प्यालेस्टाइनको कविता

काठमाडौँ ।
निबन्धकार टीकाराम ढकालद्वारा लिखित ’कालीगण्डकी सभ्यता’ कृति सार्वजनिक गरिएको छ । पौराणिक तथा ऐतिहासिक पृष्ठभूमिका निबन्धहरूको उक्त सङ्ग्रह मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमालोकार्पण भएको हो । इतिहासविद् प्राध्यापक दिनेशराज पन्तको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व निबन्धकार तथा समालोचक गोपी मैनाली रहेका थिए । अन्य आमन्त्रितहरूमा प्रा.डा.भागवत ढकाल, ठाकुर शर्मा भण्डारी, डा.दुविनन्दन ढकाल, प्रा.डा.श्रीधर गौतम, सूबसेन ओली तथा युवराज भुसाल लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख आमन्त्रित व्यक्तित्व समालोचक तथा निबन्धकार गोपी मैनालीले आख्यानीकरण गरिएका कृतिहरू धेरै छन् तर कालीगण्डकी सभ्यताको शीर्षकमा लेखिएको यो पहिलो पुस्तक भएको बताए। पुस्तकमा पाणिणीले भनेका कुराहरू वेदव्यासले भनेका कुराहरू छन्, जनश्रुति र किंवदन्तीका कुराहरू छन् जसलाई ढकालले नयाँ पुस्तालाई हस्तान्तरण गरेका छन् भन्दै प्रमुख व्यक्तित्व मैनालीले कालीगण्डकी क्षेत्र ज्ञानको क्षेत्र, विद्वताको क्षेत्र र पर्यटनको क्षेत्र भनेर उजागर गरेको बताए। पुस्तकका लेखक ढकाल भए पनि नेपथ्यका नायक ठाकुर शर्मा भण्डारी हुन् भन्दै मैनालीले ढकालले कालीगण्डकीको सभ्यतालाई अक्षरमा अभिलेखिकरण गरेर ठूलो काम गरेको बताए ।
सभापतिको आसनबाट बोल्दै इतिहासविद् प्राध्यापक दिनेश राज पन्तले पुस्तकबाट भन्दा पनि लेखकको वक्तव्यबाट आफू प्रभावित भएको बताए। पुस्तकमा सबै कुरा आएका छन् भन्दै सभापति पन्तले पक्षाघात भएर अस्वस्थ समयमा पनि यस्तो कृति आउनु सानो कुरा नभएको बताए। गौरव गाउनु र इतिहास लेख्नु फरक कुरा हो भन्ने उनको तर्क थियो । आफ्नो लेखकीय मन्तव्यमा निबन्धकार टीकाराम ढकालले अबोध यात्रीले शुरू गरेको यात्रा हो यो भन्दै आफू लेखक नभई सङ्कलक मात्र भएको बताए।त्रिवेणीदेखि कोरालासम्म आफूले चार पटक पैदल यात्रा गरेको र यात्राको क्रममा देखे सुनेको, भोगेको अनुभव र अनुभूतिलाई प्रस्तुत गरेको बताए ।
मन्तव्यका क्रममा उनले स्वामी प्रपन्नाचार्य तथा योगी नरहरिनाथको पनि स्मरण गरेका थिए। मन्तव्यमा उनले लोकार्पित पुस्तक शतप्रतिशत अर्गानिक रहेको कुरामा जोड दिएका थिए । लोकार्पित पुस्तकमाथि समालोचकीय मन्तव्य राख्दै प्रा.डा. भागवत ढकालले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक कुराको खोजीलाई प्रस्तुत गरेर एक उत्कृष्ट कृति दिएको बताए। सिन्धुघाटीको सभ्यता जस्तै अन्य मुलुकका सभ्यताहरूको उदाहरण दिंदै उनले कालीगण्डकी सभ्यता पूरै नेपालको सभ्यता भएको पनि बताए। लोकार्पित पुस्तकमा आत्मपरक निबन्धहरू रहेको बताउँदै प्रा.डा.ढकालले पौराणिक पात्र र घटनाहरू,जीवन पद्धतिका कुराहरू पुस्तकमा सरल ढङ्गबाट प्रस्तुत गरिएको बताए ।
पुस्तकका भूमिका लेखक समेत रहेका समालोचक ठाकुर शर्मा भण्डारीले लेखक ढकाललाई संस्मरण लेख्न आफूले बरोबर घच्घचाएकोमा कृति प्रकाशनमा आफूलाई नै अगाडि सारेको बताउँदै लेखक ढकालको यो पहिलो कृति भए पनि कृतिमा बहुल विषयवस्तु समेटिएको प्रष्ट्याए। समाजसेवी तथा राजनीतिज्ञ ढकाल आजदेखि निबन्धकार तथा साहित्यकार भएको बताउँदै समालोचक ठाकुर शर्मा भण्डारीले प्रस्तुत कृतिमा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको सभ्यता उल्लेख रहेको बताए। समालोचक भण्डारीले भूमिकाको अन्तमा आफ्नो सारांश कविता पनि वाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा समालोचक युवराज मैनाली, युवराज भुसाल, कृष्णचन्द्र शर्मा भण्डारी, प्रा.डा.श्रीधर गौतम, तिलकराम पौडेल तथा सूबसेन ओलीले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्यका क्रममा समालोचक युवराज मैनालीले कालिदास नेपालमै जन्मिएका रहेछन् भन्दै चारधाम आदि धार्मिक स्थलहरू नेपालमै रहेको कुरा पुस्तकमा उल्लेख भएको बताए। लोकार्पित पुस्तक एक अनुसन्धानमूलक कृति रहेको उनको भनाइ थियो । सङ्गीता ढकालको आयोजना तथा नेशनल ब्लुमिङ्ग फ्लावर एकेडेमी, रूद्रेश्वर चोक, बुढानीलकण्ठको सह–आयोजनामा कार्यक्रम सञ्चालन भएको थियोे।
सङ्गिता ढकाल लेखक टीकाराम ढकालकी धर्मपत्नी हुन् ।
डा.दुविनन्दन ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेशनल ब्लुमिङ्ग फ्लावर एकेडेमीकी प्रिन्सिपल शर्मिला कुँवरले धन्यवाद ज्ञापन गरेकी थिइन्।
कार्यक्रममा लेखकका घरपरिवारका सदस्यहरू, नेपाल सरकारका पूर्व कर्मचारीहरू तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि निर्मलरमण पराजुलीले गरेका थिए ।