• २०८२ मंसिर २४, बुधबार

सर्जकहरू किराँती र चौधरी सम्मानित तथा पुरस्कृत

काठमाडौं ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले दुई साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वैरागी काइँलाले अग्रज कवि जसराज किराँतीलाई ‘प्रतिभा विशिष्ट सम्मान’ प्रदान गरे । सम्मानका साथ नगद राशि एक लाख समेत प्रदान गरियो । त्यस्तै, प्रमुख अतिथि काइँलाले नेपाली र मैथिली साहित्यमा कलम चलाउँदै आएकी पत्रकार विजेता चौधरीलाई नगद राशि एक लाखसहित ‘प्रतिभा पुरस्कार’ प्रदान गरे ।

उक्त अवसरमा प्रमुख अतिथि काइँलाले प्रवासमा स्थापित यस संस्थाले नेपाली भाषा, साहित्य र कलासंस्कृतिका क्षेत्रमा दिएको योगदान कदरयोग्य रहेको उल्लेख गरे । उनले प्रतिष्ठानले भाषा साहित्यको संरक्षणमा गरेको कामको प्रसंसा गरे । कार्यक्रममा कवि श्रवण मुकारुङले यो पुरस्कारको सौन्दर्य नै बेग्लै रहेको बताए । अर्का वक्ता गणेश राईले बेलायतमा स्थापना भए पनि बितेको १८ वर्षदेखि प्रतिष्ठानले विभिन्न सर्जकहरूलाई सम्मानित तथा पुरस्कृत गर्दै आएको बताए ।

सम्मानित स्रष्टा किराँती र चौधरीले मन्तव्यका क्रममा आफूहरूलाई प्राप्त सम्मानले उर्जाशील बनाएको उल्लेख गरे । प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा डा. तुलसी गौतमले सर्जकहरूको परिचय दिएका थिए भने बेलायतदेखि आएका प्रतिष्ठानका उपाध्यक्ष मिजास तेम्बेले प्रतिष्ठानले गर्दै आएका कामहरूबारे जानकारी दिए ।