• २०८२ मंसिर २, मंगलवार

नेत्र खतिवडाको ‘ढुङ्गो फुलेपछि’ मुक्तकसङ्ग्रह विमोचित

विराटनगर ।

विराटनगरका युवा कवि नेत्र खतिवडाको पहिलो कृति ‘ढुङ्गो फुलेपछि’ मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उक्त कृतिको संयुक्त रूपमा लोकार्पण गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकारहरू बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, उमेश लुइटेल, भुषण ढुङ्गेल, प्रयाग न्यौपाने तथा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको थियो ।

कृतिमाथि समालोचकद्वय उमेश लुइटेल र भुषण ढुङ्गेलले समीक्षा प्रस्तुत गर्नुभएको थियो । समालोचक लुइटेलका अनुसार संग्रहका मुक्तकहरूमा बिम्ब र प्रतीकको सशक्त प्रयोग, साथै समसामयिक, श्रृङ्गारिक र राष्ट्रप्रेमका विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । अर्का समालोचक ढुङ्गेलले भन्नुभयो, “नेत्र खतिवडाका मुक्तकहरूमा मुक्तकका सबै गुणहरू छन्द- भावनात्मक गहिराइ र भाषिक चमत्कार ।” उहाँले खतिवडाको सृजनायात्रालाई निरन्तरता दिन शुभकामना समेत दिनुभयो ।

प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले कृतिलाई मानवीय संवेदनाले ओतप्रोत रहेको बताउँदै भन्नुभयो, “यो संग्रहले समाज र वर्तमान समयको यथार्थ बोलेको छ ।” नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका अध्यक्ष बाबुराम पोखरेलले भन्नुभयो, “भविष्यको उज्यालो आशाले जीवनलाई सार्थक बनाउँछ, र नेत्र खतिवडाको लेखन त्यस दिशातिरको प्रेरणादायी कदम हो ।” सो अवसरमा नानुमैया दाहाल, नवराज पोखरेल ‘नवशिला’, प्रज्ञा कट्टेल र पुष्पा सायरालगायतका मुक्तककारहरूले संग्रहभित्रका मुक्तकहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव मदन भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य लक्ष्मी रायमाझीले राख्नुभएको थियो ।