समाचार

काठमाडौ ।
उपन्यासकार तारा खत्री रोकायाद्वारा लिखित उपन्यास ‘शुक्लाम्बरा’माथि अन्तरक्रिया सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा समीक्षात्मक टिप्पणी गर्दै उपन्यासकार तथा समीक्षक अनिता कोइरालाले प्रस्तुत उपन्यासमा नारी संघर्षका कथा भरिएको बताइन् । रोकायाको यो उपन्यासले हरेक मानिसको जीवन गाथा समेटेको बताउँदै समीक्षक कोइरालाले भनिन्, “यो एकादेशको कथा होइन । यो हिजोआजकै कथा हो । सामाजिक जीवनकै कथा हो । शुक्लाम्बरा लैंगिक विभेदको पनि कथा हो ।”
समीक्षक कोइरालाले समाज के हो, सम्बन्ध के हो भन्ने विषय यस उपन्यासले उठाएको बताइन् । उनले उपन्यासमा कलात्मकताको थोरै अभाव भएको टिप्पणी गरिन् । अर्का समीक्षक भारती न्यौपानेले ‘शुक्लाम्बरा’को कथा एउटी संघर्षशील नारीको कहानी भएको बताइन् । उपन्यासमा खोटाङदेखि हुम्लासम्मको समाज भेटिने बताउँदै भारतीले कृतिकी पात्र रमाको संघर्ष र साहसको कथा बोलेको उल्लेख गरिन् । समीक्षक न्यौपानेले भनिन्, “खोटाङ र हुम्लाको संस्कृतिको विस्तृत र सुन्दर वर्ण गरेको भए उपन्यास झनै सुन्दर बन्थ्यो ।”
दुवै समीक्षकले उपन्यासमा केही रहस्यात्मक पाटो रहेको चर्चा गर्दै त्यो उपन्यास पढेर मात्र थाहा पाइने बताए । पाश्र्वपथद्वारा आयोजित कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले हुम्लाका केही प्रसंगको चर्चा गरे । उपन्यासकार रोकायाले यो उपन्यास लेख्नुको कारणबारे चर्चा गर्दे आफूले शोकलाई शक्तिमा बदलेको बताइन् ।