समाचार
काठमाडौं ।
वरिष्ठ आख्यानकार हीरण्यकुमारी पाठकका एकसाथ तीन कृति लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच शुक्रबार उहाँद्वारा लिखित लघुकथासंग्रह ‘तेल भिसा’, कवितासंग्रह ‘सम्बन्धको चुकुल’ तथा सम्पादित ‘सर्जक गणेश रसिक स्मृति अंक–नारीस्वर’ लोकार्पण गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापक गोविन्दमानसिंह कार्की, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र कवि शैलेन्द्र साकारले संयुक्त रूपमा उक्त कृतिहरूको लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गंगाप्रसाद उप्रेतीले आठ दशकको उमेरमा पनि हीरण्यकुमारी पाठकको लेखकीय सक्रियता प्रेरणादायी रहेको उल्लेख गर्दै, उहाँको बहुआयामिक सिर्जनात्मकता नेपाली साहित्यको लागि महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो ।
कवि शैलेन्द्र साकारलेसर्जक गणेश रसिकप्रति भावुक श्रद्धाञ्जलि व्यक्त गर्दै, ‘उहाँ मेरो गाउँले दौंतरीमात्र होइन, नेपाली लोकधुनमा आधारित गीत–संगीतका उत्कृष्ट सर्जक हुनुहुन्थ्यो’,भन्नुभयो । साकारले हीरण्यकुमारी पाठक र रसिक दुवैले भोजपुरको लोकलयलाई व्यापकता दिएको बताउनुभयो ।
कार्यक्रममा लघुकथासंग्रह ‘तेल भिसा’बारे धारणा राख्दै प्रा.गोविन्दमानसिंह कार्कीले कृतिमा समसामयिक विषयवस्तु, सामाजिक विकृति, विसंगतिलाई सरल भाषामा प्रस्तुत गरिएको बताउनुभयो । कवि तथा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले कवितासंग्रह ‘सम्बन्धको चुकुल’माथि टिप्पणी गर्दै पाठकका कविताहरूमा कम शब्दमा धेरै अर्थ बोकेको र सरलता, गहनता र सौन्दर्यको संयोजन पाइने बताउनुभयो ।
साहित्यिक पत्रकार संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले लेखक पाठकको साहित्यिक योगदानको उच्च सम्मानका साथ मूल्यांकन गरिएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीले समसामयिक विषयमा मन्तव्य व्यक्त गर्दै स्वागत गर्नुभएको छ । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै पत्रकार नम्रता शर्माले आफ्नी आमा हीरण्यकुमारी पाठकको साहित्यिक यात्राको समीक्षा गर्दै उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रम अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन्न भएको थियो भने कवि यादव भट्टराईले सहजीकरण तथा सञ्चालन गर्नुभएको थियो ।
