• २०८२ मंसिर ५, शुक्रबार

सआदत हसन मन्टोः जसले भने, ‘मेरो रचना होइन, जमाना नाकाविलेले बर्दाश्त हो’

उर्दूका थुप्रै किताब यस्ता छन् जसमाथि विभिन्न आरोपमा मुद्दा चल्यो । ती किताबहरू जफत गरियो र केही लेखकलाई कैद र जुर्माना भर्नेजस्तो समस्यासमेत झेल्नुपर्यो । ती किताबहरूमध्ये, डिप्टी नज़र अहमदको ‘उम्महात–उल–उम्मा’, मुंशी प्रेमचंदको ’ सोज़–ए–वतन’ र प्रगतिशील कथा लेखकहरूको संग्रह ‘अंगारे’ सबैभन्दा माथि छ । तर सआदत हसन मन्टो भने ती सबै लेखकभन्दा माथि छन् । पाकिस्तान गठन हुनुभन्दा अगाडि, मन्टोको तीनवटा कथा, ‘काली सलवार’, ‘धुंआ’ र ‘बू’ माथि अश्लीलता को आरोपमा मुद्दा चलाइएको थियो । ती मुद्दाहरूमा सजाय पनि भयो यद्यपि प्रत्येक पटक अपिल गरेपछि अदालतले मन्टो र उनको कथाहरूलाई अश्लीलताको आरोपबाट बरी पनि गरिदिए ।

पाकिस्तान बनेपछि सआदत हसन मन्टोले जुन पहिलो कथा लेखे त्यसको नाम हो ‘ठंडा गोश्त’ । यो केवल पाकिस्तानको स्थापनापछि लेखिएको उनको पहिलो कथामात्र होइन, आफ्नो विशेष प्रकृतिको संदर्भमा पनि यसको विशेष महत्व छ । मन्टोको उक्त प्रसिद्ध कथा लाहौरको साहित्यिक मासिक ‘जावेद’ मा मार्च १९४९ को संस्करणमा प्रकाशित भएको थियो । दैनिक ‘इंकलाब’ मा प्रकाशित एक ख़बर अनुसार, ३० मार्चको दिन पत्रिकाको कार्यालयमा छापा मारियो र पत्रिकाका सबै प्रतिलाई ज़फत गरियो । ख़बरमा उल्लेख भएअनुसार छापा मार्ने कारण ‘ठंडा गोश्त’ को प्रकाशन थियो । उक्त खबरमा यस कुरामाथि पनि आश्चर्य व्यक्त गरिएको थियो कि सो पत्रिका एक दिन पहलेमात्रै बजारमा आएको थियो । ७ मई, १९४९ मा पंजाब सरकारको प्रेस ब्रांचले सआदत हसन मन्टो बाहेक ‘जावेद’ का संपादक आरिफ अब्दुल मतीन र प्रकाशक नसीर अनवर विरुद्ध ठंडा गोश्त प्रकाशित गर्ने कारण देखाउँदै मुद्दा दायर गर्यो ।

मन्टोले ‘ठंडा गोश्त’माथि चलेको मुद्दाको पूरा विवरण सोही नाम (ठंडा गोश्त) कथा संग्रहको प्रस्तावनामा ‘ज़हमत मेहर दरखशा’ को नामबाट लेखेका छन् । जसमा उनी लेख्छन्, “जब मैले भारतको नागरिकता छोडेर जनवरी १९४८ मा लाहौर आएँ, अनि मेरो मानसिक स्थिति तीन महीनासम्म अजीब रहयो । म कहाँ हुँ ? भनेर बुझ्न सकेकै थिइनँ, भारतमा हुँ कि पाकिस्तानमा ? दिमागमा पटक पटक उलझन पैदा गर्ने प्रश्नहरू गुञ्जायमान हुन्थे, के पाकिस्तानको साहित्य फरक होला ? यदि हो, भने कस्तो होला ?” उनी लेख्छन्, “ती सबैकुरा जो अविभाजित भारतमा लेखिएको छ, त्यसको मालिक को हो ? के यसको पनि बटवारा(विभाजन) गरिनेछ ? के भारतीय र पाकिस्तानी आधारभूत समस्याहरू एकजस्तै छैनन् ? के हाम्रो देश धार्मिक देश हो ? हामी जस्तोसुकै अवस्थामा पनि देशको वफादार रहन्छौं, तर के हामीलाई सरकारको आलोचना गर्ने स्वीकृति हुँदैन ? के आजादीपछि, यहाँको हालात गोराहरूको सरकारको हालातभन्दा फरक होला ?”

भारत विभाजनपछि मनमा उठेका प्रश्न
त्यसपछि मंटो, फैज़, चिराग हसन हसरत, अहमद नदीम कसमी र साहिर लुधियानवीसँग भेटे तर कसैले पनि उनको प्रश्नको जवाफ दिन सकेनन् । त्यसपछि मंटोले हल्का–साधारण लेखहरू लेख्न प्रारम्भ गरे जो ‘इमरोज’ मा प्रकाशित भएको थियो । उक्त लेखहरूको संग्रह पछि ‘तल्ख, तरुश और शीरीं’ शीर्षकमा प्रकाशित भएको थियो । त्यसै समय अहमद नदीम कासमीले लाहौरबाट ‘नुकश’ पत्रिकाको प्रकाशन शुरू गर्यो । कासमीले भनेपछि नै मन्टोले पाकिस्तानमा आफ्नो पहिलो कथा ‘ठंडा गोश्त’ लेखे । मंटो लेख्छन्, ‘कसमी साहबले सो कथा मेरो अगाडि नै पढ्नुभयो, कथा समाप्त गरेपछि उहाँले क्षमायाचना गर्दै भन्नुभयो, “मंटो साहब, क्षमा गुर्नहोला कथा एकदमै राम्रो छ, तर नुकश का लागि धेरै ‘गरम’ अर्थात् बोल्ड छ” केही दिनपछि कासमीको अनुरोधमा मंटोले अर्को एउटा कथा लेखे, जसको शीर्षक थियो ‘खोल दो’ । उक्त कथा नुकशमा प्रकाशित भएको थियो तर त्यसपछि सरकारले ६ महिनाका लागि नुकश को प्रकाशन बन्द गरिदिए । समाचारपत्रहरूमा सरकारको उक्त कदमको विरोध भयो, तर सरकारी आदेश परिवर्तन भएन ।

जगदीश चन्द्र वाधवनले आफ्नो पुस्तक ‘मंटो नामा’ मा लेखेकाछन्, ‘अहमद नदीम कासमीले ठंडा गोश्त कथा छाप्न मनाही गरेपछि ‘अदब लतीफ’ पत्रिकाका संपादक चौधरी बरकत अलीलाई पनि सो कथा दिइयो तर प्रेसले अस्वीकार गरेपछि त्यहाँ पनि छापिएन । त्यसपछि मंटोले उक्त कथा मुमताज शीरीं लाई पठाए, उनले पनि कथा त मन पराए तर प्रकाशन गर्न मानेनन् । त्यसपछि आरिफ अब्दुल मतीनले मंटोेसँग जिद्दी गरेर ‘ठंडा गोश्त’ लाई आफ्नो पत्रिका जावेदका लागि मागे । त्यस समय सो कथा ‘सवेरा’ का मालिक चौधरी नजर अहमदसँग थियो, त्यहिभएर मंटोले उनको नाममा एक रुक्का (पत्र) लेखेर दिए, “यी ‘जावेद’ वाला आफ्नो पत्रिका संभवतः जफ्त गराउन चाहेकाछन्, कृपया उनलाई ‘ठंडा गोश्त’ को मस्यौदा दिनूहोला ।” यसरी आरिफ अब्दुल मतीनले उक्त कथा आफ्नो साहित्यिक पत्रिका जावेद को मार्च १९४९ को संस्करणमा प्रकाशित गरे ।

मन्टोले लेखेकाछन्, ‘एक महिनापछि जावेदकोमा छापा पर्यो, जबकि इंकलाबमा छापिएको एक खबरअनुसार जावेदको प्रकाशनको भोलिपल्ट नै त्यो छापा परेको थियो । यद्यपि मंटोको बयान सही लाग्छ, किनभने त्यतिबेलासम्म जावेदको अंक लाहौर र लाहौर बाहिर वितरित भइसकेको थियो । जावेदको कार्यालयमाथि प्रेस ब्रांचको इंचार्ज चौधरी मोहम्मद हुसैनको इशारामा छापा मारिएको थियो । मामिला प्रेस एडवाइजरी बोर्डमा पेश भयो, जसमा पाकिस्तान टाइम्सका संपादक फैज़ अहमद फैज़ थिए भने बोर्डमा सिविल एंड मिलिटरी गजटका एफडब्ल्यू बोस्टन, ज़मीन्दारका मौलाना अख्तर अली, नवा–ए–वक़्तका हमीद निजमी, सफीनाका वकार अंबालवी र जदीद निजमका अमीनुद्दीन सहराई शामेल थिए बोर्डमा ठंढा गोश्तमाथि निकै बहस चले, फज अहमदले कथालाई गैर–अश्लील भने तर मौलाना अख्तर अली, वकार अंबालवी र हमीद निजमीले यसलाई ‘अभिशप्त’ भनेर व्याख्या गरे । त्यसपछि उक्त मामिलालाई अदालतमाथि छाडिदिउ भनेर आदेश भयो ।

१४ जनाको गवाही लिइयो
केही दिनपछि नै, मंटो र जावेद पत्रिकाका प्रकाशक नसीर अनवर तथा संपादक, आरिफ अब्दुल मतीनलाई पक्राउ गरियो । मंटोको ज़मानत उनका एक साथी शेख सलीमले दिएका थिए । प्रख्यात शायर र कनूनका माहिर मियां तसद्दुक हुसैन खालिदले स्वयम उक्त मुद्दामाथि पैरवी गर्ने आग्रह गरे जसलाई मंटोले हार्दिकताकासाथ स्वीकार गरे । मुद्दा मजिस्ट्रेट एएम सईदको अदालतमा पेश भयो, अभियोजन पक्षको तर्फबाट मोहम्मद याकूब, मोहम्मद तुफैल हलीम, जिया–उद–दीन अहमद र केही अन्य व्यक्ति पेश गरियो । उक्त मामिलाको पक्षमा सफाई दिनका लागि ३० गवाहको सूची पेश गरियो, अनि मजिस्ट्रेटले भने, “म यति ठूलो भीडलाई बोलाउन सक्दिनँ ।”

निकै विचार–विमर्शपछि १४ जना गवाहीका लागि बोलाइने कुरामा सहमति भयो, जसमध्ये कुल सात गवाह अदालतमा पेश भए । ती बयान दिनेहरूमा सैयद आबिद अली आबिद, अहमद सईद, डाक्टर खलीफा अब्दुल हकीम, डाक्टर सईदुल्लाह, फैज़ अहमद फैज़, सूफी गुलाम मुस्तफा तबस्सुम र डाक्टर आई लतीफले मंटोको पक्षमा बयान दर्ज गराए । भने अदालतको तर्फबाट चार गवाह, ताजवर नजीबाबादी, आगा शोरिश कश्मीरी, अबू सईद बज्मी र मोहम्मद दीन तासीरले बयान दिए । पहिले तीन बयानकर्ताले कथालाई “अपमानजनक, फोहरी र आपत्तिजनक“ भने, जबकि डाक्टर तासीरको भनाइअनुसार उक्त कथा साहित्यिक हिसाबले नराम्रोछ, तर साहित्यिक छ । उनको भनाइ अनुसार, केही यस्ता शब्द प्रयोगभएका छन् जसलाई अश्लील भन्न सकिन्छ तर म अश्लील यसकारणले भन्दिनँ किनभने अश्लील शब्दको परिभाषाबारे म स्वयम पनि स्पष्ट छैन । यी गवाहहरूको बयानपछि मंटोले आफ्नो लिखित बयान दर्ज गराएका थिए ।

जगदीश चंद्र वाधवन लेख्छन्, आखिर १६ जनवरी १९५० मा अदालतले आरोपिहरूलाई अश्लील कथा लेख्ने र प्रकाशित गर्ने आरोपमा प्रत्येकमाथि तीन सय रुपैयाँ जुर्माना लगायो र मंटोलाई तीन महिना कदको सजय सुनाइयो । जबकि नसीर अनवर र आरिफ अब्दुल मतीनलाई २१–२१ दिनको कठोर श्रमको सजाय सुनाइयो । तर आरोपिहरूले उक्त फसलाविरुद्ध सत्र न्यायालयमा अपील गरे जहाँ मजिस्ट्रेट इनायतुल्ला खानले आरोपिहरूको अपील स्वीकार गर्दै, जिल्ला अदालतको फसलालाई खारेज गरिदियो र तीनजना आरोपिहरूलाई बाइज्जत बरी गर्दै, उनीहरूद्वारा बुझाइएको जुर्माना फिर्ता गर्ने आदेश दियो ।

यद्यपि सरकारले सो फसला विरुद्ध उच्च न्यायालयमा अपील दायर गर्यो, लाहौर हाई कोर्टका मुख्य न्यायाधीश मोहम्मद मुनीर र न्यायमूर्ति मोहम्मद जानले अपीलमाथि सुनवाई गरे । उनीहरूले ८ अप्रिल, १९५२ मा आफ्नो फैसला सुनाए । उक्त फसला निकै उचित र वजनदार हुनुकासाथै अश्लीलतामाथि दिइएको यसअघिको फैसलाहरूमाथि मिलको पत्थरको हैसियत राख्छ । न्यायमूर्ति मोहम्मद मुनीरले फसलामा लेखे, ‘ठंडा गोश्त को रूपरेखा हानिकारक छैन, तर विवरण र विरोधाभासी कथन अश्लील छ । त्यहिभएर सआदत हसन मंटो र उनको साथीलाई तीन सय रूपैयाँ प्रति व्यक्ति जुर्माना वा जुर्माना दिन नसक्ने अवस्थामा एक महिनाको कडा सजय सुनाइन्छ ।’ यसरी, पाकिस्तानका साहित्यिक र न्यायिक इतिहासकै एक अनौठो मुद्दा समाप्त भएको थियो ।

मृत्युपछि समाप्त भएको अर्को एक मुद्दा
‘ठंडा गोश्त’ को मामिला समाप्त भएको केही महिनाभित्रै मंटोको एक अर्को कथा ’ऊपर नीचे और दरमियान’ माथि पनि अश्लीलताको मुद्दा पर्यो । उक्त कथा पहिले लाहौरको पत्रिका ‘एहसान’ मा प्रकाशित भयो । तर जब सोही कथा कराचीको एक पत्रिका, ‘पयाम–ए–मशरिक’ मा प्रकाशित भयो अनि स्थानीय सरकारले त्यसविरुद्ध मंटोलाई अदालतमा उपस्थित गराए । उक्त मामिला मजिस्ट्रेट मेहंदी अली सिद्दीकीको अदालतमा पेश भयो, जसले मात्र केही तारिखको सुनुवाइपछि नै मंटोमाथि मात्र २५ रुपैयाँको जुर्माना लगायो । जुर्माना तुरुन्त भरेर उक्त अंतिम मुद्दाबाट मंटोलाई बरि गरियो । बलराज मेनराले आफ्नो किताब दस्तावेजमा लेख्छन् “मंटोको पछिल्लो मुद्दामाथि फैसला गर्ने न्यायाधीश मेहदी अली सिद्दीकी मंटोका प्रशंसक थिए । फैसला सुनाएको भोलिपल्ट नै उनले मंटोलाई कफी खानका लागि आमंत्रित गरे र सोही दौरान उनले मन्टोलाई भने, “म तपाईंलाई यस दौरको सबभन्दा महान कथाकार मान्छु । तपाईंसँग भेट्ने एउटा उद्देश्य यो पनि थियो कि तपाईं मनमा यस्तो विचार नराख्नुहोला कि म तपाईको प्रशंसक होइन ।’

मंटो भन्छन्, “म निकै हैरान भएँ, तपाईं मेरो फैन हो, भनेपछि त जनाब ! तपाईंले म माथि जुर्माना किन लगाउनुभयो ?” उनी मुस्काउदै भनेका थिए, “यसको जवाफ म तपाईंलाई एक वर्षपछि दिन्छु ।” एक वर्षपछि, मेहंदी अली सिद्दीकीले उक्त मुकदमाको विवरण ‘पांचवा मुकदमा’ शीर्षकबाट एक साहित्यिक पत्रिका, ’अफकार’ मा प्रकाशित गराए, तर त्यतिबेलासम्म मंटोको मृत्यु भइसकेको थियो । मेहन्दी अली सिद्दीकीले मुद्दाको पूरा विवरण आफ्नो आत्मकथा ‘बिला कमो कास्त’ मा पनि लेखेका छन् । उनले उक्त लेखमा लेखेका थिए, कि “१९५४ को अत्यमा मैले जानकारी पाएँ कि मंटोले लेखहरूको एक नयाँ संग्रह ’ऊपर, नीचे और दरमियान’ प्रकाशित गरेका छन् । मलाई आश्चर्य लाग्यो र खुशी पनि जब केही व्यक्तिले मलाई भनेँ कि मंटोले उक्त संग्रहलाई मेरो नाम दिएका छन् । उनको माया र विश्वासको योभन्दा राम्रो उदाहरण पाउन गाहे छ । म एक अज्ञातजस्तै व्यक्ति यति कुराले खुशी छु कि संभवतः यसरी मेरो नाम केही दिनको लागि साहित्य जगतमा रहनेछ ।”

बीबीसी हिन्दीबाट विजेता चौधरीले गरेको भावानुवाद

https://www.bbc.com/hindi/international-57022087