नेपाली साहित्य

काठमाडौँँ ।
वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित “खेलाडीः संघर्षदेखि सफलतासम्म” पुस्तक राजधानीमा एक भव्य समारोहबीच विमोचन गरिएको छ ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको हातबाट उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा मन्त्री सिंहले पुस्तक भावी पुस्तालाई प्रेरणा दिने एउटा ऐतिहासिक दस्तावेज हुने विश्वास व्यक्त गरे । उनले पुस्तकलाई खेलकुद पत्रकारिता र राष्ट्रिय चेतनाको अद्वितीय नमुना भन्दै प्रशंसा गरे । यसै अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पनि पुस्तकले अरूलाई लेखनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे । “खेलाडीका समाचारहरू पत्रपत्रिकामा आए पनि पुस्तकको रूपमा संग्रहित हुन सकेका थिएनन्, यो पुस्तिकाले त्यो अभाव पूर्ति गरेको छ,” उनले भने ।
पुस्तकमा नेपालका ७७ जना विशिष्ट खेलाडीहरूको प्रेरणादायी यात्रा समेटिएको छ । जसमा नेपालका पहिलो ओलम्पिक पदक विजेता जितबहादुर केसीदेखि पेरिस पारालिम्पिक २०२४ की कांस्य पदक विजेता पलेसा गोवद्र्धनसम्मका संघर्ष र सफलताका कथा समावेश छन् । थापाले दुई दशकभन्दा बढी पत्रकारिता जीवनमा लेखिएका सामग्रीहरूलाई संकलन गरेर नेपाली खेलकुदमा योगदान पुर्याएकाहरुको कहानीलाई दस्तावेजीकरण गरेका हुन् ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल र्यायाफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका विशिष्ट व्यक्तिहरूले खेलकुदको इतिहास र सम्झनालाई जोगाएर राख्न पुस्तकले महत्वपूर्ण योगदान पुरयाउने धारणा राखे । उनीहरूले यस्ता प्रयासहरूले मात्र खेलाडीका संघर्षहरू आममानिसको मनमस्तिष्कमा गहिरो प्रभाव पार्ने बताए ।
यो पुस्तक केवल एक पत्रकारको प्रयास मात्र होइन, बरु खेलकुद पत्रकारिताले खेलाडीका संवेदनशील कथाहरूलाई गम्भीरता साथ लिने र तिनलाई दीर्घकालीन रूपमा सम्झन लायक बनाउने दिशामा उठाइएको महत्वपूर्ण पाइला हो । लेखक थापाले थालनी गरेको यो दस्तावेजी पहलले अब खेलकुदमा लाग्ने भावी पुस्तालाई थप प्रेरणा र मार्गदर्शन दिनेछ ।