समाचार
हो आमा !
कतिपय अवस्थामा
एउटै दुधको साइनो भएको
मानिसले नि बुझ्दैनन् मनको कुरा
समयको दुरीसँगै तिम्रो र मेरो विछोडको दिन
चाहे पढ्न भनेर घर छोडेको दिन होस् वा
सामाजिक कार्य भन्दै विवाह भएको दिन होस्,
तिमीसँगको दुरीपछिको जीवन
हरदम नै एक्लो लाग्छ,
जसरी पनि मैले मुस्कान देखाउनु पर्छ,
मेरा सन्तान, शुभेच्छुक एवम्
मेरोआफ्नै आत्मा र तिम्रो शान्तिको खातिर,
किनकी रिसाए जस्तो गर्ने
म अनि फकाए जस्तो गर्ने तिमी बिच पनि
साँच्चैको दरार ल्याउने मानिस
मैले धेरै पटक देखेको छु !!
तिमीले हजार गाली गर आमा
म पिउन तयार छु
तर तिमीलाई निहत्था गाली र अपमान गर्नेलाई
भुल्न सक्दिन,
सायद तिम्रो सोझोपनको फाइदा लिइरहेकाहरुले
तिमीबाट केही नपाउँदा
वा केही गल्ती हुँदा तितो ओकल्न सक्छन् ,
त्यो उनीहरूको कर्मको हिसाब
ईश्वरको खातामा अवश्य हुनेछ,
आमा !
म टाढा भएपनी
तिम्रो मर्म, सिधापन र सरल मनमा भ्रान्ती छरेर
सच्चा कुरा लुकाएर खराब अगाडि सारेर
तिमी र म बिचको खाडल खन्ने
यो खराब समय वा कुनै तत्त्व छ भने
यसले हार खानेछ,
किनकी भौतिक दुरी त तिमी र म बिचको
बाध्यताको आगो हो,
मनको सम्बन्ध भनेको
तिम्रो-मेरो
सयौं जुनि सम्मको साँचो नाता हो,
भौतिक रुपमा आफ्नो मुटुको टुक्रालाई
सधैंको लागि पराइ बनाई,
आफूले लिपपोत गरेको आँगनिमा
चाडपर्वमा मलाई निमन्त्रणा गर्न नसक्ने
अवस्थामा तिमी छौ त
अर्को तिर
तिम्रो नामसम्म नलिए हुने
खाली पुरानो कुरा भन्दै काम मात्र प्यारो हुने
जटिल परीवेश र पात्रहरुलाई
रित्तो मुस्कान छर्दै
जिम्मेवारीको गरुँगो भारीले थिचेर
मैले आफूलाईसम्म सोच्न नपाउने
परिवन्धमा म फसेको कुरा भुलेर
तिमी गलत सोचमा न पर्नु,
मेरा हरेक रक्त केशिकामा तिम्रो रगत दौडिरहेको छ
सायद म लाखौं नगद उपहार
दिएर तिमीलाई अन्यको सामु
आफ्नो सम्बन्ध किनेर देखाउन सक्दिन,
र आफ्नै प्राणलाई धितो राखेर
खुसी किन्न तिमीलाई पनि मन हुँदैन,
जोडिएका सम्बन्धलाई
पैसाले मात्र किन्न सकिने स्वार्थी
लहर अहिले जो छ,
तिमीलाई थाहा छ त,
तिम्रो त्यो सानी ताते-ताते गर्ने छोरीले
समय पूर्वनै तिम्रा जीवनका घाउहरू देखेर
परीवक्व बन्न कोशिस गर्दै
किशोर वय मै
ममताको आँगन र प्राण प्यारी तिमी छोडेर
भोको पेट, टुटेको हृदय अनि पराइबाट मिलेको
अनगिन्ती चोटलाई
तिमीसँग बाँडेको मुस्कान सम्झेर
एक सिपाही जस्तै जटिलताहरुसँग
मितेरी लगाउदै जीवन अगाडि बढाएको
म तिम्रो त्यो छोरी हुँ,
जसले आमाको सपना मात्र देख्न पनि
निद्रादेवीसँग प्रत्येक दिन बिन्ती बिसाउँछु,
तिम्रो याद मेटाउन तिमीसँग ताते-ताते गरेका
माटोमा टेक्न रहर गर्छु,
झरी बादलमा मात्र नभएर
जीवनका प्रत्येक घाम-जुनमा
तिम्रो मुहार देख्छु !!
फेरि पनि भन्छु आमा यो जुनि मात्र होइन
पाउँछु भने आउने सयौं जुनिमा तिम्रो
कोख्मा बस्न पाउँ
तर
यो विभत्स र डरलाग्दो समय भन्दा
अगाबै छुटेर कहिले दुस्ख नदिएर पनि
जेलमा कैद भएको अवस्थाबाट
एक झुल्को पाहुना बनेर होइन,
तिम्रो खुसीको धरोहर बनेर जन्म लिन पाउँ,
जहाँ तिमीले दिएको
एक गिलास पानी हेर्दा समुद्र छोएको आभास होस,
जहाँ तिमीलाई देखेर निदाउन पाइयोस,
जहाँ बिहानिको झुल्कोसँगै
तिम्रा चुराहरू बजेर
मलाई उठाउन सकुन,
जहाँ तिमिलाई हरेक सुख दुस्खका कथा
सुनाउन पाइयोस,
जहाँ भ्रम, अपमान र सुखा बन्जर जस्तो
पसिनाको अपनत्वको भाव नभएको
क्रुर जन्जिर तोडेर
आनन्दले आफ्नो सानो सुन्दर कुटिमा रम्न पाइयोस्,
लाखौं गाली खाएर पनि
तिम्रो मुहारको ज्योतीसँग
दैनिकी कटाउन पाइयोस,
यो हृदयको टुक्रानै
आफ्नै ममतामयिको
अगाडि अपरीचित
अनि आगन्तुक बनाउने स्थान,
समय र संस्कारको
हुरीले हुत्याएर नयाँ संसारमा एउटा
पुरुष तत्वको रुपमा उदाउन पाइयोस
जसले बाचुन्जेल
त्यो मुहार अगाडी बस्न पाउँछ,
नारी संसार जितेर पनि
लिङ्ग कै कारण पराई हुन वाध्य हुन्छे
र आफ्नै आँखा अगाडि
आफ्नो चिहान समेत कुर्न विवस पार्ने
त्यो चोटिलो अदृश्य क्रुर रहस्य अनि
पर्दा पछाडीका अनगिन्ती संवादहरू ,
जहाँ ममताको हृदयभरी
घृणित बनाउन बिस फैलाउन कोशिस हुन्छ,
सत्य लुकाइन्छ अनि
असत्यको बलमा आफ्नै माता-पिताको
आँचलबाट टाढा बनाउन
हजारौं आगो जन्माउने त्यो रापिलो डडेल्लोले
कोमल हृदयका माताहरूसँग
मनको दुरी बढाउन नपरोस् !!
सुशिला शर्मा (शिलु)