समाचार
दार्जिलिङ ।
बसुधा भारतीय नेपाली नारी लेखिका मञ्चको आयोजनामा रजत जयन्ती समारोह दार्जिलिङमा भव्य रूपमा सम्पन्न भएको छ । सोही अवसरमा ‘वासुधा रजत जयन्ती विशेषाङ्क’ कृतिको लोकार्पण समेत गरिएको थियो। मञ्चका अध्यक्ष डा.गीता क्षेत्रीको अध्यक्षतामा सम्पन्न समारोहमा साहित्यकार डा. गोकुल सिन्हा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
पूर्व अध्यक्ष तथा संरक्षक विन्द्या सुब्बाको विशेष उपस्थितिसहित साहित्यकार प्रेम प्रधान, नेपालबाट आमन्त्रित साहित्यकार शरद प्रधान, मेनुका प्रधान, चन्द्रमित लक्समलगायतका विशिष्ट अतिथिहरूको सहभागिताले कार्यक्रम विशेष बनेको थियो । कार्यक्रमको सञ्चालन डा. निना राईले गर्नुभएको थियो । प्रारम्भमा महासचिव अमला सुब्बाले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसपछि उपस्थित अतिथिहरूको बाहुलीबाट लोकार्पित ‘वासुधा रजत जयन्ती समारोह विशेषाङ्क’ कृतिको औपचारिक लोकार्पण गरिएको थियो । कृतिमाथि विस्तृत समालोचनात्मक वक्तव्य साहित्यकार जय क्याक्टले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा वसुधाका पूर्व अध्यक्ष तथा संरक्षक विन्द्या सुब्बा, संस्थापक सदस्य मातृका गजमेर, बाल साहित्य अकादमी पुरस्कारप्राप्त डा. साङ्गमू लेप्चा तथा वक्ता जय क्याक्टलाई दोसल्ला ओढाई स्मृति–चिन्ह प्रदान गर्दै सम्मान गरिएको थियो। सम्मानपत्र बिनिता क्षेत्री, मेनुका प्रधान, मञ्जुला तामाङ र देविका मंग्रातीले वाचन गर्नुभएको थियो । कविता पठनमा कौशल्या मुखिया, मञ्जुला तामाङ र देविका मंग्रातीले प्रस्तुतिका माध्यमबाट कार्यक्रमलाई थप जीवन्त बनाउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विन्द्या सुब्बा, प्रेम प्रधान र शरद प्रधानले वसुधा परिवारले नेपाली भाषा–साहित्य र नारी सृजनशीलताको विकासमा पुर्याइरहेको योगदानको प्रशंसा गर्नुभएको थियो । प्रमुख अतिथि डा. गोकुल सिन्हाले वसुधाको निरन्तर साहित्यिक यात्रालाई सराहनीय बताउँदै रजत जयन्तीले संस्थालाई अझ सुदृढ र सक्रिय मार्गमा अग्रसर गराउने विश्वास व्यक्त गर्नुभयो ।
अन्तिम चरणमा मञ्चकी अध्यक्ष डा. गीता क्षेत्रीले अध्यक्षीय सम्बोधन राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले वसुधा परिवारले साहित्य, संस्कृति र नारी सृजनशीलताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै अब संस्थाको गतिविधि प्रभावकारी बनाउन एक स्थायी कार्यालय अत्यावश्यक भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रम सबिता संकल्पद्वारा प्रस्तुत धन्यवाद ज्ञापनसमेतसँगै सम्पन्न भएको थियो ।
