समाचार

काठमाडौँ ।
कवि डा. अस्मिता विष्टको पहिलो कविता- किताब ‘ब्ल्याकहोलमा गीतहरू’ धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा विमोचन गरिएको छ । किताबको विमोचन प्रदेश-१ का पूर्वप्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले गरेका थिए । ‘विष्टका कविताहरूले व्यक्तिगत रूपमा मलाई प्रभावित पारयो,’ ‘यी कवितामा नयाँ समयको स्वाद अनुभव भेटिन्छ, उनले भने,।’
विमोचनपछि भएको समीक्षात्मक सत्र कार्यक्रममा कवि टीका आत्रेयले संग्रह अब्बल भएको बताइन् । ‘यी कवितामा नारीवादी दृष्टिकोण सशक्त रूपमा प्रस्तुत भएको छ,’ उनले भनिन् । उनले विष्टले पुरातन संस्कृतिका रुढिवादी अभ्यासलाई चुनौती दिएको बताइन् । उपप्राध्यापक दीपक न्यौपानेले पुस्तकमा प्रयुक्त विम्ब र प्रतीकको सशक्त प्रयोगको प्रशंसा गरे ।
कवि चन्द्र गुरुङ, करुणा राई, सुदीप पाख्रिन, सविता फागो चोङवाङ, श्रेया खड्का लगायतले किताबका कविता वाचन गरे ।
विष्टले दुई दशकदेखि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी विषय प्राध्यापन गर्दै आएकी छन् । लैंगिक दृष्टिकोणबाट नेपाली आख्यान र चलचित्रमाथि उनका चार दर्जनभन्दा बढी लेख प्रकाशित छन् । इन्डिगो इन्कबाट प्रकाशित ‘ब्ल्याकहोलमा गीतहरू’ मा ४५ वटा कविता समावेश छन्, जसले नारी-पुरुष जीवन भोगाइ, सामाजिक बेथिति, सांस्कृतिक उत्पीडनमाथि गम्भीर विमर्श गरेको छ । किताबको मूल्य ३४९ रुपैयाँ रहेको छ ।