कविता

लमतन्न डुङ्गुर मूढहरू थिए
शुष्क÷जर्जर अग्राखहरू
मक्किँदै÷सड्दै थिए
र, मानिसहरू
राखमा झिल्काहरू खोज्दै…
झिल्का तर्कको
झिल्का विचारको
झिल्का चेतनाको
आकाशबाट
झिरिप्प खसेको लामपूच्छ्रे टिपेर
झिल्काको बिऊ जोगाउन खोज्दै थिए कोही
अगेनामा निरन्तर आगो नहुन पनि त सक्छ
अगेनामा बस्दैमा
न्यानो त ढाडेले मात्र महसुस गर्ने न हो ?
सुकेका कुवामा बाल्टिन डुबाउँदैमा
प्यास कसको मेटिएको छ र ?
न त कहिले, तुँवालोले ढकमक्क ढाकेका मौसमहरूमा
काँचमा सूर्य परावर्तन गर्न खोजेर
परालका त्यान्द्राहरू नै सल्कने छन्
न मूढहरू भस्म पार्न नै सकिने छ
जब असरल्ल सुकेका काठहरू
जङ्गलभरि हुनेछन्
काठहरूलाई अग्निदाह गराइनु पर्दछ
र नवीन पल्लवहरूलाई
उर्वर धराले स्वागत गर्नेछन्
आगो सेलाएर कोइला हुन सक्छ
कोइलाभित्र सुशुप्त अग्नि
जब कोइला प्रज्वलित भएर खरानी हुनेछ
खरानी ! कहिल्यै आगो बन्ने छैन !
आगो परालमा पनि लाग्न सक्ने छ
र, आगो भूसमा पनि
र, आगो दर्शनमा पनि
आगो बिनाको मानिस
आगोमा डढेर राख हुन्छ नै !
आगोसहितको मानिस
राख भएर नि हुन्छ आगो नै !
भस्म घसेर पनि खरानी नबन्नू
राखले सीमाहरू नकोर्नू
राख नखानू !
कात्यायन
चाबहिल, काठमाडौँ – ७