• २०८२ पुष २६, शनिबार

कुबेरचन्द्र दाहालको ‘टिस्टा–रङ्गीत’ उपन्यास सार्वजनिक

सिलगढ़ी ।

सिक्किमवासी सर्जक कुबेरचन्द्र दाहालकृत उपन्यास ‘टिस्टा–रङ्गीत’ सिलगढ़ीमा लोकार्पण गरिएको छ। लोकार्पण समारोह आयोजक समिति तथा प्रकाशक बुक–आण्ट पब्लिकेशन हाउसको संयुक्त आयोजनामा भानुभक्त समिति भवनस्थित किताब केफेमा कार्यक्रम सम्पन्न भएको हो । समारोहको अध्यक्षता उत्तरबङ्ग विश्वविद्यालयका भूतपूर्व प्राध्यापक लक्ष्मीकान्त शर्माले गर्नुभएको थियो भने साहित्य चौतारी सांस्कृतिक प्रतिष्ठान, बिर्तामोड़का अध्यक्ष एवं संरक्षक देवीभक्त श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कृतिको विधिवत् लोकार्पण लक्ष्मीकान्त शर्मा, देवीभक्त श्रेष्ठ, प्राध्यापक डा. मोहन पी. दाहाल र लेखक कुबेरचन्द्र दाहालले संयुक्त रूपमा गर्नुभएको थियो ।

उपन्यासमाथि टिप्पणी गर्दै गायक, नाट्यकार तथा साहित्यकार जगदीश शर्माले ‘टिस्टा–रङ्गीत’ लाई सिक्किम र दार्जीलिङ क्षेत्रको भाषिक-सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने सृजनात्मक दस्तावेजको रूपमा चित्रित गर्नुभयो । सर्जक संवाद सत्रमा लेखक दाहालले भारतीय नेपालीहरूले भोग्दै आएका पहिचान, विस्थापन र सांस्कृतिक सङ्घर्षलाई उपन्यासको केन्द्रीय विषयवस्तु बनाएको बताउनुभयो । उहाँले भारतीय संविधान नेपालीमा अनुवाद गर्ने आफ्नो प्रयास र त्यस कृतिको तेस्रो संस्करणसम्मको प्रकाशनले प्राप्त गरेको स्वीकार्यतासमेत स्मरण गर्नुभयो ।

कार्यक्रममा लक्ष्मीकान्त शर्मा र जीवन अधिकारीलाई सम्मान गरिएको थियो। कवि लीला अनमोलले कविता वाचन गर्नुभयो भने सर्जकको परिचयसम्बन्धी श्रव्य–दृश्य प्रस्तुति पनि राखिएको थियो । स्वागत सम्बोधन तथा प्रकाशकीय वक्तव्य बुक–आण्ट पब्लिकेशन हाउसका निर्देशक राजा पुनियानीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन युवराज सुन्दासले गर्नुभएको थियो ।

नेपाल र भारतका विभिन्न क्षेत्रबाट साहित्यकार, प्राध्यापक, कलाकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त समारोहले उपन्यास ‘टिस्टा–रङ्गीत’ लाई पाठकमाझ औपचारिक रूपमा परिचित गराएको छ ।