समाचार
निरञ्जना चन्द ‘निरू’को तेस्रो कृति बजारमा
काठमाडौँ ।
कवयित्री निरञ्जना चन्द ‘निरू’को नयाँ कविता–सङ्ग्रह ‘वनफूलको विद्रोह’ हालै रत्न पुस्तक भण्डारबाट सार्वजनिक भएको छ। वि.सं. २०८२ (सन् २०२५) मा पहिलो संस्करण प्रकाशित उक्त कृतिको मूल्य रू. ३९५ राखिएको छ। आकर्षक आवरण डिजाइन वसन्तराज अज्ञातले गरेका छन् ।
सुर्खेत सिम्ता–साहुखोला जन्मथलो र बर्दिया कर्मथलो भएकी कवयित्री निरू विगत केही वर्षयता निरन्तर सिर्जनामा सक्रिय छिन्। यसअघि प्रकाशित उनका कविता–सङ्ग्रह ‘साइनो’ (२०७६), ‘निरूपण’ (२०७७) तथा थुप्रै फुटकर कविता–गजलले उनले साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाइसकेकी छन्। लुम्बिनी प्रदेशद्वारा आयोजित कविता प्रतियोगिता (२०७७) मा पहिलो, नेपाल प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव (२०७८) मा तेस्रो तथा साहित्य सदनद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव (२०८०) मा दोस्रो स्थान हासिल गर्दै उनका कृति निरन्तर चर्चामा रहँदै आएका छन्।
‘वनफूलको विद्रोह’ का कविता समाज, संस्कृति, प्रकृति र समयका विसङ्गतिमाथिको संवेदनशील दृष्टि हुन्। राउटेनीको जीवनपीडा, नारीमाथिका विभेद–उत्पीडन, छाउपडी, दहेज, बालविवाहदेखि धर्मका नाममा फैलिन खोजिएको कट्टरपन्थी सोचसम्मका विषयमा कवयित्रीले तीक्ष्ण कलम चलाएकी छन्। बदलिंदो समयसँगै चेतनाको उज्यालो फैलिनुपर्ने उनको चाहना पुस्तकका कविताभरि प्रस्ट महसुस हुन्छ।
कवितामा प्रयोग गरिएका प्रकृतिका बिम्ब, प्रतीक र गद्य–लयको सहज प्रवाहले निरूको सिर्जनालाई थप प्रभावकारी बनाएको समीक्षकहरूको भनाइ छ। ‘वनफूलको विद्रोह’ लाई कवयित्रीको सिर्जनात्मक उचाइको नयॉ चरणका रूपमा हेरिएको छ।
यस सङ्ग्रहमा समेटिएका कविता सामाजिक परिवर्तन, चेतना, स्त्रीअधिकार र मानवीय संवेदनाको बलियो आवाज बनेर प्रस्तुत भएका छन्। साहित्यिक क्षेत्रका लागि यो कृति एक महत्वपूर्ण थपिएको योगदानका रूपमा मानिएको छ ।
