• २०८२ पुष २८, सोमबार

‘बलेँसी’ सामुहिक लघुकथासंग्रह विमोचित

काठमाडौँ ।

साहित्यकार विमल भौकाजीले सम्पादन गरेको ‘बलेँसी’ सामुहिक लघुकथासंग्रह लोकार्पण भएको छ । ‘बलेँसी’ का सम्पादक भौकाजीले यसअघि ‘छचल्का’ सामुहिक लघुकथासंग्रहको सम्पादन गरेका थिए । उनकै सम्पादनमा अर्काे सामुहिक लघुकथासंग्रह प्रकाशनको तयारीमा छ ।

सहभागी कथाकारहरूले सामुहिक रूपमा ‘बलेँसी’ सामुहिक लघुकथासंग्रहका लोकार्पण गरेका हुन् । कार्यक्रममा भुँडीपुराण प्रकाशनका केशव पराजुली, सम्पादक भौकाजी, स्रष्टाहरू दिव्य गिरी, ललिता दोषी, मुरारीराज मिश्र, प्रकाश कुइँकेल, ध्रुवराज थापा, किशन पौडेल, देवी घिमिरे, ललिता दोषी, मुकुन्दप्रसाद प्रसाईं, श्याम श्रेष्ठ, विष्णुप्रसाद आचार्य अतृप्त लगायतको उपस्थिति रहेको थियो ।

भुँडीपुराण प्रकाशनकोप्रकाशन गरेको उक्त संग्रहका लागि लघुकथा सौन्दर्यका संस्थापक श्रीराम राईले संयोजनको भूमिका निर्वाह गरेका हुन् । संग्रहमा पहिलो लघुकथाकार पूर्णप्रसाद ब्राम्हणदेखि नयाँ पुस्ताका गरी एक सय लघुकथाकारका एकएक लघुकथा समेटिएका छन् । नेपाली लघुकथाको क्षेत्रमा विसं २००७ सालमा प्रकाशित ब्राम्हणको लघुकथासंग्रह ‘झिल्का’ लाई पहिलो लघुकथासंग्रह मानिएको छ ।

साहित्यकार भौकाजीले ऐतिहासिक ‘शारदा’ मासिकलाई १३६ अंकदेखि निरन्तर सम्पादन गर्दै छन् । शारदाको अहिलेसम्म नियमित १४० अंक प्रकाशित भएको छ । १५० भन्दा धेरै कृतिको सम्पादन गरेका उनले ‘शारदा’ को तिन अंक (२०७१ कत्तिक, २०७५ असोज र २०७५ फागुन) लाई लघुकथा विशेषांक रूपमा सम्पादन/प्रकाशन गरेका छन् ।

लघुकथा समाज नेपालले लघुकथाको विधागत उन्नयनमा पुयाएको योगदानको कदर गर्दै उनलाइ ‘पूर्णप्रसाद ब्रम्हाण लघुकथा सम्मान–२०८२’ अर्पिएको छ । साहित्यकार भौकाजी रामेछाप जिल्लाको साँघुटार बजारमा जन्मिएका स्रष्टा हुन् । तीन आँखाका मान्छे (छोटा कविता, संयुक्तसङ्ग्रह, २०४५), जिन्दावाद मुर्दावाद (संयुक्त कवितासङ्ग्रह, २०४७), यात्रापछि यात्रा (संयुक्त लघुकथासङ्ग्रह, २०४९), असिना भूत (बालकथासङ्ग्रह,२०६२, २०६४, साझा प्रकाशन), जसको जोत उसको पोत (व्यङ्ग्यसङ्ग्रह, २०६४, २०६६, २०६९, रत्न पुस्तक भण्डार), श्रीपेच नलगाएका राजा (व्यङ्ग्यसङ्ग्रह, २०६८, साझा प्रकाशन), द्रौपदी देश (व्यङ्ग्यसङ्ग्रह, २०७५, साङ्ग्रिला बुक्स), आऊ हल्ला गरौँ (व्यङ्ग्यसङ्ग्रह, २०७५, डिकुरा पब्लिकेसन) उनका प्रकाशित कृति हुन् ।

राष्ट्रिय कविता महोत्सव २०५२ मा स्वर्णपदक पाएका भौकाजी युवावर्ष मोती पुरस्कार, भैरव अर्याल पुरस्कार, नातिकाजी योगदान पुरस्कार जस्ता पुरस्कारबाट पुरस्कृत छन् ।