समाचार

स्याङ्जा ।
आँधीखोला गाउँपालिका–६ फापरथुमस्थित आनन्दआश्रममा ‘आनन्दआश्रम ज्ञान केन्द्र’द्वारा आयोजित साहित्यिक गोष्ठी तथा तेस्रो साधारण सभा एकैसाथ सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष ई. ओम शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको प्रारम्भ उपाध्यक्ष दिप्तिनारायण शर्माद्वारा प्रस्तुत स्वागत मन्तव्यबाट भएको थियो । कार्यक्रममा प्रगतिशील साहित्यकार चक्रबहादुर पराजुली प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा देशका दुई कवि पोषराज पौडेल र चिन्तु गिरी लाई संस्थाले ‘आनन्दआश्रम प्रज्ञा सम्मान’द्वारा सम्मान गरेको थियो । सम्मान स्वरूप खादा, दोसल्ला तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
संस्थाका संस्थापक संरक्षक त्रिलोचन ढकालले सम्मानित कविहरूको साहित्यिक यात्राबारे विस्तृत विवरण प्रस्तुत गर्दै उहाँहरूको योगदानलाई स्मरण गर्नुभएको थियो । त्यसपछि सम्मानित कवि पोषराज पौडेल र कवि चिन्तु गिरीले साहित्यप्रति आफ्नो दीर्घ समर्पणबारे मन्तव्य व्यक्त गर्दै संस्थाप्रति आभार प्रकट गर्नुभएको थियो । साथै, दुबै कविहरूले गोष्ठीमा छन्दबद्ध कविता वाचन गरेर उपस्थितलाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।
कार्यक्रममा सहप्राध्यापक हिमलाल पुरी, देवी सापकोटा, ई. सुदर्शन शर्मा, विद्यार्थी शिखा सुनार र रिदम ढकाललगायत वक्ताहरूले शुभकामना मन्तव्य दिँदै कविहरूलाई बधाई दिनुभएको थियो । उहाँहरूले पनि आफ्नो कविता वाचन गरी गोष्ठीलाई साहित्यिक वातावरणले भरिपूर्ण बनाउनुभएको थियो । साहित्यिक गोष्ठीसँगै संस्थाको तेस्रो साधारण सभा पनि सम्पन्न भएको थियो । लोकराज शर्माको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरेर कार्यक्रम अघि बढाइएको थियो । संस्थाका पूर्व सचिव दोलराज ढकालले २०८१ श्रावण १ गतेदेखि २०८२ असार मसान्तसम्मका गतिविधि तथा आगामी कार्ययोजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै, संस्थाको सो अवधिको आय–व्यय प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।
प्रतिवेदन सर्वसम्मतिले पारित भएपछि आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको छ। निर्वाचित कार्यसमितिको नेतृत्व टिकाराम ढकाल (काका)ले गर्नुहुनेछ। उहाँसँगै दिप्तिनारायण शर्मा उपाध्यक्ष, दोलराज ढकाल सचिव, खेमनारायण लामिछाने उपसचिव, नन्दबहादुर जिटी कोषाध्यक्षमा चयन हुनुभएको छ । सदस्यहरूमा इन्द्रमणि ढकाल, खगिसरा जिटी, गृहलक्ष्मी ढकाल, डा. ऋषिराम ढकाल, देवी सापकोटा, मानबहादुर जिटी, शारदा शर्मा, शेरबहादुर शाही, हिमलाल पुरी र हिमालयजंग बानिया चयन हुनुभएको छ ।
कार्यक्रमको अन्त्यमा संयोजक लोकनाथ शर्माले सम्मानित व्यक्तित्व र नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै आगामी योजनाहरूको जानकारी गराउनुभयो । उहाँले २०८२ कार्तिक ३ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच कविता प्रतियोगिता आयोजना गरिने घोषणा गर्नुभयो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दोलराज ढकालले गर्नुभएको थियो । गोष्ठी र सभामा स्थानीय साहित्यप्रेमी, विद्यार्थी, शिक्षक तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति थियो ।