• २०८२ मंसिर ५, शुक्रबार

‘एपेक राष्ट्रिय काव्यमहोत्सव’को दोस्रो शृंखला सम्पन्न

इटहरी ।

नेपाली काव्य र साहित्यको उन्नयनमा साढे दुई दशकदेखि क्रियाशील संस्था एपेक नेपालको आयोजनामा कोसी प्रदेशको इटहरीमा ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’को दोस्रो शृंखला सम्पन्न भएको छ । शनिबार (कात्तिक १५) आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कवि मनु मञ्जिलको आफूलाई मन परेको कविता ‘दुस्मन’का केही हरफ वाचन गर्दै महोत्सवको उद्घाटन गरेका थिए ।

उनले विकास भनेको सडक र पुल निर्माण मात्र नभएको बताए । प्रदेशको साहित्य, कला, संस्कृतिको पनि विकास गरिनुपर्नेमा उनले जोड दिए । उनले भने, “कला, साहित्य र संस्कृतिको विकासमा कोसी प्रदेश सरकारको पूर्ण सहयोग रहनेछ ।” कोसी प्रदेशसभा सदस्य तथा काव्यमहोत्सवका सल्लाहकार कवि मीना श्रेष्ठले इटहरीमा एउटा साहित्यिक भवन निर्माणका निम्ति पहल गरिएको बताइन् । यसनिम्ति उनले प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरिन् । प्रदेश सरकारका पर्यटनमन्त्री सदानन्द मण्डलले उक्त कार्यका निम्ति सहयोगको प्रतिबद्धता जनाए ।

महोत्सवको उद्घाटन चरणमा एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठ, कार्यकारी निर्देशक कवि राजेन्द्र शलभले अर्को वर्षको महोत्सव मधेस प्रदेशमा आयोजना गर्ने सोच रहेको बताए । कार्यक्रमको दोस्रो चरणमा काव्यमहोत्सवमा सहभागी सात प्रदेशका १४ कविको कवितामा १४ चित्रकारले कोरेका चित्रहरूको प्रदर्शनी गरियो । चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कविता र चित्र दुवै अवलोकन गरे ।

काव्यमहोत्सवको तेस्रो चरणमा १४ कविले आ–आफ्ना कविता वाचन गरे । कविता वाचनको समय चित्रकार पनि चित्रकलासँगै उपस्थित थिए । कवि अस्मिता विष्टको कवितामा डिल्लीकृष्ण आलेले चित्र कोरेका थिए । धीरज राईको कवितामा पवन राजवंशीले चित्र बनाए । यस्तै, कविहरू मनोज लोहार, एलिशा एकलास, रोशन तिमिल्सिना, रसिक राज, गणेश श्रमण, कल्पना पलक, खेम बतास, सपना कर्ण मनोरमा, निकेश गिरी, चन्द्र जीएम, लक्ष्मण मानव र मोहित जोशीका कवितामा क्रमशः सञ्जय वान्तवा, जेपी चौधरी, शिव छाङ्छा राई, सुसन धिमाल, युवराज रिजाल, तिलक राई, अनुराधा थापा, यशोदाकुमारी सिंह, नारदमणि हार्तम्छाली, विक्रम श्री र महेन्द्र राईले चित्र कोरेका थिए ।

काव्यमहोत्सवले विभिन्न प्रदेशका कविहरूका शक्तिशाली कविता सुन्ने मौका मिलेको स्थानीय कविहरूको भनाइ थियो ।