समाचार
काठमाडौँ ।
नेपाल आदर्श महिला संघ, बालाजु, काठमाडौंले डा. शशि थापा पण्डितका तीन कृति नेपाली कलामा कामकला, मल्लकालीन नेपालका नारीहरू र नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययनको एकैसाथ लोकार्पण गरेको छ । राजधानीको होटेल एलो प्यागोडामा संस्कृतिविद् प्रा. डा. वीणा पौड्यालको अध्यक्षतामा लोकार्पण थियो । कार्यक्रमका सभाध्यक्ष संस्कृतिविद् प्रा. डा. वीणा पौड्याल, दिनेशराज पन्त, प्रा. डा. पेशल दाहाल, प्रा. डा. जगमान गुरुङ र कृतिकार स्वयंले लोकार्पण गरेका हुन् ।
लोकार्पणमा प्राडा जगमान गुरुङले ’नेपाली कलामा कामकला’, प्राडा पेशल दाहालले ’नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ र प्राध्यापक दिनेशराज पन्तले ’मल्लकालिक नेपालका नारीहरू’ को समीक्षात्मक टिप्पणी गरेका थिए । समीक्षकहरूले ’नेपाली कलामा कामकला’ पुस्तकको प्रशंसा गरे । कृतिकार डा. शशी थापा पण्डितले स्वागत भाषण गरेकी थिइन् । उनले कृति तयार पार्न अध्ययनअनुसन्धानको क्रममा घरपरिवारको उल्लेखनीय साथ रहेको बताइन् । साहित्यकार यादव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा शोभा केसी र पवित्रा भुसालले मञ्चासीन सबै अतिथिलाई खादा तथा मायाको चिनो पनि अर्पिएका थिए ।
उक्त कार्यक्रममा शब्दपथ साहित्यिकका सम्पादक किशोर पहाडी, शिवपुरी सन्देशका सम्पादक वियोगी बुढाथोकी, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, उपन्यास समाज नेपालका अध्य क्ष शंकर भारती, स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी, संसाक मासिकका सम्पादक तथा साहित्यकार उमेश पाण्डे, साहित्यकार बैरागी जेठा, शान्ति सापकोटा, रुबि सत्याल लगायतका साहित्यकार तथा साहित्यानुरागीको उपस्थिति रहेको थियो ।
राजनैतिक, शैक्षिक र सामाजिक क्षेत्रमा क्रियाशील उनी नेपाली कांग्रेस महिला विभागकी सदस्य हुन् । थापा विविध विधामा उत्तिकै कलम चलाउँछिन् । त्यस्तै कार्यक्रममा नेपाल आदर्श महिला सङ्घले लोकार्पित कृतिका स्रष्टा डा. शशी थापा पण्डितलाई सम्मान पनि अर्पिएको थियो ।
