कविता
काठमाडौँ ।
कवि/निबन्धकार/आख्यानकार रेशम विरहीको नयाँ उपन्यास ‘पाश्र्वध्वनि’ मंगलबार सार्वजनिक गरिएको छ । काठमाडौं नयाँसडकको कवि–कुनो ‘फुटपाथ एकेडेमी’ मा विरहीको उपन्यास संयुक्त रूपमा लोकार्पण गरिएको हो । कार्यक्रममा साहित्यकारहरू राजव पुडासैनी, विमल निभा, श्यामल, अविनाश श्रेष्ठ, दीपक सापकोटा, शार्दूल भट्टराई, मातृका पोखरेल, सीताराम उप्रेती र लेखक स्वयंले उपन्यास लोकार्पण गरेका थिए ।
रेशम विरही नेपाली भूगोल, समाज, राजनीति र साहित्यमा लामो जीवन भोगिसकेका साहित्यकार भएको आख्यानकार राजवले बताए। ‘उनको लेखनमा ती सबै क्षेत्रको अनुभवको प्रचुर प्रासङ्गिक उपयोग र ओज देखिन्छ,’ राजवले भने । समसामयिक लेखनमा रेशम विरही एक सशक्त नाम भएको कवि श्यामलले बताए। ‘लामो समयदेखि लेखनमा आराधना गरिरहेका विरही साहित्यका आराधक हुन्,’ श्यामलले भने, ‘कवि, निबन्धकार र आख्यानकारका रूपमा जीवन र जगत् हेर्ने सूक्ष्म अन्तर्दृष्टि रेशमसँग छ ।’
रेशम विरहीले लेखनमा आफ्नै निजी भाषाको निर्माण गरेको निबन्धकार दीपक सापकोटाले बताए । ‘निबन्ध, आख्यान होस् वा कविता- वर्तमानमा लेखिरहेका लेखकहरूको लाममा विरही अलग्गै उभिन्छन्,’ सापकोटाले भने, ‘उनका विम्ब, प्रतीक, मिथक र आञ्चलिकताले नेपाली साहित्यलाई नयाँ रङ दिएको छ, रेशमलाई फरक पहिचान दिएको छ । ‘पाश्र्वध्वनि’ महानदी नारायणीको सुक्ष्म वर्णन र त्यसवरिपरि बाँचिरहेका मान्छेहरूको जिन्दगीको विरही ब्लुज हो । यो किताब समाज, राजनीति र इतिहासको त्रिवेणी-कथा हो ।’
‘पाश्र्वध्वनि’ विरहीको १४ औं पुस्तक हो । यसअघि उनको उपन्यास ‘प्रेमदासको डायरी’ प्रकाशित थियो । ‘पाश्र्वध्वनि’मा सुदूर समयको चितवन, त्यहाँको सामाजिक परिवेश र असन्तुष्ट कम्युनिष्ट राजनीतिको छायालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । नारायणीको सूक्ष्म वर्णन र वरिपरिका मान्छेको जीवन–संघर्षलाई कथामा लेखिएको छ । उपन्यास प्रेम र राजनीतिको धारमा उभिएर लेखिएको लेखक विरहीले बताए । ‘पाश्र्वध्वनि’ ले चितवनको वामपन्थी राजनीतिलाई केन्द्रमा राखेको छ । शिखा बुक्सले प्रकाशन गरेको ‘पाश्र्वध्वनि’ को मूल्य ७९५ रुपैयाँ रहेको छ ।
