• २०८२ पुष ७, सोमबार

महेश्वर शर्माको ‘कृष्ण र कंस संवाद’ खण्डकाव्य सार्वजनिक

दाङ ।

साहित्यकार महेश्वर शर्माको दोस्रो कृति ‘कृष्ण र कंस संवाद’ खण्डकाव्य दाङको घोराहीमा लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद्, दाङको आयोजनामा सम्पन्न कार्यक्रममा परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षता र साहित्यकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथता रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले ‘कृष्ण र कंस संवाद’ ले महाभारतकालीन पात्र र प्रवृत्तिलाई वर्तमान सामाजिक यथार्थसँग जोड्दै गलत र विकृत प्रवृत्तिहरूमाथि तीखो प्रहार गरेको बताउनुभएको थियो । उहाँहरूको अनुसार पुस्तकले अहिलेको समाजका विकृत अवस्थामाथि आलोचनात्मक दृष्टिकोण प्रस्तुत गर्दै सही मूल्यबोध निर्माणमा सहयोग पुरयाउँछ ।

समीक्षक साहित्यकार पद्मप्रसाद शर्माका अनुसार, ७२ पृष्ठको यो खण्डकाव्यले पौराणिकताको झल्को दिँदै समकालीन सन्दर्भलाई स्पर्श गरेको छ। “पुस्तक पठनीय, रोचक र ज्ञानवर्धक छ । सग्रहणीय मात्र होइन, पटक–पटक पढ्न मन लाग्ने खालको कृति हो,” उहाँले भन्नुभयो । यसअघि ‘विश्व परिवेशलाई नियाल्दा’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित गरिसकेका साहित्यकार शर्माको यो दोस्रो कृति हो । स्यार्पु बहुमुखी क्याम्पस बाँफीकोट, रुकुम पश्चिमका सेवानिवृत्त क्याम्पस प्रमुख शर्माले हाल केही नयाँ कृतिहरू प्रकाशनको तयारीमा रहेको जानकारी दिँदै बाँकी जीवन लेखन र प्रकाशनमा समर्पित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोखरेल, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा र निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाललगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । परिवारका तर्फबाट सुपुत्र टङ्क लम्सालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।