समाचार
								
							चितवन ।
लेखक तीर्थ गुरुङलाई उपन्यास ‘हिउँको गीत’ का लागि २०८१ सालको ‘कविडाँडा आख्यान पुरस्कार’ प्रदान गरिएको छ । चितवनस्थित होटल ग्यालेक्सी गार्डेन रिजोर्टमा शनिबार आयोजित कार्यक्रममा मीना लामिछाने ट्रस्टकी अध्यक्ष मीना लामिछाने, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री तथा विशिष्ट अतिथिहरू सरुभक्त र जीवा लामिछानेले लेखक गुरुङलाई दोसल्ला, सम्मानपत्र र डेढ लाख रुपैयाँ नगदसहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रमका बीज वक्ता समालोचक महेश पौड्यालले आख्यान लेखनमा स्थान चयनको भूमिका महत्वपूर्ण हुने बताउँदै इतिहास र कथा स्थानसँग गहिरो रूपमा गाँसिएको हुन्छ भन्दै आख्यानकारहरू सचेत रहनुपर्नेमा जोड दिनुभयो। पुरस्कृत उपन्यासको समालोचना गर्दै समालोचक डा. केशव चालिसेले ‘हिउँको गीत’ करिब सात सय वर्षको गुरुङ आदिवासी समुदायको जीवन्त इतिहासलाई आकर्षक भाषा र प्रयोगशील शैलीमा प्रस्तुत गरिएको उत्कृष्ट कृति भएको बताउनुभयो ।
कवि तथा आख्यानकार भूपीनले गुरुङ विद्यार्थी जीवनदेखि नै कविता लेख्दै आएका सशक्त आख्यानकार भएको उल्लेख गर्दै ‘पाठशाला’ बाट पुरस्कृत हुँदै आउनुभएको उहाँको अध्ययनशील र गम्भीर लेखनशैलीको प्रशंसा गर्नुभयो । विशिष्ट अतिथि सरुभक्तले गुरुङ संरक्षण कविता आन्दोलनको सुरुवाती दिनदेखि नै आफूसँग जोडिएका प्रतिभाशाली लेखक भएको उल्लेख गर्दै ‘हिउँको गीत’लाई विशिष्ट उपलब्धि भन्नुभयो । अर्का अतिथि जीवा लामिछानेले पनि उक्त कृतिले आफूलाई गहिरो रूपमा प्रभावित पारेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एलबी क्षेत्रीले गुरुङको कृतिले आदिवासी गुरुङ समुदायको इतिहास र संस्कृतिको सुन्दर आख्यानीकरण गरेको कारण पुरस्कार प्रदान गरिएको बताउनुभयो। उहाँले पुरस्कार राशी एक लाख २५ हजारबाट बढाएर एक लाख ५० हजार पुर्याइएको घोषणा गर्नुभयो । साथै, आगामी वर्षदेखि नेपाली कला–साहित्यमा उल्लेखनीय योगदान पु¥याउने एक स्रष्टालाई ‘कविडाँडा प्रतिभा सम्मान’ बाट एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरिने घोषणा पनि गर्नुभयो ।
पुरस्कृत सर्जक तीर्थ गुरुङले पुरस्कारले आफ्नो लेखनलाई थप गुणस्तरीय बनाउने प्रेरणा दिएको प्रतिक्रिया दिनुभयो । कार्यक्रम समाजका पूर्व अध्यक्ष उदय अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कोषाध्यक्ष रामकृष्ण अनायासको धन्यवाद मन्तव्यसँगै कार्यक्रम समापन भएको थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव लेखराम सापकोटाले गर्नुभएको थियो ।
यस अवसरमा युवा गायक आयूष केसीले राष्ट्रभक्तिको गीत प्रस्तुत गर्नुभएको थियो भने चितवनसँगै काठमाडौं, पोखरा, तनहुँ, लम्जुङ, नवलपरासीलगायत क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । ‘कविडाँडा आख्यान पुरस्कार’ आख्यान सिर्जनालाई मात्र प्रदान गरिने देशकै सर्वाधिक राशिको पुरस्कार मानिन्छ ।
