• २०८२ कार्तिक १८, मंगलवार

वाग्लेको ‘कोरियाना कफी गफ’ अंग्रेजी भाषामा अनुदित

काठमाडौँ ।

साहित्यकार नारायण वाग्लेको चर्चित गैरआख्यान पुस्तक ‘कोरियाना कफी गफ’ अब अंग्रेजी भाषामा पनि पढ्न सकिने भएको छ । बुधबार राजधानीको कालिकास्थानस्थित आरशालामा लेखक वाग्लेले अनुवादक प्रवीण अधिकारी र बायोडायनामिक कृषि अभियन्ता एडअर्डो रिनकनलाई पुस्तक हस्तान्तरण गर्दै अंग्रेजी संस्करण लोकार्पण गर्नुभएको हो ।

पत्रकारिता हुँदै पछिल्लो समय कृषक बन्नुभएको वाग्लेले आफ्नो गाउँ तनहुँ फर्किएपछि पनि सिर्जनशील लेखन निरन्तर गरिरहनुभएको छ । कार्यक्रमका अवसरमा उहाँले रिनकनलाई पुस्तक उपहार दिँदै, “पत्रकारिताले मलाई दिएको शैली र आवाजलाई मैले यो कृतिमा पनि निरन्तरता दिएको छु,” भन्दै ‘कोरियाना कफी गफ’ आफ्नो नयाँ रचना भएको स्पष्ट पार्नुभयो।

वाग्लेको भनाइमा, ‘कफी गफ’ शैली नै उहाँलाई धेरै पाठक र माया दिलाउने माध्यम बनेको हो। “तर यो पुस्तक पत्रिकाका लेखहरूको संग्रह होइन, यो नयाँ सृजना हो,” उहाँले भन्नुभयोे । ‘कोरियाना कफी गफ’लाई नेपालीबाट अंग्रेजीमा प्रवीण अधिकारीले अनुवाद गर्नुभएको हो । अधिकारीका अनुसार, वाग्लेको शैली र भाषिक प्रयोगबाट आफू गहिरो रूपमा प्रभावित हुनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “पञ्चायतपछिको खुला समाजमा नेपाली भाषालाई यस्तो स्तरको खुलापनमा पुरयाउने श्रेय वाग्लेलाई नै जान्छ। उहाँले अंग्रेजी पढ्ने सहरिया पुस्तालाई ‘कफी गफ’ र ‘पल्पसा क्याफे’ मार्फत नेपालीतर्फ ताने । अधिकारीका अनुसार पुस्तकमा शैलीको नवीनता, भाषाको लचकता र भावको कोमलता छ, जसलाई अनुवादमार्फत विश्वसमक्ष पुर्याउन आफैंलाई चुनौती दिँदै काम गरिएको हो ।

नारायण वाग्लेले ‘पल्पसा क्याफे’ र ‘मयूर टाइम्स’ पछि सृजनात्मक गैरआख्यानका रूपमा ‘कोरियाना कफी गफ’ लेख्नुभएको हो । २० वर्ष अघि प्रकाशित ‘पल्पसा क्याफे’ले मदन पुरस्कार प्राप्त गरेको थियो । धेरै समीक्षकहरूले नेपाली साहित्यको इतिहासलाई “पल्पसा क्याफे अघि र पछि” का रूपमा व्याख्या गर्नुभएको छ । वाग्लेको सबै पुस्तक प्रकाशित गर्ने पब्लिकेसन नेपालयले आफ्नो २० वर्षको प्रकाशन यात्राको अवसरमा नयाँ पुस्ताका लेखक र अनुवादकहरूको कृति प्रकाशित गर्ने अभियान थालेको छ ।

नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठका अनुसार, “२५ वर्षमुनिका लेखकहरूका रचना सार्वजनिक आह्वानमार्फत मागेका छौं । यसै क्रममा यस वर्ष फणीश्वरनाथ रेणुको ‘सात सालको कथा’, नोबेल विजेता चिनियाँ लेखक मो यानका कथा-उपन्यास र ‘कोरियाना कफी गफ’ अंग्रेजी संस्करण प्रकाशित गरेका छौ ।” ‘कोरियाना कफी गफ’को अंग्रेजी संस्करण पब्लिकेसन नेपालयले नै प्रकाशित गरेको हो । यो पुस्तक देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ भने थुप्रै डट कम र अमेजन मार्फत पनि खरिद गर्न सकिनेछ ।