• २०८२ कार्तिक ४, मंगलवार

देउजाको ‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ बोलको गीत सार्वजनिक

काठमाडौँ ।

अमेरिकामा रहेर पनि निरन्तर नेपालमा कानुनी शासन, सामाजिक सद्भाव र सुरक्षा निकायहरूलाई सशक्त, सक्षम र उत्तरदायी बनाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका राधाकृष्ण देउजाले ७० औं प्रहरी दिवसको अवसर परेर ‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ बोलको गीत सार्वजनिक गरेका छन्। उक्त गीतमा नेपालको प्रहरीप्रतिको सम्मान र माया प्रकट गर्ने एक अर्थपूर्ण शब्दहरू समेटिएको पाइन्छ । ‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ गीतमा देउजाले नेपाल प्रहरीको निरन्तर सेवा, त्याग र निःस्वार्थ समर्पणको यथार्थ झल्काउँदै समाजमा प्रहरीप्रतिको मनोबल उच्च राख्ने सन्देश दिएका छन् ।

गीतमा शब्द रचना राधाकृष्ण देउजाको रहेको छ भने संगीत तथा स्वर गायक हेमन्त कान्छा रसाइलीले दिएका छन्। गीतको भिडियो सम्पादन प्रकाश विश्वकर्माले गरेका छन् । गीतको शब्दहरूमा प्रहरीहरू सधैं देश र जनताको सुरक्षाको अग्रपंक्तिमा रहेर काम गर्छन् तर धेरैजसो समय उनीहरूले आफ्नो समर्पणको जस पाउँदैनन् प्रहरीप्रति जनताको सम्मान बढे मात्र कानुनी शासन बलियो बन्छ भन्ने भाव झल्किएको छ ।

७०औं प्रहरी दिवसको अवसरमा सार्वजनिक गरिएको यस गीतले प्रहरी समुदायको मनोबल बढाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। गीतमा समेटिएका भावनात्मक शब्द र लयले प्रहरीका चुनौतीपूर्ण दायित्वप्रतिको कदर झल्काउँछन् । ‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ गीतको भिडियो राधाकृष्ण देउजा युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।