समाचार

मौसम न त धेरै तातो न त धेरै चिसो । हावा शीतल र शुद्ध, छोट्टीएका दिनहरूमा रमाइलो घाम । शरदले नेपाललगायत विश्वका अरु देशमा पनि असर देखाउँछ । धेरै देशका रूखका पातहरू रातो, पहेंलो र सुनौलो रङ्गमा परिणत हुँदै बनाउँछन् प्रकृतिलाई चित्रजस्तै सुन्दर । नेपालका खेत धान पाकेर स्वर्णिम बनेका, नीलो आकाशमुनि टलक्कसेता हिमाल टल्केका । छपक्क शीत बोकेर कृतज्ञ बनेका धानका बिहानी बाला र दुबोमाथि पहिलो घामको किरणमा हिरा जस्तै टल्किने शीतबिन्दुहरूको बेग्लै सुन्दरता । आँगन भरि स–सुवास बाटो छेक्ने पारिजात यसै–यसै हावासँग जिस्किंदै कान्ला, बारी करेसा र घर वरिपरि रमाउँने सयपत्री र मखमली । वर्षको सबैभन्दा रमाइलो र मोहक ऋतुहरू मध्ये एक, शरद ऋतु ! जो वर्षाको अन्त्य र जाडोको सुरुवातअघि आउँछ । वर्षा सकिएको, नदी–नाला पानीले भरिएका, खेतबारी हरिया र उर्वर भएका । आकाश प्रायः सफा भएकाले दिन उज्ज्यालो, ताराको टिमटिमाहटमा शीतल रात । किसानहरू धान काट्न व्यस्त, बालबालिकाले स्कुले तनावलाई बिर्संदै चङ्गा, पिङ र मनलागि लिइने आनन्द, कामकाजीलाई छुट्टी । मालश्री धुनको मिठास रेडियोमा टिभीमा । यसैयसै रमाइलो हावा, पानी घाम र मौसम अनि गाउँ घर, बाटो बजार, आफन्त र साथीसंगी । लाग्छ सौन्दर्य केवल देखिनु मात्र होइन अनुभूति गर्ने कला पनि हो ।
शरदले सफा आकाश, शितल –मधुर हावा, र रमाइलो वातावरण ल्याउँछ । नेपाल लगायत धेरै देशहरूमा शरद ऋतुको समयलाई सबैभन्दा रमणीय र रंगीन समय मान्छन् जो परिवर्तनको प्रतीक हो । यसले जीवन पनि प्रकृतिजस्तै चक्रमा अगाडि बढ्छ भन्ने सन्देश दिन्छ । झर्ने पातहरूले पुरानो छोडेर नयाँलाई स्वागत गर्ने शिक्षा दिंदै हामीलाई सन्तुलन, सौन्दर्य र रूपान्तरणको महत्त्व सम्झाउँछ ।
शरद ऋतु ऋतु मात्र होइन यो त उत्सवहरूको ऋतु हो । नेपालका महान् पर्वहरू दसैं र तिहार यही ऋतुमा पर्दछन् । यस समयमा परिवारहरू भेला हुन्छन्, घर–आँगन सजाइन्छ, मीठा परिकार खान पाइन्छ । मन यसैयसै रमाउँछ । अन्य देशहरूमा पनि यस ऋतुमा बाली भित्र्याउने र धन्यवाद दिने चाडहरू मनाइन्छ । यसले ऋतुको महत्त्वलाई अझ बढाउँछ ।
जब चाडपर्वहरू आउँछन् छुट्टै आनन्दको अनुभूति दिलाउँछ्न । हर्ष, उल्लासकासाथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता छर्छन् । भिन्न खालको खुसी र सुख प्रदान गर्दछन्् । दुःख र पीडालाई भुलाइदिन्छन् र जीवनयापनमा उत्साह थप्छन् । पूरै वातावरण र परिवेशलाई उल्लास र रौनकमय बनाउँछ । मानिसहरू चाडपर्वको तिथि–मिति हेरेर पर्खेर बसेका हुन्छन्, योजना र जोहो गरेका हुन्छन् । अझ भन्दा खुसी र सुख सञ्चय गरेका हुन्छन् त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
शरद यसै सुन्दर तर शरद ऋतुमै खुल्छ दसैँको सुन्दरता । शक्तिवादका अनुयायीहरूका लागि दसैँले देवी दुर्गाको विजयको प्रतिनिधित्व गर्दछ । वैदिककालमा साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगमकाल भएको र त्यहिँबाट दसैंको शुरुवात भएको मानिन्छ । दसैं सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको विषयमात्र नभएर यसको वैज्ञानिक महत्त्वका कारण पछिल्लो पुस्तामाझ पनि उत्तिकै लोकप्रीय छ । दसैँलाई बडा दसैं, दशहरा, विजया दशमी, आयुध पुजाका नामले समेत जानिन्छ । दसैँमा मुख्यत हिन्दु धर्मका शक्तिस्वरुपा नवदुर्गाको नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमाण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिधात्री र अपराजिताको विशेष पुजा तथा आराधना हुने गर्दछ ।
निकै पुरानो मानिएको यो प्रचलनमा सत्ययुगदेखि नै नवरात्रभर दुर्गापूजा गर्ने गरिएको पाइन्छ । उदाहरणका लागि सत्ययुगमा देवताले दानवीय शक्तिमाथि विजय पाउनका लागि नवरात्रीय दुर्गा पूजा प्रारम्भ गरेका थिए भने त्रेतायुगमा भगवान् रामचन्द्रले रावणमाथि विजय पाउनका लागि तथा द्वापरयुगमा भगवान् श्रीकृष्णले मानवको दुःख संकट निवारण गर्ने कार्यका लागि नवरात्रमा दुर्गा पूजा गरेका थिए ।
नवरात्र माता दुर्गाको पुजा आराधना मात्र नभई दुर्गाको पूजा गर्दा बलि दिने प्रचलन चलिआएको छ । यस्तो बलि दिँदा कुभिण्डो, काँक्रो, उखु, पुलाकी (रुखविशेष), वेल, नरिवल र कुशर (दाल–चामल) बलि दिने प्रचलन छ । सप्तमीको दिनमा वचनकी अधिष्ठात्रि सरस्वतीको पुस्तक, कपी, कलम र मसिदानीसमेतलाई एकै ठाउँ राखेर पूजा गरिन्छ । यही सप्तमीको दिनमा फूलपाती भित्र्याउने चलन छ र फूलपाती नौजातका वनस्पतीहरू मिलाएर तयार गरिन्छ । ती नौजातका वनस्पतीमा कदली (केरा), दाडिमी (दाडिम), धान्या (धान), हरिद्रा (हलेदो÷बेसार), मानक (पिँडालु÷कर्कलो), कचु (कचुर÷कालो हलेदो), बिल्व (बेल), अशोक र जयन्तीलाई लिइएको छ । हिन्दु धर्मशास्त्रमा महिषासुर दानवले देवलोकमा आतङ्क मच्चाएका थिए तर दुर्गाले राक्षसहरूलाई मारेकी थिइन् । त्यसैअनुसार दसैँका नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबीच भएको युद्धका प्रतीक हुन् । नौ दिनसम्म चण्डी पाठ गरेर नौ कन्यालाई खुवाउने चलन पनि छ । दसौं दिन दुर्गाले दानवलाई पराजित गरेकी थिइन । राक्षस महिषासुरलाई पराजित गरेको सम्झनामा असत्यमाथि सत्यको विजय भएको प्रतीक मानिन्छ अझ भन्दा हिन्दुहरूकालागि यो चाड रावणमाथि रामको विजयको प्रतीक पनि हो जुन रामायणमा वर्णन गरिएको छ । दसौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशीर्वाद थापेर मनाइन्छ ।
घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र, टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिँदै राखिन्छ । जमरा राख्ने पनि यसको आफ्नै खास विधि विधान छ । मन्त्र छ । विशेष साइतमा अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरूले यसलाई समृद्धिको प्रतीक मानेको छ । दसैंमा नवदुर्गाको पूजा गर्नुकोपछि प्रतीकात्मक एवं वैज्ञानिक महत्त्व पनि कम छैन । दशैंमा लगाउने टीकाको वैज्ञानिक पक्ष, बलिको बैज्ञानिक पक्ष, जमराको महत्त्व आदि पनि रहेका छन् । हामीले दसैंमा राख्ने जमरा सांस्कृतिक दृष्टिले दीर्घायूको प्रतीक मानिन्छ तर जमराको वैज्ञानिकता खोज्दा बिहान शारीरिक व्यायाम गरेपछि जौं र गहुँको जमराबाट बनेको जुस पिउँने हो भने रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ र धेरै रोग निकोसमेत हुने कुरा वैज्ञानिक रुपमा पुष्टि समेत भईसकेको छ । जौं र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसंख्यक रोगबाट बच्न पनि नियमित यसको सेवन गर्न सकिन्छ ।
दसैँमा लगाउने टीकाको पनि आफ्नै महत्त्व छ । मानव शरीरमा रहेका सबै नाडीहरूमध्ये इडा, पिङ्गला र सुषुम्नालाई मुख्य मानिन्छन् । सुषुम्ना मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ । सुषुम्नालाई ज्ञानको प्रवाहक मानिन्छ । त्यसैले सुषुम्नामा पर्ने गरी नै टीका लगाइन्छ । निधारमा लगाइएको चन्दन अथवा टीकाले मानिसका विकारयुक्त किटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने मान्यता रहेको छ । चन्दन लगाउँदा मन शीतल हुन्छ भन्ने मान्यतासमेत रहेको छ । मस्तिष्कको तातोपनालाई सन्तुलित राख्न पनि चन्दन टीका लगाउने गरिन्छ । यसैगरी दसैंमा दिइने बलिको वैज्ञानिक पक्षलाई हेर्दा यसले पोषण आपूर्ति, मानसिक सन्तुलन, सामाजिक एकता र पशु जनसंख्या नियन्त्रणमा भूमिका खेलेको देखिन्छ । तर आधुनिक युगमा, पशु अधिकार र वातावरण संरक्षणको सवाल उठिरहेका बेला बलिलाई प्रतीकात्मक तरिकाले प्रस्तुत गर्ने अभ्यास अझ उपयुक्त हुने विशेषज्ञहरूको सुझाव पाईन्छ ।
दसैँले दश प्रकारका पापहरू (काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी) त्याग्ने प्रेरणा दिने विश्वास गरिन्छ । धार्मिक, साँस्कृतिक तथा सामाजिक रूपले दसैंको जति महत्त्व छ त्यत्तिकै प्राकृतिक पक्षमा पनि प्रबल छ । यस चार्डले मानिसलाई प्रकृतिको नजिक रहेर पूजा आराधना गरी संरक्षण गर्न समेत प्रेरित गर्छ । पारिवारिक सम्बन्ध सुमधुर बनाउने दसैँलाई मातृशक्तिको उपासना र उन्मुक्तिका दिनका रूपमा लिइन्छ । त्यसैले नेपाली चाडपर्व मध्ये बडादसैँ विशेष चर्चित ढंगले मनाइन्छ । दसैँ–तिहार एकल पर्व नभई नेपाली हावापानी सुहाउँदो विशुद्ध नेपाली परम्पराको चाड–पर्व हो । यसलाई मनाइरहने हामीले अनुभूति गरेकै छौं कि चैत, वैशाख, जेठमा हावाहुरीको डर । असार, साउन र भदौमा बाढी–पहिरो र वर्षातको कहर । मंसिर, पुुस र माघमा कठ्यांग्रिने जाडोको प्रहार नै त नेपाली हावापानीको प्रकृति हो । यसरी प्राकृतिक उपद्रव रोगव्याधि, दुःखबाट पार पाएको खुसीयालीमा पनि आश्विन–कार्तिकको ऋतुराज शरदमा नेपालीले आफ्नो महान् चाड दसैँ र तिहार मनाउन थालिएको हो । हाम्रो आफ्नै हावापानी सुहाउँदो चाड–पर्व जसले जुनसुकै नाम–रूपमा मनाउन सकिने नेपाली परम्पराको चाड–पर्व दसैँ–तिहार हो भन्न सकिन्छ । सम्भवत् यो लामो चाड पनि हो । यो घटस्थापनादेखि सुरु भएर १५ दिनसम्म चल्छ । जमरा राखेदेखि १० दिन दुर्गापूजा त्यसपछिका पाँच दिन मान्यजनको हातबाट टीका लगाइन्छ । टाढा टाढादेखि आउने पाउनाहरूलाई पूर्णिमासम्म टीका लगाएर आशीर्वाद लिने–दिने गरिन्छ । मान्यजन, ठूलाबडाको हातबाट निधारमा टीका र आशिष् थाप्नु दसैँको मुख्य विशेषता हो तर यही टीका पनि सबै समुदायमा एकै किसिमको हुँदैन । हिन्दू मान्नेहरूले अक्षता, अबिर दही मुछेर बनाइएको रातो टीका लगाउँछन् । राई, लिम्बु, मगर, गुरुङ, तामाङ र थारु समुदायले सेतो टीका लगाउँछन् भने बौद्ध धर्म मान्नेले दसैँ खासै मनाउँदैनन् । तर, तामाङ समुदायले सेतो टीका लगाउने गरे पनि पछिल्ला दिन रातै टीका लगाउन थालेका छन् । नेवारले पनि रातै टिका लगाउँछन् टिका र जमरा दसैँको पर्याय नै हुन् ।
दसैँको अर्को सुन्दर पक्ष भनेको पिङ हो । दशैँ भरी पिङ खेल्ने परम्परा छ । ठाउँ हेरेर लिङ्गे र रोटे पिङ हाल्ने गरिन्छ । दसैँमा एक पटक पिङ खेलेर भुई छाड्नु पर्छ पर्ने प्रचलन अनुसार दसैँ सुरु हुनु महिना दिनअघिदेखि पिङ बनाइन्छ र खेलिन्छ । दसैँ भन्ने बित्तिकै चङ्गा पनि आउँछ । जसरि जमरा र टिका आउँछन् दसैँ र तिहारको प्रतीक बनेर त्यसै गरि चङ्गा र पिङ पनि दसैँसँग जोडिन्छन् ।
दसैँको बेला मनोरन्जन गर्ने माध्यम पिङ र चङ्गासँग पनि विज्ञान जोडिएको विज्ञहरूको आशय छ । चङ्गाले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चङ्गा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । चङ्गा उडाउन मन्द हावाको बहाव चाहिन्छ । विजय र वर्चश्वको बोझ लिएर उड्ने चंगा एक रोमाञ्चक खेल मात्र होइन, जीवन दर्शन पनि हो । यो उमङ्गको स्वच्छन्दको र उचाईको प्रतीक पनि हो । चङ्गा उडाउँदा हामी दुःख, पीर भुल्छौं ।
झट्ट हेर्दा पिङ पनि मनोरञ्जनको लागि नै खेलिन्छ । तर हाम्रो परम्परा अनुसार वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताले पनि हामीलाई पिङ खेल्न प्रेरित गर्छ । दशैंमा हामी सामान्य दिनभन्दा बढी खानेकुरा खान्छौँ , त्योपनि मासुजन्य परिकारहरू र शारीरिक श्रम पनि नगरिरहेका हुन्छौं । यसरी दशैंको बेला आवश्यक्ताभन्दा बढी खानेकुरा खाइने भएकाले पनि खानेकुरा पचाउन पिङ खेल्ने गरिएको तर्क दिन सकिन्छ । यो तर्क सही पनि लाग्छ पिङमा मच्चिने क्रममा शरीरको सम्पूर्ण व्यायाम हुन्छ । दसैँमा पिङ, चङ्गासहित लंगुर बुर्जा ( ढाइस) तास पनि खेलेर मनोरन्जन गरिन्छ ।
दसैँको अर्को सुन्दर र मधुर पक्ष मालश्री धुन हो । यही धुन बज्न थालेपछि नै दसैँको रमाइलो सुरु भएको अनुभूति हुन्छ । मालश्रीलाई दसैँको सङ्गीतको रुपमा नेपाली सङ्गीतको मूलधारमा समाहित गरिएको छ । यही धुनले नै दसैँ आएको घोषणा गर्छ । यही धुन बज्न थालेपछि नै हामीमा पर्वीय आनन्दको सञ्चार हुन थाल्दछ । मालाश्री धुन नेवाः कलाको सबैभन्दा पुरानो जीवित भक्ति सङ्गीत मध्ये एक हो, जसको उत्पत्ति १७औँ शताब्दीमा भएको थियो । सबै नेपालीहरूले मनाउने तथ्यलाई ध्यानमा राख्दै यो धुनलाई सृजना गरिएको थियो । यो राष्ट्रिय संस्कृतिको एक भाग हो जसलाई दसैँको समयमा बजाइन्छ ।
दसैँ ईश्वरीय र राक्षसी शक्तिहरूबीचको रक्तपातपूर्ण लडाइँको सम्झना गर्ने परम्परा भएकोले यस समयमा पशुबलिहरू सामान्य मानिन्छन् । जमरा राखेदेखि सुरु भएपनि फूलपाती, अष्टमी र नवमीका दिन नवदुर्गाको पूजा गर्दै बलि दिने परम्परा छ । शक्तिपीठमा पूजागर्ने र बलि दिनेको भीड हुन्छ । फूलपातीका दिनमा बलि दिने चलन अधिकांश ठाउँमा छ जो पुरानो चलन हो तर कतिपयले बलि दिँदैनन् र रीतपूर्वक पूजाअर्चना गर्छन् । पूजा गर्दा फलफूल नैवेध्य मात्र चढाउँछन् ।
दसैँंको महत्त्व धेरै छ । यसले धार्मिक, सांस्कृतिक र सामाजिक सबै पक्षलाई जोड्छ । धार्मिक दृष्टिले, दसैँमा देवी दुर्गाको पूजा–आराधना गरी शक्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ । सांस्कृतिक दृष्टिले, दशैंमा चङ्गा उडाउने, पिङ खेल्ने, मीठा परिकार खाने, वर्षभरिका दुःख बिर्सने जस्ता रमाइला गतिविधि हुन्छन् । सामाजिक दृष्टिले भने दशैंले परिवारलाई एकताबद्ध बनाउँछ । शहरमा बस्नेहरू आफ्ना गाउँ फर्कन्छन्, ठूलाबडाबाट टिका–जमरा र आशीर्वाद लिन्छन्, सानालाई दक्षिणा दिइन्छ । दसैंले पुराना रिस–इर्षा बिर्साएर नयाँ मिठास सुरुवात गर्ने अवसर दिन्छ । यसैले दसैंलाई मेलमिलाप, सद्भाव र आपसी प्रेम अनि भातृत्व र एकताको पर्व मानिन्छ । विभिन्न कारणले परिवारबाट छुटेकाहरूले एकैठाउँमा भेला भएर एक आपसमा खुसी साट्ने यो पर्वको महत्त्व निकै धेरै रहेको छ । वर्षमा एक पटक भएपनि राम्रो लगाउने र मिठो खाने गर्दा जीवनको वर्षभरीको पीडालाई केही दिन भएपनि भुलाउन मद्दत गर्दछ । त्यसैले त दसैँको छुट्टै सम्मान छ, महिमा छ । दसैँ आयो खाउँला पिउँला भन्ने टुक्काबाट नै प्रष्ट हुन्छ यसको महत्त्व ।
शरद ऋतु प्रकृतिको उपहार हो । यसले रंगीन सौन्दर्य, सफा आकाश, झपक्क बाली, र रमाइला चाडपर्वहरू ल्याउँछ र मानिसहरूको जीवनमा खुसी भर्छ । यस ऋतुले कवि, कलाकार र स्वप्नदर्शीहरूलाई प्रेरणा दिन्छ, साथै सबैलाई कृतज्ञता र नवीन आरम्भको पाठ सिकाउँछ । शरद ऋतु वास्तवमै सबैभन्दा प्रिय ऋतुहरूमध्ये एक हो किनभने यसैले लिएर आएको हुन्छ सबै जातको यौटै दसैँको सुन्दरता जहाँ राता अक्षता निधारभरी र पहेँला जमरा शिरमाथि सिउरिएर एकअर्काको हात समाउँदै खुसी साटासाट गर्छन र भुल्छन् जीवनीय कठीनाई र अफ्ठ्यारा मच्चिएर पिङमा अनि दह्रिलो बनाउँछन भातृत्व र सदभाव । साँच्चै मोहक शरदमा दसैँको सुन्दरता, पारिवारिक प्रेम, संस्कृतिको गहिराइ, आशीर्वादको न्यानोपन र एकता, टिका, जमरा, पिङ, चङ्गा, पूजा, लङ्गुर–बुर्जा (ढाइस) तास, भेटघाट, मिठो खाना, राम्रो नानालगायतको समिश्रणमा खुल्छ । त्यसैले त दसैँलाई नेपालीहरूको महान चाड भन्छौँ ।!!
रन्जना निरौला