• २०८२ आश्विन ८, बुधबार

प्रिन्स प्रमोदकुमार ढकालको ‘समयका तरङ्ग’ लोकार्पित

मोरङ ।

मोरङका कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कृति ‘समयका तरङ्ग’ (कविता सङ्ग्रह) लोकार्पण गरिएको छ । विराटनगर–१ मा अवस्थित विष्णुमाया पुस्तकालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रम साहित्यिक, सांस्कृतिक तथा सामाजिक वृत्तका व्यक्तित्वहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. कविराज पोखरेल रहनुभएको थियो । विशेष कार्यक्रममा प्राज्ञहरू खेम नेपाली, विवश पोखरेल र गङ्गा सुवेदी, संस्कृतिकर्मी महेश रेग्मी, अग्रज स्रष्टा बलराम पोखरेल, नेपाल मुक्त प्रतिष्ठानका कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, साहित्य सङ्गम विराटनगरका अध्यक्ष मधु पोखरेललगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।

लोकार्पण समारोहमा कृतिबारे टिप्पणी गर्दै बाबुराम पोखरेल र विवश पोखरेलले ‘समयका तरङ्ग’ सरल, सहज भाषाशैलीमा प्रस्तुत भए पनि विचारमा गम्भीर रहेको उल्लेख गर्नुभयो । उहाँहरूले ढकालको अघिल्लो कृतिभन्दा यो कृति धेरै परिष्कृत, परिपक्व र साहित्यिक मूल्यमा समृद्ध भएको टिप्पणी गर्दै, उत्कृष्ट सिर्जनाका लागि लेखकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा हरि कट्टेल, सुमन पोखरेल, केशु विरही, रमेन्द्र कोइराला, मीनकुमार नवोदित श्रेष्ठ, दिनेशराज सुवेदी, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, सीमा आभाष, रमेश निरौला, रोहिणी रसिक, सिजन श्रेष्ठ, पुष्पा सायरा, गोविन्द ढुङ्गाना, शारदा कार्की, राधा भट्टराई, डोमी कामत, मदन भण्डारी, विनोद विवश घिमिरे, केपी घिमिरे, एलपी पराजुली, गीताप्रसाद श्रेष्ठ लगायतका स्रष्टा तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।त्यस्तै, कार्यक्रमका विभिन्न चरणमा विनोद विवश घिमिरे, नेत्र खतिवडा, लक्ष्मी रायमाझी, शिवनारायण सिङ्गल, प्रयाग न्यौपाने, लीलानाथ सिलवाल, प्रतिमा निरौला लगायतका स्रष्टाहरूले कृतिभित्रका छन्द तथा मुक्त कविताहरू वाचन गरी साहित्यिक वातावरणलाई झन् समृद्ध बनाउनुभएको थियो ।

कार्यक्रमका क्रममा प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, संस्कृतिकर्मी महेश रेग्मी, प्रकाशन संस्थाका अध्यक्ष मधु पोखरेल, लेखकका आफन्त अर्जुन गिरीलगायतका वक्ताहरूले कृति तथा लेखकलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरूले ढकालको लेखन निरन्तरता र समर्पणलाई सराहना गर्दै, यस कृतिले समकालीन नेपाली कवितामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । विष्णुमाया पुस्तकालयका अध्यक्ष केशव गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नाट्यकर्मी एवम् कवि भरत गुरागाईं ‘बर्बरिक’ले गर्नुभएको थियो ।