समाचार

काठमाडौँ ।
वरिष्ठ कवि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ शुक्रबार लोकार्पण भएको छ। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बिचमा कवि लम्साल, पूर्व मन्त्रीहरू गगन थापा, विद्या भट्टराई र सुदन किराँती, सांसद मनिष झा तथा समीक्षक राजकुमार बानियाँले संयुक्त रूपमा ‘कल्प’ महाकाव्य लोकार्पण गरेका हुन् ।
लम्सालको कर्ण, धरा र अग्निपछिको यो चौथो महाकाव्य हो । अग्निले २०७८ को मदन पुरस्कार जितेको थियो । तीन वटा चर्चित महाकाव्यका लेखक कवि लम्सालको नयाँ महाकाव्य कल्पलाई पाठकले व्यग्र प्रतीक्षाका साथ हेरेका थिए। प्रकाशन पूर्व नै सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा छाएको कल्पको चर्चाले आफूलाई उत्साहित बनाएको कवि लम्सालले बताए ।
महाकाव्य लेख्नकै लागि रेडियो नेपालको जागिर छोडेर लेखन यात्रामा निस्किएको बताउँदै लम्सालले कल्पको लेखन यात्रामा आफ्नो मस्तिष्क निचोरिएको टिप्पणी गरे । लम्साल समकालीन कवि तथा लेखकका तुलनामा बढी अध्ययनशील, गम्भीर र पूर्वीय दर्शनका गहिरो जानकार हुन् । अघिल्ला महाकाव्यमा पूर्वीय साहित्य र इतिहासमा किनारामा पारिएका पात्रका कविता कोरेका लम्सालले कल्पमा वैश्विक चेतना र दृष्टि भरेका छन् ।
लोकार्पण समारोहमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका पूर्व मन्त्री थापाले लम्सालको प्रतिस्पर्धा लम्सालसँग मात्रै रहेको टिप्पणी गरे । ‘नवराज लम्साल २०६२ को आन्दोलनयताको साहित्यमा केन्द्रीय भूमिकामा रहेको व्यक्तित्व हो,’ उनले भने, ‘जसले कुनै दलको झन्डा नबोके पनि कुनै पनि राजनीतिक दलका नेताभन्दा अब्बल राजनीतिक चेतना र दृष्टिकोण रहेको व्यक्ति हो ।’ त्यही चेतना कवितामार्फत देशलाई अर्पण गरिरहेको पनि उनले टिप्पणी गरे ।
एमाले नेतृ भट्टराईले लम्सालको वैचारिक धरातल निकै गहिरो रहेको बताइन्। उनले भनिन्, ‘कल्प पढेपछि कविको विश्व दृष्टि कति गहिरो छ भन्ने देखिन्छ ।’ नेकपा माओवादी केन्द्रका नेता किराँतीले लम्सालका कवितामा सीमान्तकृत जाति, आदिवासी, महिला र मधेसीको सांस्कृतिक बिम्ब र पहिचान पाइने बताए। ‘नवराज लम्साल देशको सांस्कृतिक चेतना र बहुलतालाई सम्मान गर्ने कवि हुन् । उहाँको लेखनमा सांस्कृतिक झल्को र देशको अनुहार भेटिन्छ,’ किराँतीले भने । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता झाले लम्सालले मधेसलाई समेत जुरुक्क उठाएर आफ्नो कवितामा जोड्न सक्ने कविका रूपमा लम्सालको टिप्पणी गरे।
समीक्षक राजकुमार बानियाँले विश्वका चर्चित महाकाव्यहरूको उदाहरण दिँदै नेपाली भाषामा कल्प जत्तिको काव्य लेखिनु नेपाली भाषाकै गौरव भएको बताए । ‘महाकाव्य हुनका लागि जति चिन्तन बौद्धिकता र गहिराइ चाहिन्छ, नवराज लम्सालले त्यसको सीमा पार गर्नुभएको छ,’ उनले भने ।शिखा बुक्सले प्रकाशन गरेको कल्प शुक्रबाटैदेखि नेपालका प्रमुख बजारमा विक्रिवितरण भइरहेको छ । लम्सालका चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत सङ्ग्रहसहित नौ पुस्तक प्रकाशित छन् ।