समाचार
काठमाडौँ ।
सुनकोशी वाङमय प्रतिष्ठानले साहित्यकार होमशङ्कर बास्तोलाको ‘रगतको मूल्य’ कथासंग्रहको लोकार्पण गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल,आर एम डंगोल, कथाकार बास्तोला र प्रदीप सापकोटा लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेको थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथा नुहने मानिस दुनियाँमा हुँदैन भन्दै त्यो कथालाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र हो । पाठकलाई अनुभूत र द्रवित गराउने क्षमता जसमा हुन्छ उ राम्रो कथाकार मानिन्छ । बास्तोलामा आफूले उक्त क्षमता रहेको पाएको बताए ।
समालोचक आर एम डंगोलले कृति यथार्थपरक सामाजिक कथाहरुले भरिएको बताए । उनले भने अधिकांश कथाको बुनोट यही समाज हो । प्रथम दृष्टिविन्दु, तृतीय पुरुषदृष्टिविन्दुमा विभिन्न पात्र रहेका कथाहरू सहज र स्वभाविक लाग्छन् । कथाहरू समयसापेक्ष र समाजमुखी छन् । उनले मैनालीकै लाइनमा कथाकार बास्तोला उभिएको बताए । कथाकारले जहाँजहाँ कार्यथलो बनाए, त्यहाँ त्यहाँ भेटेका पात्र र तीनको चरित्रलाई कथानक रूप दिएको उनले बताए ।
अर्का समीक्षक प्रदीप सापकोटाले आयामका हिसावले लघु र मध्यम आयामका १९ कथा रहेको रगतको मूल्यभित्र सत्यका निकट रहेर लेखिएका कथाहरु छन् । उनले अगाडि भने सामाजिक परिवेशबाट निर्मित चरित्रहरु प्रस्तुत गरेका बास्तोलाका कथाहरुका पात्रहरु हाम्रै समाज वरपर, हाम्रै नाता सम्बन्धका जस्ता लाग्छन । पात्रहरुलाई जीवन्त बनाउन स्थानीय परिवेश र लवजलाई टिपेर कथा बुनोट गरिएको छ ।
कथाका विषयवस्तु, थिम र पात्रहरुमा नविनता नभए पनि पाठकलाई पढ्दै जाँदा तान्दै लाने खुवी कथाकारमा रहेको छ । रगतको मूल्यका स्रष्टा बास्तोलाले रचना गर्भबारे आफ्ना कुरा राख्दै समाजका हर्ष, विस्मात, खशी, प्रेम, पीडा, विकृति र विसंगतिलाई टिपेर आफुले कथा लेखेको बताए । कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साझा प्रकाशनका भेषराज घिमिरे र साहित्यकार बोधराज पौडेल लगायतले शुभकामना मन्तव्य राखे । सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा सदस्य पूर्णबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।
