कविता-हिन्दी

गिलासमा भर्खर
केतलीबाट पोखिएको चिया
मसँग आफ्नो अधर जुधाउन
लालायित छ
ठ्याक्कै
चियाको गिलासभन्दा
केही इन्च अगाडि
सोह्र सिँगार गरेर बसेकी तिमीमाथि
अघि नै हो मेरा आँखाहरू
फूलमा भमरा टाँसिएजस्तो
चपक्क टाँस्सिएका
म दोधारमा छु
तिमीलाई बिर्सेर
चियासँगै हराइदिऊँ कि
चिया बिर्सेर तिमीसँग
चियाको चुस्की लिँदै
म तिम्रो गफमा हराउँछु
अरे
फेरि अर्को दोधार !
चिया गुलियो कि तिम्रा कुराहरू
यी दोधारैदोधारमा
गिलास रित्तिन्छ
अनि छुट्टिएपछि
म बाटाभरि सोचिरहन्छु
तिमी र मबीच
यो मीठो चिया नभएको भए
हाम्रो सम्बन्ध कस्तो हुन्थ्यो होला ?