• २०८२ कार्तिक २८, शुक्रबार

महापुरुषको सङ्गत

भैरव अर्यालः

भैरव अर्यालः

“त्यतिका महापुरुष भेट्टाउँदा पनि चित्त बुझाउन नसक्दा मलाई एक दिन झ्वाट लाग्यो … म स्वयम् पनि त एउटा महापुरुष हुँ, नभए महापुरुषको यो धुँइधुँइती खोज किन चल्थ्यो ? अनि मन बल्ल शान्त भयो ।”

‘जब भयो राती अनि बुढी ताती’ भनेझैँ जब कालले पासो हाल्दै ल्याउँछ, अनि मान्छेमा ज्ञानगुनको चासो लाग्दै आउँछ । पहिले सालीका आसक्तहरु पछि कालीका भक्त हुन्छन्, पहिले खन्तीराजमा बदानामी कमाएकाहरु पछि सन्त महाराज भई रामनामी गुन्न थाल्छन् । संसारै यस्तै छ । त्यसैले आफू पनि उस्तै। साठी नपुगुन्जेल पाठीको घिच्रो पनि निमोठियो, लाटीको तघ्रो पनि चिमोटियो । कसैको घाँटी अँठ्याइयो त कसैको गाँठी जिब्ट्याइयो । कतै जोरै हात लम्काइयो त कतै सोह्रै भाइ झम्काइयो । जब आँट मर्दै र दाँत झर्दै आयो अनि बल्ल घट्टमा घाम लाग्यो– ए ! महापुरुषको सड्गत त गर्नै पर्ने ! मर्ने बेलामा बूढाबाले भनेका थिए–“अरु थोक नसके पनि महापुरुषको सड्गत त गरेस् है बाबू ! ज्ञानगुन पाइन्छ, स्वर्ग जाइन्छ ।”

तर महापुरुष पाउने कहाँ ? यसै त देशको जनसंख्यामा स्त्रीकै भन्दा पुरुषको सड्ख्या कम छ। त्यसमा पनि लाहुरे भएर विदेशमा रत्तिएका, दाउरे भएर स्वदेशमै लत्तिएकाको के भाउ ? यो बाहेक जति छन् तिनमा पनि जमानाको जाँतोमा सभ्यताको सातु पिन्दा पिन्दै जिड्ग्राएको झ्याउरे छन् । त्यसैले कुरै गर्ने हो भने यहाँ पूरापुरुषकै भन्दा लघुपुरुषको संख्या धेरै होला । महापुरुषको त कुरै छोडूँ ।

तैपनि पहिल्यै हरेस खाएर त भएन। त्यसैले एक दिन बिहान टौवामा कौवा नबास्तै गौवाको बासी पानीले पूजा भूजा चामचुम पारेर निस्केँ म महापुरुष्को सड्गत गर्न ।

हाम्रा भेगका लम्बरी पण्डित पनि त महापुरुषै हुन्। उनका नामै मात्र हुदाँ हुन् १०८ कुराकानी गर्दा प्रत्येक वाक्यमा ‘जो छन् सो’ जोड्ने हुदाँ कोही उनलाई ‘जो छन् सो पण्डित’ भन्थे । ‘घिउ चिनीबिनाको खाना बोक्सीको दाना’ भन्ने उनको सिद्धान्त भएकाले कोही उनलाई ‘घिउ चिनी’ बाजे भन्थे । यस्तै दाँत उछिट्टिकोले केटाकेटीहरु ‘दन्तुरे बा’ भन्थे त खुट्टो अलि खोच्याउने हुनाले ठिटाठिटिहरु भन्थे– ‘खन्तुरे बुढा । जजसले जे भने पनि उनी थिए धर्मशास्त्रका नम्बरी पण्डित । जरसाहेबका खोपी देखि बाख्रे बुढीको झोप्रा सम्म सबै उनका जजमान सबैकहाँ उनको सम्मान त्यसले श्रीगणेशाय नमः मैले पनि ताँके उनकै दलान ।

बूढा जवाँमर्दै हुन्, त्यति सबेरै पुसको ठन्डीमा पनि मन्डी ओढेर चन्डी भटभटयाँउदै गोडमा भुसा काटिरहेका। मैले पाउलागी गरेपछि मन्डी फालेर रामनामी बेह्रिदैँ चिप्लो स्वरमा सोध– “कताबाट जो छन् सो आइस् त नानी! तीर्थव्रर्त जो छन् सो त केही आँटिनस्? मैले भनेँ मर्ने बेलामा केही ज्ञानगुन पाइन्छ कि भनेर हजर जस्ता महापुरुष्को सड्गत खोज्दै हिँडेको बा !”

बूढाले मलाई हप्काउँदै भने–“मर्ने बेलामा त जो छन् सो दसदान गर्नु बृषोत्सर्ग गर्नु, सप्ताह लाउनु, शय्यादान गर्नु पो पर्छ त जाबा । दानबिनाको ज्ञान जो छन् सो मकैबिनाको घाट जस्तो हुन्छ बुझिस् ।” उनी मलाई बुझाउँदै थिए, नजिकै बाँधेको भैँसीले गोबर लतपतिको पुच्छर हल्लाउँदै बुढाको मुखैमा छ्याप्प हानिदियो । हत्त न पत्त रामनामीले दाह्री पुछे, अकस्मात् हाँछिउ आएर तमाखुका धूवाँले धैँस्याएका जुँघामा नागपुरे पालिस थोपरिदयिो । त्यहि बेला एक जना गाहकी गोरु खोज्दै उनको गोठभित्र आइपुग्यो। जुघाँ मुसार्दै बुढाले भने– “हिजो एक जना पिशाचकहाँ जो छन् सो सत्यनारायणको कथा भन्न गएको, अमिलो ट्वाक दही जो छन् सो खान दिएर रुघा जो छन् सो लागिसक्यो ।”

गाहकीले यतिन्जेल गोरु हेरिसकेकाले मोलमोलाइ चल्न थाल्यो । बूढाले एकैचोटि कुरा सिद्याउन खोज्दै भने– “शास्त्र जो छन् सो बाहुनले गाईगोरु जो छन् सो नबेच्नु भन्ने लेखेको छ, त्यसैले ५० दिन्छौ भने लैजाउ जो छने सो नत्र म गोरु बेच्तिनँ।” गाहकीलले साह्रै बूढो भएकाले ४५ देखि दिन नसक्ने राय प्रकट गरेपछि बूढाले च्याँट्ठिर कुरा थपे– “अलि बूढो भएपछि जो छन् सो गुज्राँतीको खच्चड हो! कसो नानी?” आफ्नो मुखतिर तोकर सहि मागेपछि मैले पनि बोल्नै पर्यो । भनिदिएँ– “यस्ता ऋषिजस्ता महापुरुषले पनि ५ रुपियाँको निम्ति झूटो बोल्छन् ? गोरु जातकै हो ।” गाहकी भन्दथ्यो– “यो गोरुको पनि दाह्रीजुँघा हुँदो हो ता बाजे जस्त ऋषि देखिन्थ्यो होला ।” यो सुनी रन्किएर भैँसीलाई भुसा कोच्याउँदै उच्चा स्वरले चतुश्लोकी भागवत पाठ गर्न थाले, मचाँही जुरुक्क हिँडे घरतिर ।

ढुड्गो खोज्दा देउता मिलझैँ सच्चा महापुरुष त आफ्नै पिढिँमा पो प्रकट भएका रहछन् । सोझो मनले चिताएपछि ‘तँ चिता म पुर्याउँछु’ भन्छ रे दैवले नत्र त पशुपति तिरका स्वामी मेरो झुप्रोमा कसरी प्रकट हुन्थे ।

उनका पनि त नाम थुप्रै थिए। सन्तान नभएका आईमाईलाई सन्तान हुने जन्तर बाँध्नमा प्रख्यात भएकाले धेरै उनलाई ‘सन्तान गिरी’ भन्थे । तर कोही चाँही बाली उठाउन घर घर हिँड्ने हुदाँ ‘फटफटानन्द’ भन्थे त कोही पार्टी प्रचारमा गाउँ गाउँ चाहार्ने हुदाँ ‘चटपटानन्द’ पनि भन्ने गर्दथे। वास्तवमा उनको सक्कली नाम थियो– स्वामी सद्गुणानन्द षड्शास्त्रोपाध्याय । उनको खान्की जग्गाको सानु टुक्रा आफुले पनि कमाएकाले आफ्नो त साक्खै तल्सिङ पनि ।

महापुरुष प्रकट हुनाको कारण खोतल्दै थिएँ– उनले बालीको कुरा झिकेर आफैँलाई हपार्न थाले बा! आडमा गेरुवा रेशम, हातमा बेरुआ औँठी लगाएका माहात्मलाई मैले तिनुपर्ने पाँच पाथी धानको त्यत्रो मोह। तैपनि मैले आफ्नो मनको बह फोएँ, ज्ञानको निम्ति रोएँ। अनि आफ्ना महापुरुषार्थहरु उनले मलाई निकै सुनाए। एउटा मोहीले दुई पाथी कोदो बुझाउन ल्याएको थिए रे, उनको पालो घरैमा गएर त्रिशुल चखाइदिएपछि थुरुथुर कामेर भोलिपल्ट ल्यायो रे । एक पटक सेठकहाँ उनले यस्तरी गतिाको प्रवचन गरे रे कि त्यो प्रवचन सुन्दा सुन्दै मुग्ध भएर एउटी आइमाइ उनको काखैमा लड्न आइपुगि रे। यसबाहेक उनले कतिपल्ट आफ्नो हातमा आइसकेको मन्त्रीपद छाडेर जनताको सेवा गर्न गुठी बिर्ता संवद्धन परिषद् खोलेको र आगे साल जिल्ला पञ्चायतको चुनाव लडेर आफ्नो संस्थाको अधिवेशन गर्न आँटेको कुरा पनि बताए । उनको पुरुषार्थ सबै सुनेपछि मैले पनि उनको संस्थामा सदस्य हुने भाका राखी दहीचिउरा ख्वाउँदै बालीको कुरा छल्न खोजेँ, तर हिँडेने बेलामा उनले भने– “ज्ञान लेना है तो कल धान लेके आइए, नही तो मोहीयानी मिलेगा दूसरेको ।”

यसरी दुईतिरबाट निराश भएपछि मैले निश्चिय गरेँ– गोपी गुरुकै गोडा किन नसमातूँ! सक्कली महापुरुष उनी पो त ! राधाको झैँ सिउँदो, रक्मिणीको झैँ अलख टूपीमा अत्तर, जुँघामा कलप, गलामा सिक्री, गालामा फाः गुरुजीको पैह्रन धोती र दोसल्ला । कलिमा जन्मेर मात्रै अलि लीला बढ्न सकेन, द्धापरमा जन्मेका भए कृष्ण माथिका उपरकृष्ण हुन्थे होलान् हाम्रा गोपी गुरु ।

दरबारै भने हुने उनको ‘कुटी’ मा पुगेपछि आफू त वृन्दावनमा पसेको मुसो जस्तै अक्क न बक्क भएँ । अघिल्तिर कन्या साथमा सधवा, पछिल्तिर सयौँ बूढी र विधवा राखेर गोपी गुरु सुनाउँदै रहेछन् गोपिनीको चीरहरण । मैले सम्झेँ, एउटी आइमाई मान्ने हामी त पुरुष कहिन्छौँ भने यतिका आइमाईले पत्याएका गोपी गुरुलाई महापुरुष नभन्ने को ? पुराण सकिएपछि गुरुको चरणविन्दमा आफ्नो अभागी पुर्पुरो टेकाउँदै मैले भनेँ– “म एउटा ज्ञानको भोको महापुरुषको सड्गत गर्ने धोको लिएर आएको छु हजुर ?” पुराणका भेटीघाटी बटुलेर पोको पार्दै गुरुले भने– “लौ सधैँ यहाँ आएर भक्तभक्तिनीको सेवा गर्नू । गुरुको आज्ञा हुनासाथ एउटी भक्तिनीले मुज्याएको फरिया दिदैँ मलाई भनिन् यति पछारेर ल्याइदिनोस् त बूढा बा !” मलाई जङ चलिसकेको थियो तैपनि सुनेको नसुन्यै गरेर चल्दिएँ ।

अनि मलाई लाग्यो– ‘जसको धनधान्य उही सर्वमान्य’ जाउँ कालु साहूकहाँ नै, ऊ पनि त एउटा महापुरुषै हो ।

अस्तीसम्म नालुको जुत्ता लगाएर आलु बेच्न जाने तालु खुइलिएका कालु साहूलाई अहिले ठालु भयो भन्दैमा महापुरुष कसरी भन्नु ? भन्ने तर्क पनि आउला, तर ऊ लघुपुरुष हुँदो हो त लक्ष्मीले कसरी पत्याउँथिन् । स्वाँठ भएर अरुलाई लछार्ने भए पनि टँवाट पिएर सडकमा पछारिने भए पनि क्याँट हुने मान्छे महाजनै गनिन्छ । यसको क्याँट कताबाट कसरी बटुलियो भन्नेतिर किन सोचिरहूँ ? यसरी भित्रभित्रका कुरा खोतलने हो भने कसका केके देखिन्छ केके ।

घरमा पुग्ने बित्तिकै साहूजीले चुरोट टक्य्राउँदै सत्कार गरेर छोराछोरीले पैसा उडाइदिए भन्ने दुःख प्रकट गरे । अनि कुरैकुरामा आफ्ना कुराको बासा खोल्न नपाउँदै उनले साउती गर्दै भने– “म चाहिने जो तपाँइकहाँ आउँदै थिएँ, चाइने जो म बद्री दर्शन गर्न चाहिने जो जाने अठोट गरेको छु, चाहिने जो पशुपतिको जात्रा सिद्राको बेपार भन्दछन्, चाहिने जो दुई चार वटी केटीहरु पाए जाहिने जो नोकरी लाइदिन्छु भनेर ल्याइदिनुभए चाहिने जो, जो मिलेको आधाआधी गरौँला ।” साहूका कुराले म छक्क परेँ । मेरा महापुरुष फेरी भन्दै गए– “चाहिने जो सोझो औँलाले घिउ आउँदैन, चाहिने जो यत्रो श्रीसम्पति चाहिने जो आलु बेचेर मात्र अथवा चाहिने जो कुटो कोदालो गरेर मात्र चाहिने जो कमाएको ठान्नुभएको छ ? चाहिने जो लक्ष्मीको ध्यान गर्नेले चाहिने जो मौकामा गाई पनि मार्नुपर्छ, भाइ पनि मार्नुपर्छ । चाहिने जो बिरालीको घिउ बेचर भए पनि बुहारीको जीउ बेचेर भए पनि चाहिेन जो ढुकुटी भर्नुपर्छ बाजे ! यस कालमा ।”

साहूका यी कुराले झनै बिरक्त्याए मलाई । अनि सोचेँ– “अब यस्ता थोत्राथोत्री केलाउन नलागूँ भाइ ! खोजौँ जमानाअनुसारको महापुरुष यहि विचारले रातभरी गम्दा गम्दै महापुरुष ठहरिने गए मिस्टर डह्याल बौ ।
उनका बाबु थिए गणपति दाहाल बाजे भनेपछि निष्ठाकर्ममा नेपाल वर्णाएका । उनैका छोरा हिन्दुस्तान छउन्जेल दाहालबाबू भनिन्थे, अहिले अमेरिका गएपछि ‘मिस्टर ड्याहाल बौ’ भएर फर्केछन् ।

अमेरिकालाई उहिलेको नागलोक, अहिलेको कुबेरलोक भन्छन् । त्यस्ता ठाउँमा झण्डै दुई वर्ष पढेर आएकालाई महापुरुष नभने कसलाई भन्ने ?
म पुग्ने बित्तिकै उनको छोरीले भनिन्– “ड्याडी ब्रेकफास्ट गर्दै, हुनुहुन्छ एकछिन ‘वेट’ गनुपर्यो” तर उसले भनेको कुरा नबुझेर म सरासर माथी उक्लेँ । छोरा पुजाचौकामा बसेर बूढा बाबुले भागवत राख्ने खटियामा पुजासामा हाल्ने तामाको प्लेट राखेर सन्जे भन्दा पानी अचाउने आचपानीले चिकेन पुलाउ खाँदै रहेछ । मलाई देख्ने बित्तिकै उसले पनि– “ड्याडी ब्रेकफास्टमा, ममी बाथरुपमा तपाँइ एकछिन ‘वेट’ गर्नुस्” भन्यो। म जिल्लिदै थिएँ मिस्टर ड्यालबौ ‘आई सी’ भन्दै ओर्ले । ससाना केटाकेटीलाई पनि अँग्रेजीको राम्रो तालिम दिएकोमा म धन्यवाद प्रकट गर्दै थिएँ, उनले भने– “आइडिया छ, चिल्ड्रेनलाई चाइल्डहुड देखी नै नेप्लीज ल्याड्वेज बोल्नै नदिएर बोलाउँदै लान पाएपछि यीनको ‘प्रोनाउन्समेन्ट’ ‘करेक्ट’ हुन्थ्यो ।” सबै कुरा नबुझेपनि मैले बिच बिचमा ‘हजुर’ चाँही भन्न छोडिँन । त्यताबाट थाले उनले अमेरिकाको वर्णन । सडक, पर्खाल, रेस्टुराँ, चियाको कप देखि लिएर टेलिभिजन र टेलिस्टार सम्मको वर्णन सिध्याएपछि दुख प्रकट गर्दै उनले भने– “के गर्नु र यहाँ एउटा ‘हिटर’ र ‘रेफ्रीजेरेटर’ पनि पाइन्न । नेपाल एउटा ‘कन्ट्री’ नै हैन बुझ्नु भो ?” मैले ठाडो उत्तर दिएँ– “बुझेँ ।” अनि उनले नेपाललाई उन्नतिशील गराउने हो भने यी यी योजना बनाउनुपर्छ भनी आर्यघाटमा बाँध बाँध्नदेखि लिएर चाँगुको ढिस्कोबाट रकेट उडाउने सम्मका उनका योजना सुनाए । दुई घण्टा आफ्नो पुरुषार्थ, दुई घण्टा योजना, दुई घण्टा स्वदेश र संस्कृतिको निन्दोचर्चो, दुई घण्टा अरु फाटफुट कुरा गरिसकेपछि उनले भने– “आई सी तपाँई किन आउनुभएथ्यो सोध्नै बिर्सेछु ।” त्यहि बेला उनकी नयाँ दुलहीले चिया ल्याइहालिन, फेरी चल्यो दुलहीको परिचय । किन र कसरी ल्याइयो भन्ने विवेचना । उनी रहिछिन् इन्डो अफ्रिकन केटी, पहिले कता एयर होस्टेस थिइन् रे, पछि पहिलो लभरले धोका दिएपछि कुन्नी कुनचाँही थर्डक्लास होटलमा बसिरहेकी । देशी दुलही भएकीले एउटा धम्मरधुसको छोरो नाफा पनि आएको रहेछ उनलाई ।

यी सबै कुरा सुनपछि आधुनिक महापुरुषको सड्गत पनि ज्ञानगुनकै हुने रहेछ भन्ने ठानी आफ्नो कुरा नखोलीकन म फर्केँ । फर्कदैँ थिएँ, नयाँ सडकमा हात समाउन आइपुगे चरिचुच्चे काजी । अघिअघि महापुरुष खोज्न मान्छे पशुपतितिर जान्थे, अचेल नयाँसडकमै जस्तो खोज्यो उस्तै मान्छे पाइन्छिने । झन् उनको त स्थायी अस्थायी दुवै ठेगाना नयाँसडक भनिदिए हुन्छ ।

चुच्चेचुच्चे अनुहारका चरिचुच्चे काजीलाई चचिन्ने मान्छे विरलै होलान् । उनी के हुन् तर ? भन्ने भन्दा के होइनन् त भन्ने प्रश्न पहिले उठ्छ । नेता होइनने भनूँ, कतिवटा पार्टीको प्रचारमन्त्री चलाइसके, अभिनेता होइनन् भनूँ, चारवटा नाटकमा विदूषकको पाठ खेल्ने उनै । कवि होनने भनूँ, कवि सम्मेलनमा उनकै डाँको ठूलो, विद्धान होइनने भनूँ, जुन बेला भेटे पनि उनी ट्युसनमा जान लागेको भन्छन् । यति मात्र होइन, बुझक्कडमा उनी यतिसम्म थिए कि, बटु टोलदेखि गुच्चा टोलसम्म कसकसका घरमा हालत के छ, कसकसको ल्याकत के छ, सबै उनलाई सँधै कण्ठस्थ । बोलक्कड यति थिए कि आफू बोल्न लागेपछि बिग्रेको रेडियोझैँ चार घण्टासम्म एकनास भटभटाइरहन्थे । अब यस्तो बहुमुखी प्रतिभासम्पन्न मान्छे भेट्टाएपछि म अर्को महापुरुष खोज्न कहाँ गइरहुँ भन्ठानेर मैले भनेँ– “अहो काजी म तपाँइलाई खोज्दै हिँडेको ।” काजीले फूरुक्क परेर भने– “लौत उसो भए एक कप चिया ख्वानोस् ।” गङ्गाजलले सूर्यलाई अध्र्य भनेझैँ महापुरुषलाई एक कप चिया को नख्वाउँदो हो ।

रेस्टुराँमा पुगेपछि उनले चिया मात्र होइन चाउ चाउ, चमचम, चप, चिकेन आदी चौध थोकको अर्डर गर्दै गफ छाँट्न थाले। आफ्नो साइकिलको ट्युब पड्केको देखि लिएर हिरोशिमामा अणुबम पड्केको गफसम्म छाँटिसकेपछि उनले भने– “तपाँइले किन भेट्न खोज्नुभएको हो कुन्नि, मलाइ अहिले मन्त्रीकी छोरीलाइ पढाउन जान बित्यो, कृपया भोलि यसै बेला यतैतिर भेट्नुहोला। उनकै चाला देखेर एकछिन त म जिल्ल परेँ, तर महापुरुषलाई एक पेट मजैसँग आफ्नो पैसाले खुवाउन पाएकोमा सन्तोष पनि लाग्यो। उनि हिँडिसकेपछि पैसा सैसा तिरेर बाहिर निस्केको, ‘साइकिल चोर, साइकिल चोर’ भनि कराउँदै सबै दगुर्न थाले। एकछिनपछि हुलमा पसेर हेरेको त आफ्नै महापुरुष पो साइकिल चोरमा पक्रिएछन् । एकपटक त माया पनि लाग्यो, तर के गर्नु फुटपाथमा साइकिल अड्याएर किनमेल गर्न लागेकी एउटी महिलाको साइकिल उडाएछन् चरिचुच्चे काजीले त ।

महापुरुष ठानेको मान्छेले त कुदाउने परे पनि कमसेकम मर्दाना साइकिल त कुदाउनु पथ्र्यो, हेर विचित्रता भन्ने सम्झदैँ आधारातमा घर पुगेँ। अघिपछि भएको भए भात कुहाए बापत बूढी पन्यूँ लिएर झम्टन्थी होली, तर अहिले त महापुरुषको सड्गतमा लागेको उसलाई थाहै थियो ।

कहिलेकाँही जहानबाट पनि महान् कुरा निस्कन्छन् भन्थे, नभन्दै घरकी बूढीले एउटा जड कुरा झिकी– “महापुरुष खोज्न पनि लुखुरेले केटी खोजेझैँ जहाँ पायो उहीँ लरखराएर हुन्छ ? पस्नुपर्छ सिंहदरबार” कुरा ठिकै हो । पढे गुनेका र देखे सुनेका जति बटुलिने ठाउँ सिंहदरबार बराबर अन्त कहाँ होला र ? फाँइफुट्टीराज मन्त्रीदेखि सुँइखुट्टीदास पालेसम्म उहीँ पाइन्छन् । त्यसैले होला मर्न आँटेको स्याल पनि एकछिनलाई सिंहै बनेर गर्जन्छ भनी अनुभवीहरु भन्छन् । त्यस्तो ठाउँमा पुगेपछि महापुरुष पाइन्न कि भन्नु त स्वर्गमा देवता पाइयोनन् कि भन्नुजस्तै असम्भव शड्का हो। त्यसैले आनेकाने कौनै कुरा नहेरी भोलिपल्ट पसेँ उहीँ ।

पस्न त पसिहालेँ त कताकता ! सर्दारसाहेबको दाह्रीमा पसेको जुम्रा झैँ घरी यता घरी उता गर्दा गर्दै आधा दिन त्यसै बित्यो। अलकापुरीमा कुन देवता, कुन जनता भनेझैँ बडे बडेमानको टेबुल अगाडी राखी गजवक्त्र गणेशझैँ गजक्क परिरहेछन्, अब म कुनचाँही महापुरुषलाई समात्ने हो । तै अजिड्गरको आहारा दैवले पुर्याउँछ भनेझैँ एउटा कोठामा झुलुक्क देखिए हुक्के सुब्बा। हुन त उनी अहिले सुब्बा मात्र होइन, सुब्बाभन्दा माथिका उपरसुब्बा भइसकेका थिए । तर उहिल्यै सिमसिमे मन्त्रीको पालामा उनको हुक्का समातेर सेवा गरेबापत एकै पटक सुब्बाड्गी पाएकाले अझै उनलाई भन्थे हुक्के सुब्बा। हात मल्न र ‘हस्’ बोल्नमा उनको नाम चार भन्ज्याडभरि प्रख्यात थियो, त्यसैले आफ्ना लोकदेखि ससुराली लोक सम्म हुक्के सुब्बा आए भनेपछि गरिबगुरुवा, राँडी, विधवा, सबै थर्कमान हुन्थे। कमाइ पनि घागडान, जमाइ पनि घागडान भएका यस्ता साहेबलाई छाडेर अर्को महापुरुष को खोजीरहोस् भनि म पुगेँ उनकै अगाडी । तर कुर्सी कुर्सीमै तेर्सिएर स्वप्नलोकमा पुगेका रहेछन्। अफिसरजस्तालाई अफिसमै निदाए भन्नु कसरी ? हुन सक्छ मध्याकालीन समाधिमा थिए हुनन्, महापुरुष न ठहरिए । त्यसैले समाधिमा बाधा पारिदिनु ठीक छैन भनी म ठडिएर कुरिरहेँ, उनी तेर्सिएर घुरिरहे, निकै बेरपछि आँखा माड्दै उनको समाधि टुट्यो। चुरोट टक्याउँदै दर्शन गरेँ ।

उनले मलाई नचिनेका त होइनन्, तर पनि महापुरुषले जो पायो त्यहिलाई कहाँ सम्झिराख्छन् र। सबै नाउँ गाउँ सोधे, मैले नालिबेली लगाँइदिएँ। आलपिनले दाँतको लुई कुट्याउँदै उनी भन्न थाले– “कहाँ भन्नुहुन्छ तपाँइको मन्त्र चलाउने ल्याकत र हिम्मत भएको मान्छेलाई तपाँइको दर्जा परिरहेछ चानचुने। त्यसैले तपाँइको काम गर्ने जाँगर चल्दैन।” त्यसपछि ०७ सालदेखि ०१६ सालसम्म कुन कुन मन्त्रीले उनलाई के कस्तो स्याबासी दिए भन्ने बेलीवृत्तान्त सुनाउँदै साहेबले फेरी भने– “के गर्नु तपाँइको जागिर सरकारी भएपनि तपाँइको समस्या छ तरकारीको, आफूले तपाँइको नमिठो खाइएन। अचेल त झन् काउलीसाउली भए दुई मुठीको जाउली रुच्छ, साग भए तपाँइको भाग बस्न मन लाग्दैन । यो भूमीका छाँटिसकेपछि उनले भने– “तपाँइको घिउ अलिकति किन्न पाए हुन्थ्यो ।” उनि भन्दै थिए चारको घण्टि लाग्यो, दुवै जना उठ्यौ, त्यताबाट ढोकामा नआइनपुग्दै एउटा पिउनले आएर उनलाई चिठी टक्य्रायो। चिट्ठी हेर्ने बित्तिकै बिचरा कालो निलो मुख लगाएर डड्रड् लडे बरन्डामै। पछि पो थाहा पाइयो ….. तहबिलको पैसा मासेर तबेला बनाएबापत उनलाई भ्रष्टाचारको पुर्जी आएको रहेछ ।

दरबार पसे पनि घरबार बसे पनि फसादको दशा उत्तिकै । त्यतिका महापुरुष भेट्टाउँदा पनि चित्त बुझाउन नसक्दा मलाई एक दिन झ्वाट लाग्यो … म स्वयम् पनि त एउटा महापुरुष हुँ, नभए महापुरुषको यो धुँइधुँइती खोज किन चल्थ्यो ? अनि मन बल्ल शान्त भयो । यहाँदेखि बिहान उठ्ने बित्तिकै यी प्रसिद्ध आठ महापुरुषहरको मैले पाठ गर्ने गरेको छु। तपाँइहरुले पनि नबिर्सनुहोला ।