाको आकर्षण थप खुशीको कुरा भएको भन्दै यो क्रम अझै सशक्त ढङ्गले अघि बढ्न सके यसको प्रभाव सिँगो समाजमा पर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
यस्तै भ्याल्ली भ्यू विद्यालयका प्रिन्सिपल सुवासचन्द्र भण्डारी, डियर वाक स्कुल सिफलका प्रिन्सिपल मधुसुदन भुसाल, डियर वाक स्कुल धादिङका प्रिन्सिपल निर्मल पौडेल, अभिभावकहरू यसराज जोशी र तृप्ति ठाकुरले वालवालिकाको व्यक्तित्व विकास र अध्ययनमा अभिनयको महत्त्वबारे प्रकाश पारेका थिए ।
