साँझको सुनौलो छायाँ
बिस्तारै पस्छ भित्ताका कुना कन्दरा हुँदै,
झ्याल बाहिरका चराहरूको गुनगुन
धुँवा जस्तो हल्का हुँदै बिस्तारै हराउँछ ।
स्याल, कुकुर, बतास
सबैको आवाज एकएक गर्दै
धेरै टाढाको लयजस्तो मात्र सुनिन थाल्छ,
र यहीँबाट सुरु हुन्छ
निद्राको पहिलो आरम्भ ।
ओछ्यानको सेतो चिस्यान
समयभन्दा पनि पुरानो लाग्छ,
मानौँ हजारौँ वर्षदेखि
मानिसले आफ्ना थकित मनहरू
यस्तै शान्त सतहमा टेकेर राख्दै आएका हुन् ।
तकिया भित्रका कपासका सितार
नजानीकनै बज्न थाल्छन्,
र ती धुनहरू
हाम्रो आत्माको बिखुरिएको आकार
फेरि एक ठाउँमा जोडिदिन्छन् ।
निद्रामा प्रवेश गर्नु
स्वप्नको जस्तै कुनै गहिरो बाटो हो
जहाँ प्रवेशद्वारमा
चिन्ताहरू आफूलाई आफैँ झुकाउँदै
दैनिकताका बोझहरू झारिदिन्छन् ।
उता, अन्र्तमनका कथाहरूले
हाम्रो नशा नशामा झिल्को पोतिदिन्छन्,
मानौँ मनको कुनै गुप्त बगैँचा
रातमा मात्रै फुल्छ ।
सपना कहिले चित्रकार बन्छ,
कहिले लेखक-
कहिले त अचम्मैको यात्त्रु,
कहिले उडाउँछ आकाशका छाना,
कहिले घिसार्छ पुराना सम्झनाहरू
नयाँ रूप, नयाँ स्वरमा ।
हामी रसाइलो बादल भएर
कल्पनाको नदीमा बगिरहन्छौँ,
कहिले हराउँछौँ,
कहिले पो आफैँलाई भेटेर डराउँछौँ ।
तर निद्राको त्यो अपार महासागरमा
हामी कुनै न कुनै रूपमै
हामी नै हुन्छौँ
अझ स्पष्ट, अझ निहित, अझ निसंकोच ।
रात गहिरिँदै गएको बेला
बिस्तारामा फैलिएको मौनता
एकदम पृथ्वीको धड्कनजस्तै सुनिन्छ ।
दम्भ, डर, निराशा, पीडा
सबैका पाना बन्द हुँदै जान्छन,
मानौँ कुनै अदृश्य ग्रन्थालयको
मुख्य ढोका रातकै आफ्नै ढोलमा
धमधमाइ बन्द हुन्छ ।
त्यो बेला,
हाम्रो श्वास पनि
यी पङ्क्तीबीचको विरामजस्तै
मधुरो बन्छ ।
निद्रा !
तिमी किन यस्तो अद्भुत हौ ?
तिमी नभए सङ्घर्षका पहाड
कसरी चढिन्थे होला ?
तिमीले सिकायौ
आराम पनि यात्राजस्तै पवित्र छू
तिमीले बुझायौ-
अन्धकारमा छिरेरै
उज्यालो भेटिन्छू ।
र हरेक बिहान
जब आँखामा पहिलो किरण टल्कन्छ,
तब थाहा हुन्छ
पछिल्लो रातले
कति नयाँ रंग लगाइदियो जीवनलाई !
निद्रा,
तिमी माझ
मानव आत्माको सबैभन्दा शुद्ध
र सबैभन्दा नाजुक रूप
माथि उठ्छ ।
दिवसका ठूला ठूला आवाजहरू
तिम्रो छातीमा आएर
सानो न्यानो बालकझैँ
शान्त भएर निदाउँछन्
र यही शान्त भित्र
हामी फेरि तयार हुन्छौँ
आरम्भका नयाँ कथाहरू लेख्न,
नयाँ बाटो खोज्न,
जीवनका अँध्यारा पानाहरूमा
उज्यालो पर्खाल खडा गर्न ।
प्रत्येक रात
एक सुन्दर अवरोध हो
तर त्यो अवरोधले नै
जीवनलाई बगाउँछ ।
निद्राको यो पवित्र नदीमा
हाम्रो मन कति पटक बगिसकेको होला,
तर प्रत्येक पल
नयाँ, निर्मल, र अकल्पनीय
किनकि निद्रा आफू
सबैभन्दा पुरानो चमत्कार हो ।