रम्बास कविता
भक्तपुर ।
कथाकार माया ठकुरीका कथाहरू नेपालभाषा अनुवादसहितको सङ्ग्रह ‘माँ, झासँ’ सार्वजनिक गरिएको छ। सिर्जना अभियान समाजको आयोजनामा भक्तपुरमा सम्पन्न कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा कृतिकी स्रष्टा माया ठकुरी, कथाकार जलेश्वरी श्रेष्ठ, कवि प्रतिसरा सायमी तथा अनुवादक ध्रुव मधिकर्मीले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कथाकार ठकुरीले आफ्ना नेपाली कथाहरू नेपालभाषामा अनुवाद भएर सार्वजनिक हुनु स्रष्टाका लागि गर्वको विषय भएको बताउनुभयो। “आफूले सिर्जना गरेका कथाहरू अन्य भाषामा अनुवाद भई पाठकसम्म पुग्नु स्रष्टाका लागि थप पहिचान र सम्मान हो,” उहाँले भन्नुभयो ।
कृतिमाथि टिप्पणी गर्दै कवि प्रतिसरा सायमीले माया ठकुरीका कथाहरू संवेदनशील, सशक्त र प्रभावकारी रहेको उल्लेख गर्नुभयो। द्वन्द्वकालमा परिवारले भोगेका पीडा, नारीविभेद तथा लैङ्गिक समस्याजस्ता विषयलाई कथामा मार्मिक रूपमा प्रस्तुत गरिएको उहाँको भनाइ थियो। सफल अनुवादका कारण मौलिक कथा पढेजस्तै अनुभूति हुने सायमीले बताउनुभयो ।
विशेष अतिथि कथाकार जलेश्वरी श्रेष्ठले माया ठकुरीसँगको दीर्घ साहित्यिक मित्रता स्मरण गर्दै स्रष्टामित्रको कृति विमोचन गर्न पाउनु खुसीको विषय भएको धारणा राख्नुभयो । अनुवादक ध्रुव मधिकर्मीले नेपाली भाषाका सशक्त कथाहरू नेपालभाषामा अनुवाद गर्दा पाठक वर्ग विस्तार हुनुका साथै सम्बन्धित भाषाको शब्दभण्डार समृद्ध हुने बताउनुभयो । १५ वटा कथा समेटिएको ‘माँ, झासँ’ कृतिलाई सिर्जना अभियान समाजले प्रकाशन गरेको हो ।
