रम्बास् कविता
 
								 
							काठमाडौं ।
नेपाली सङ्गीतमा पहिलो पटक मुक्तक विधामा आधारित सङ्गीत एल्बम लोकार्पण गरिएको छ। ‘मुक्तक’ नामक एल्बम सोमबार राजधानी काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । मुक्तककार रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझाका दुई÷दुई वटा मुक्तकमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत र स्वर दिनुभएको छ ।
कार्यक्रममा छन्द सारथि रमेश खकुरेल, पूर्व मुख्य सचिव तथा क्यानाडाका लागि पहिलो नेपाली राजदूत डा. भोजराज घिमिरे, कवि एवं समालोचक प्रा. डा. देवी नेपाल, सङ्गीतकार÷गायक कन्हैया सिंह परियार, र स्रष्टाका अभिभावक मीरा कणेल, लक्ष्मीभक्त कणेल र बद्रीप्रसाद ओझाले संयुक्त रूपमा एल्बम सार्वजनिक गर्नुभएको थियो ।
प्रा. डा. देवी नेपालले मुक्तक छोटो तर विशिष्ट र चमत्कारिक अभिव्यक्ति दिने विधा भएको भन्दै पहिलो पटक यसलाई सङ्गीत एल्बमको रूप दिनु सिर्जनात्मक नवीनता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो , “गजलको शास्त्रीय परम्परालाई जस्तै मुक्तकको परम्परालाई पनि निरन्तरता दिइनु साहित्य र सङ्गीत दुवैका लागि महत्वपूर्ण कदम हो ।
मुक्तककार घनेन्द्र ओझाले संस्कृतको चतुष्पदी र फारसीको रुवाई बाट प्रेरित भई मुक्तक विधा विकसित भएको उल्लेख गर्दै, “हामीले शास्त्रीय छन्द र फारसी बहरसँग मेल खाइने गरी मुक्तकहरू सिर्जना गरेका हौँ,” बताउनुभयो । उहाँको अनुसार एल्बममा समावेश मुक्तकहरू भुजङ्गप्रयात्, स्रग्विणी, दिक्पाल, पञ्चचामर र विधाता छन्दमा रचिएका छन्, जसका फारसी समकक्ष मुतकारिब मुसम्मन सालिम, मुतदारिक मुसम्मन सालिम, मुजारे मुसम्मन अखरब, हजज मुसम्मन मकबुज र हजज मुसम्मन सालिम हुन् ।
कार्यक्रममा सन्तोष श्रेष्ठले एल्बमका सबै छ वटा मुक्तक प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुभएको थियो । उहाँलाई बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा शम्भु श्रेष्ठले साथ दिनुभएको थियो । उक्त कार्यक्रमको आयोजना दियालो साहित्य सरगमले गरेको थियो भने सहजीकरण साहित्यकार गणेशप्रसाद खतिवडाले गर्नुभएको थियो ।
