• २०८२ आश्विन २२, बुधबार

दुई-तीन ओटा किताबमाथि एकै चोटी काम भइरहेको छ- मनिषा गौचन

विजेता चौधरी

विजेता चौधरी

नेपाली साहित्यकी स्थापित साहित्यकार मनिषा गौचन डुलुवा साहित्यकार हुन् । लेखन र कामकै सिलसिलामा उहाँ प्रायः देश दौडा गरिरहनुहुन्छ । संभवतः त्यसैले होला उहाँका पात्रहरू विभिन्न परिवेषका हुन्छन् र विभिन्न पृष्ठभूमिका कथाहरू पढ्न पाउँछौं हामी । मुस्ताङ्गदेखि काठमाडौंसम्मको निरन्तरको ओहोरदोहोर छ यतिबेला लेखिकाको, यद्यपि उहाँको व्यस्तताबाट एक साझ झिकेर हामी साहित्य गफमा भुल्यौं । दसैं साहित्य विशेषमा यस पटक उपन्यासकार मनिषा गौचनसँग उहाँका लेखन, जीवन र किताबबारे हामीले कुरा गर्यौ ।

साहित्यकार र लेखकहरू केही न केही लेखिरहेका हुन्छन् । अझ् सन्दर्भ दसैंको छ भने, फुर्सदिला दिनहरूमा अनेक विचारले मनलाई मनग्यै ठेल्छहोला, रचनाकर्मले कुत्कुत्याउँछहोला । त्यहिभएर हमीले उहाँलाई पहिलो प्रश्न गर्यौं, यतिवेला के लेख्दैहुनुहुन्छ ? गौचन यतिबेला आफू जन्मे–हुर्केको ठाउँ मुस्ताङ्गको परिवेष र त्यहाँको थकाली समुदायको संस्कार–संस्कृति बारे किताब लेखनमा व्यस्त हुनुहुन्छ । उहाँको सामाजिक संजाल इन्टाग्राम तथा फेसबुकभरि नै मुस्ताङ्गको सुन्दर दृश्यहरू र कर्मठ तथा अबोध अनुहारहरू हेर्न सकिन्छ ।

गौचनको अर्को नयाँ किताब पनि चाडैँ आउने भएको छ । उहाँ भन्नुहुन्छ, ‘एउटा दूरदराजको गाउँ जहाँ शिक्षाको लागि योगदान गरेको व्यक्तिको सानो वायोग्राफी लेखेर तयार भएको छ । चाडैँ आउँछ होला । साथै मैले आफू बाँचेको ठाउँ मुस्ताङ्ग फर्केर थकाली समुदायको संस्कार संस्कृतिलाई लिएर किताब लेख्दैछु । म आफैं थकाली समुदायको भएर यस विषयमा लेख्नु चुनौतिपूर्ण नै छ । यद्यपि मैले लेख्ने जमर्को गरेको छु । अहिले दुई–तीन ओटा किताबमाथि एकै चोटी काम भइरहेको छ ।’

२०७९ चैत्रमा बजारमा आएको उहाँको पछिल्लो कृति अर्थात् कथा संग्रह ‘प्रतिवहन’मा उहाँको जीवन भोगाइका केही अंश विभिन्न कथाहरूको माध्यमबाट पढ्न पाइन्छ । लेखक स्वयमले केही कथाहरू मेरो जीवनसँग गाँसिएर आएको बताउनुहुन्छ ।

साहित्यमा ‘फूलहरुको रंग छैन’ कविता संग्रह मार्फत नेपाली साहित्यमा उपस्थिति जनाउनु भएकी गौचनको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो । यो उहाँको सर्वाधिक चर्चित उपन्यास पनि हो । यो उपन्यासको माध्यमबाट नेपाली साहित्यमा गौचनको छुट्टै र बलियो पहिचान स्थापित भयो । उहाँ भन्नुहुन्छ, ‘उक्त उपन्यासको ‘ग्ल्यामर’ यस्तो रहयो कि आज पनि मलाई वल्लीको डायरी लेख्ने लेखिका भनेर धेरैले चिन्छन् । झण्डै १६ वर्ष अगाडि पुरुष वेश्याको विषयमा लेखिएको यो नै संभवतः पहिलो उपन्यास हो । अझ महिलाले पुरुष वेश्या पात्रलाई उभ्याउनुले पनि छुट्टै रोमाञ्च थपेको थियो नै । त्यस्तै २०७० मा ‘ह्वाइट केन’ अर्थात सेतो छडी उपन्यास प्रकाशित भएको थियो । ह्वाइट केनले लेखिकालाई साहित्यक्षेत्रमा स्थापित गरायो । यी दुबै उपन्यास सशक्त छन् ।

उपन्यासको बोलबाला रहेको समयमा लेखिकाले चौथो कृतिको रूपमा कथा संग्रह लिएर आउनुभयो, के यो जोखिम होइन ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘उपन्यास पनि त एउटा लामो कथा हो । मेरो कथाहरू पहिले पनि प्रकाशित भएको छ । संग्रहका कतिपय कथाहरू मेरो पूर्व प्रकाशित कथा नै हो । कथाहरू लेख्दैपनि थिए । इमान्दारिताको साथ भन्नुपर्दा कथा संग्रह निकाल्दा मलाई रिस्क लिएको जस्तो लाागेको छैन । बरु उपन्यास लेख्दा मैले विषयवस्तुको हिसाबले रिस्क लिएकै हो ।’

हुनपनि एउटी महिला लेखकले पुरुष वेश्याजस्तो पात्र र विषयलाई उठाउनु नै ठूलो जोखिम हो । उपन्यासमा एउटा पुरुषले परिवार पाल्नका लागि गर्ने दुख र संघर्ष छ । विदेशमा भएका श्रीमानको चीरप्रतीक्षा गर्ने श्रीमतीको वेदना र छटपटी छ । एउटी आमाको उदासिनताको कथा छ भने श्रीमानको विदेशी कमाइमाथि मौज उडाउने मनमौजी श्रीमतीहरूको कथा पनि हो, वल्लीको डायरी । उपन्यासकार गौचन भन्नुहुन्छ, ‘वल्लीको डायरीमा थुप्रै कुराहरू छन् । महिलामात्रै किन पुरुष पनि वेश्या हुन्छ । हाम्रो समाजमा पुरुष वेश्यापनि छ भन्ने देखाउन नै यो उपन्यास लेखिएको हो । यद्यपि उपन्यास प्रकाशित भएपछि यो खालको चर्चा होला, साहित्य क्षेत्रमा यसरी चिनिने छुजस्तो लागेको थिएन ।’

उपन्यासमा अहिलेसम्म जमिरहनुभएकी गौचन लामो अन्तरालपछि अचानक कथा संग्रह लिएर आउनु भयो । एक समय थियो जतिबेला कथाकै बोलबाला थियो । गोबिन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, परशु प्रधान, माया ठकुरीजस्ता उम्दा कथाकारको कथाहरूले पाठको मनमा वर्षौं राज गरेको थियो तर पछिल्लो समय कथाभन्दा पनि उपन्यास पढ्ने ट्रेन्ड बढ्दो छ । यस्तोमा गौचनले आफ्नो कथा संग्रहको नाम प्रतिवहन अर्थात धाराको विरुद्धजस्तै उभिनुभयो । उहाँ भन्नुहुन्छ, ‘उन्यासको क्रेज रहेपनि कथाको ओज कहिल्यै समाप्त हुन्न । उपन्यास पनि त लामो कथा नै त हो नि । कथा लेख्नुको आनन्द छुट्टै छ । लेखक भएर मैले २१ वटा पात्रहरुको जीवन बाँचेको छु यसको मजा पनि फेरि छुट्टै छ ।

भाष्वत पात्रबारे लेखिका के भन्नुहुन्छ
कथा संग्रह प्रतिवहन देखि उपन्यास ह्वाइट केनमा अपागंता भएका पात्रको जीवन, संघर्ष, अनुभूति, संवेदना–संघर्षको कथा छ । लेखिकाले यी पात्रहरूलाई न्याय गर्नुभएको छ । एक प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘मैले लमो सयमदेखि नै अपागंताको क्षेत्रमा काम गरिरहेको छु । म अझैपनि अपांगता भएका व्यक्ति, भाइबहिनी र साथीहरूसंग भेटिरहेको हुन्छु । मैले संगत गरेका धेरैजना छन् जोसँग भएको गुण र क्षमतालाई, मैले अरुलाई पनि चिनाउनु पर्र्छ भन्ने लागेर नै मेरा किताबमा ती पात्र र कथाहरू आएका हुन् । ह्वाइट केनमा मेरो एउटा साथीको कथा छ । शुरुमा मैले उनलाई भेट्दा म पनि प्रभावित भएकै हो । त्यही झिल्कोबाट ह्वाइट केन जन्मेको हो ।’

ह्वाइट केनकै प्रमुख पात्र भाष्वतको कुरा गर्दा उनी जन्मसिद्ध दृष्टिविहीन हुन् तर उनलाई एकदमै यौन स्वच्छन्द पात्रको रूपमा उभ्याइएको छ । आफ्नो सम्पर्कमा आउने प्रायः महिलासँग उनको यौनिक आर्कषण छ । यस विषयमा गौचन भन्नुहुन्छ, ‘यो प्रश्न मैले खेप्दै आइरहेको छु, सबै दृष्टिविहीन त्यस्तो हुन्छ भन्न खोजेको चाहिँ होइन । दृष्टिविहीन केही पुरुषमा ‘स्पर्श’ ले त्यस्तो भूमिका खेल्छ । जहिलेपनि छुनुपर्ने हुन्छ । एउटा उन्मत्त जवान केटामान्छेले उसको सम्पर्कमा आउने महिलालाई छोइरहनु पर्यो, त्यसलेपनि यौनभाव जगाएको हो । भाष्वतको सम्पर्कमा आएका केटीमान्छे उसँग आकर्षित भएको हो, त्यहाँ केटीको पनि इच्छा देखिएको छ । भाष्वत हिरो हो, उसँग आकर्षित हुनु स्वभाविक हो ।’

‘ठूलोबाबा’ चाहिँ मेरो जिन्दगीकै कथा
कथा संग्रह प्रतिवहनका पात्रहरूको विषयमा गौचन भन्नुहुन्छ, ‘प्रतिवहनमा पनि केही पात्रहरू त्यस्ता आएका छन्, जसलाई समाजले गरेको व्यवहार र त्यसको परिणामले उत्पन्न हुने परिस्थितिको कथा छ । मेरा रचनाहरू पढेर अपागंता भएका व्यक्तिप्रतिको व्यवहारमा केही परिवर्तन आउँछ कि भन्ने मेरो अपेक्षा हो । यो कथा संग्रहमा दुई तीनवटा कथा मेरो जीवनसँग जोडिएको छ । संग्रहको ‘ठूलोबाबा’ चाहिँ खासमा मेरो जिन्दगीकै कथा म भन्छु तर यसमा काल्पनीक जलपपनि छ । मेरो ठूलोबाबा अहिले हुनुहुन्न तर उहाँलाई सम्झेर लेखेको कथा हो यो ।’

प्रतिवहनका प्रायः कथाहरू एक प्रकारले मथिङ्गल घुमाउने खालको छ । यसमा ‘पाठेघर’ कथामा पाठेघर फ्यालेपछि एउटी महिलाले भोग्ने कुरा र उनको पतिको अवचेतनमा आएको परिवर्तनबारे गजबको कथा र प्रस्तुति छ । भने ‘क्याप्सुल’ एउटी महिलाले आफूभन्दा कम उमेरका केटाहरूलाई क्याप्सुलजस्तै प्रयोग गर्ने विषयलाई पस्केको छ । कथासंग्रका कथाहरू पनि गौचनका उपन्यासका पात्रहरूजस्तै फरक तर सशक्त छन् ।

पात्रहरू झिल्का बलेजस्तै आउँछ
पात्रहरूको चरित्र चित्रण वास्तवमा गौचनको विवशेषता हो । पात्रहरूको परिकल्पना महत्वपूर्ण कुरा हो । गौचन भन्नुहुन्छ, ‘चरित्र निर्माण गर्दा केही न केही कुराले छोएको हुन्छ । एउटा झिल्का बलेको हुन्छ । कोही मान्छे भेटेको हुन्छु उनको बाँचेको जिन्दगी, उनको बोलेको कुरा र उनको व्यवहारले क्लिक गरेपछि पात्रको रूपमा समेटिन्छ । कसैको हाउभाउलेपनि मलाई लेख्न प्रेरित गर्छ ।’

आफ्नो लेखनीले सबैलाई प्रभावित गर्दै आउनुभएकी मनिषा गौचनलाई भने नेपाली साहित्यमा वानिरा गीरिको लेखनीले सधैं प्रभावित गर्छ । उहाँ भन्नुहुन्छ, ‘वानिरा गीरिलाई पढ्दा, उहाँको प्रस्तुति, चरित्र चित्रण, शब्दहरूको चयन हेर्दा लाग्यो मैले उहाँजस्तो कहिले लेख्न सकुँला । असाध्यै राम्रो शैली–शिल्प, भावलाई प्रस्तुत गर्ने तरिका छ ।’

विश्वसाहित्य माझ नेपाली साहित्य कहाँ छ भन्ने एक प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘हामीले लेखेको र हाम्रा अग्रज र राम्रा साहित्यकारहरूको रचना विदेशी पाठकले सजिलै पढ्न पाएका छैनन् । धेरै संघर्ष गर्नुपर्छ । थोरै भए पनि बलियो साहित्य लेखिएको छ । विश्वसाहित्यसँग प्रतिस्पर्धा गर्न बलियो प्रकाशकको हात हुन्छ, अनुवादक र सरकारको योगदान हुन्छ । तर सरकारको सहयोग केही छैन उल्टो किताबमा कर लगाउने खालको प्रवृत्ति छ । त्यसले गर्दा के भयो भने न त राम्रो खालको किताब पढ्नमा पहुँच छ न हाम्रो साहित्य विदेशी बजारमा पर्याउन सकेका छौं । विदेशमा भएका साथीभाईहरूले मेरो किताब पढ्न खोजेका छन् तर पठाउने माध्यम नै छैन । हाम्रो प्रकाशन संस्थाहरू विस्तारै प्राविधिक विस्तारमा छन् ।


विजेता चौधरी