समाचार
काठमाडौँ,
रत्नसंसार श्रेष्ठद्वारा लिखित ‘नेपालको जलस्रोतको दुःखः दुस्साहस र कुविकासको एक शताब्दी’ पुस्तक विमोचन गरिएको छ । पुस्तकको विमोचन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका हुन् । राउतले लेखकले नेपालको जलस्रोतको अधिकतम उपयोगको आवश्यकतामा जोड दिएको बताए । जलस्रोत मन्त्रालयका पूर्वसचिव भुवनेशकुमार प्रधानले लेखक श्रेष्ठको संकल्प र समर्पणको प्रशंसा गरे ।
प्राडा प्रचण्ड प्रधानले ऐतिहासिक तथ्यांक संकलन र विश्लेषणमा लेखक श्रेष्ठले गरेको सावधानी प्रयासको सम्मान गरे। पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले यस पुस्तकलाई नेपालको जलस्रोत इतिहासको सय वर्षको विस्तृत दस्ताबेजीकरणका रूपमा वर्णन गरेका छन् ।
लेखक श्रेष्ठ चार्टर्ड एकाउन्टेन्ट र जल अर्थशास्त्रका अनुसन्धानकर्ता हुन् । उनले पुस्तक बिक्रीबाट प्राप्त हुने रोयल्टी राष्ट्रलाई अर्पण गर्ने निर्णय गरेका छन् । एकता बुक्स डिस्ट्रिब्युटर्सद्वारा प्रकाशित यो पुस्तक ६ भाग र २५ अध्यायमा विभाजित छ । यसमा नेपालको जलस्रोत सम्बन्धमा नीतिगत असफलता र भविष्यका सम्भावनाको गहन अन्वेषण गरिएको छ ।
