• २०८२ कार्तिक १२, बुधबार

ठाकर शर्मा भण्डारीद्वारा लिखित ’नवनी’ कविता लोकार्पण सार्वजनिक

काठमाडौँ ।

समालोचक ठाकर शर्मा भण्डारीद्वारा लिखित ’नवनी’ कविता कृति लोकार्पण गरिएको छ । ‘नवनी’ कार्यक्रममा उपस्थित सबै महानुभावहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको हो । कवि शर्माका हालसम्म विभिन्न विधामा गरी तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । लोकार्पित कृति दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो ।

भण्डारी निबास धुम्बाराहीमा भएको सो कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यिक पत्रकार रोचक घिमिरे रहेका थिए । इतिहासविद् प्राज्ञ दिनेशराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्य विशिष्ट आमन्त्रित व्यक्तित्वहरू मानसाग्नि प्राकृतिक चिकित्सक डा.हरिप्रसाद पोखरेल तथा निबन्धकार तथा समालोचक गोपी मैनाली रहेका थिए ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यिक पत्रकार रोचक घिमिरेले कवि ठाकुर शर्मा भण्डारीको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै उनीसँगको साहित्यिक सम्बन्ध बारे चर्चा गरेका थिए। नौलो र अनौठो अनि ज्यादै सौहार्दपूर्ण तथा पारिवारिक जमघटका बीच भएको कृति लोकार्पण कार्यक्रममा उपस्थित भएर प्रमुख आमन्त्रित व्यक्तित्वको भूमिका पाएकोमा हार्दिक आभार व्यक्त गर्दै कृति प्रकाशनका लागि बधाई तथा शुभकामना पनि दिएका थिए ।

कार्यक्रममा विशिष्ट आमन्त्रित व्यक्तित्व डा.हरिप्रसाद पोखरेलले कवि ठाकुर शर्मा भण्डारीका कविताहरू सरल र मीठो रहेको बताए । कवि शर्मा संभावनाको हुन् भन्दै उनमा राम्रो संस्कार रहेको बताए । सभापतिको आसनबाट बोल्दै इतिहासविद् प्राज्ञ दिनेशराज पन्तले ठाकुर शर्मा भण्डारीका कृतिहरूमा थपिएको यो नयाँ कृति आफैँमा ठूलो उपलब्धि भएको बताए । शर्माका कविता छन्द र पद्यमा मात्र नभई गद्यमा पनि रहेछ जुन पठनीय र स्तरीय भएको बताए ।

कार्यक्रममा समालोचक गोपी मैनालीले लोकार्पित कविता कृतिको बारेमा बोल्दै कवि ठाकुर शर्माको बहुआयामिक प्रतिभाको चर्चा गरेका थिए । कवि ठाकुरले प्रकृतिलाई प्रतीक बनाएर कविता लेखेको बताए। ठाकुरका कविताहरूमा आक्रोश छ,असन्तुष्टि छ,उत्साहको उर्जा छ,आशयको आग्रह छ तर ती शालीनता र शिल्पले मृदुल छ भनेर उनले बताए ।

आफ्नो स्वागत मन्तव्य राख्दै कवि ठाकुर शर्मा भण्डारीले आमन्त्रित तथा उपस्थित सबै साहित्यकार तथा पारिवारिक सदस्यहरूको परिचय गराएका थिए । आफू एक स्रष्टा भएको र प्रायःजसो हरेक दिन साहित्यिक कार्यक्रमहरूमा घर बाहिर हुने कारण घरपरिवारको खुल्दुली मेटाउन र साहित्यकारहरूसँग परिचित गराउन चाहेको हुँदा आफ्नो नयाँकृति सार्वजनिक गर्ने अवसर छोप्न अनौपचारिक र थोरै औपचारिक कार्यक्रम गर्नु परेको बताए ।

कार्यक्रममा समालोचक प्रा. डा. भागवत ढकाल, कवि महेश प्रसाईं, समालोचक युवराज मैनाली, कवि गोविन्दप्रसाद घिमिरे’वेदमणि’तथा सूबसेन ओलीद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । कार्यक्रममा कवि एन. बि. जनकपुरीले ठाकुर शर्मा भण्डारीको लोकार्पित कविताकृतिभित्रबाट एउटा कविता गाएर सुनाएका थिए ।