कविता

काठमाडौं, असोज ३१ ।
अनुशंधानात्मक कृति ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ पुस्तक शुक्रबार लोकार्पण भएको छ । युवा अनुशंधाता रोशनकुमार झाद्वारा लिखित उक्त पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले भने, “सत्ता ढले पनि संस्कृतिको डोरबाट सम्बन्ध बाँचिरहेको हुन्छ । नेपाल मण्डलसँग सिम्रौनगढको मात्र होइन किरातको सम्बन्ध पनि रहेको छ । जसको अनुशंधान हुनुपर्छ ।”
लेखक झाको प्रयासको प्रशंसा गर्दै कुलपति राईले नेपाल मण्डलसँगको सम्बन्धबारे अनुशंधान भएको यो पुस्तक सम्बन्धको आधारमा नयाँजस्तो लागेको बताए । उनले यस्ता थुप्रै अलिखित सम्बन्धहरूबारे लिखितमा ल्याउनुपर्छ बताउँदै भने, “इतिहास दुई ठाउँमा भेटिने, एउटा पुस्तका अर्को समाजमा, पुस्तका राजमहाराजाका इतिहास मात्रै भेटिन्छ भने समाजमा जनताको । त्यसैले हामीले प्रतिष्ठानमा समेत मौलिक इतिहास विभाग बनाएका छौं । जसमा जनताको इतिहासको खोजी हुनेछ ।” कार्यक्रममा अतिथिका रूपमा संस्कृतिविद प्रभाकर लाल झाले सिम्रौनगढ (तिरहुत–मिथिला क्षेत्र) र नेपालमण्डलबीच ऐतिहासिक सांस्कृतिक, धार्मिक, भाषिक र राजनीतिक लगायत समकालीन सन्दर्भ एवं सम्बन्ध बुझ्न यो पुस्कत पढ्नुपर्ने बताउनुभयो ।
अतिथिका रूपमा संस्कृतिविद् जगमान गुरुङ्गले पुस्तकमाथि बोल्दै भन्नुभयो, नेपाल मण्डल हिमालय पारिको व्यापारिक मार्ग थियो भने सिम्रौनगढ गंगा–यमुनाको मैदानी मार्गसँग जोडिएको थियो, जसले नेपाल मण्डल, तिब्बत, कर्नाटक र दिल्लीसम्म जोड्थ्यो । पुस्तकमार्फत् नेपालमण्डल–सिम्रोनगढ–दिल्लीबीचको राजनीतिक समन्वय बुझ्न सकिन्छ । यसका साथै तिरहुते मैथिल परम्पार, संस्कार र पद्धतिहरु नेपालमण्डलमा कसरी स्थापित भए भन्ने अध्ययन यस कृतिमा गरिएको उनले बताए ।
पुस्तका लेखक रोशनकुमार झाले आफूले १८ वर्ष लगाएर खोज–अनुशंधान गरेको बताए । नउले सिम्रौनगढ नेपालको एउटा ऐतिहासिक धरोहर हो । यसको इतिहास बुझ्दा नेपालमण्डल र सिम्रौनगढ मात्र होइन समग्र नेपालको सांस्कृतिक विविधता र साझा ऐतिहासिक पहिचानलाई बुझाउने उनले दावी गरे । पुस्तक पैरवी बुक हाउस प्रा.लि.ले प्रकाशन गरेको हो ।