• २०८२ पुष १२, शनिबार

‘कल्प काव्य साँझ’मा बाँसुरीको धुनसँगै गुन्जिए डा. लम्साल

काठमाडौँ ।

महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थिए । डा. भण्डारी ललितकला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।

कल्प महाकाव्य प्रकृति, संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए । डा. लम्सालले काव्यका केही र केही निजी सन्दर्भ सुनाइरहँदा दर्शकहरू निकै प्रफुल्ल भएका थिए ।

महाकाव्यकार लम्साल बाँसुरी लिएर मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन्। आफैं पनि लामो समय रेडियो प्रसारणमा बिताएका डा. लम्सालले कविता वाचिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका दिनको याद गरेका थिए ।

ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । डा. लम्साल साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन् । उनका १४ पुस्तक प्रकाशित छन् ।