• २०८२ आश्विन २१, मंगलवार

दशैँ एक प्रश्न

ज्योति जङ्गल

ज्योति जङ्गल

हमेशा शक्तिको गान गाएर विरुद्ध उभिइरह्यो दशैँ ।
भन्न त खराबी जितेर
उत्कृष्ट वीरता भन्दै सच्याए अपराधलाई
भन्न त दुष्टताप्रतिको प्रहार भन्दै
बङ्ग्याए शक्तिको उन्मादलाई
तर
हत्याको साधन नारी बनाएर गयो
दशैँको इतिहासले
रक्तमुछेल भएर रगत चाटिरहेकी स्त्रीलाई
विजयको ताज लाइदियो वृत्तान्तले ।

हातमा खड्ग बोकेकी
कुन आमा उभिएकी थिइन् त्यो सुदूर समयमा ?
ए आमा !
एक दिन त तिमी पनि बोल्नेछौ
किन अन्तिम योद्धा बनाएका हुन् तिमीलाई ?
किन तिम्रो पछ्यौरी ओडेर
शिर लुकाउन पाए अन्यायीहरुले ?

मलाई थाहा छ
त्यो हत्यारा तिमी होइनौ
केवल छल हो पुरानो युगको
र आजसम्म झुक्किइरहेको छ वर्तमान ।

हमेशा कमजोरलाई ममता दिने तिमी स्त्रीलाई
यति कठोर बनाएबापत
कुनै दिन विगो तिर्नेछ समयले ।

कवि !
तिमीले यसरी सोच्यौ कि सोचेनौ ?
हमेशा कमजोरमाथि भय बनेर उभिइरह्यो दशैँ !

ज्योति जङ्गल


ज्योति जङ्गल नेपाली साहित्य क्षेत्रमा स्थापित एक बहुआयामिक स्रष्टा हुनुहुन्छ । २०४८ सालमा च्यातिदेउ बनारसी सारीु शीर्षकको कविता युगज्ञान पत्रिकामा प्रकाशित भएसँगै साहित्यमा सक्रिय योगदान दिन थाल्नुभएको ज्योति कविता, कथा, गजल, गीत र निबन्धजस्ता विविध विधामा कलम चलाउनुहुन्छ। स्नातकोत्तर नेपाली तथा एमबिए अध्ययन पूरा गरेकी उहाँ पेशागत रूपमा बैंकिङ क्षेत्रमा संलग्न रहँदै साहित्यिक सिर्जनामा निरन्तर सक्रिय हुनुहुन्छ । उनका प्रकाशित कृतिहरूमध्ये पहाडको मनु २०६२, अक्षरमा तिमी गजलसङ्ग्रह २०६५, मुक्त समय २०६९, छाया कथा सङ्ग्रह २०७४ र आधा शिर उचाले ? २०७९ विशेष रूपमा चर्चित छन्।