Lyrics

तिलोत्तमा ।
तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा कवि उद्धव देवकोटाको नवीनतम कृति ‘समयको फन्को’ कविता संग्रह लोकार्पण गरिएको छ । कृतिकारकी माता चन्द्रकुमारी देवकोटाको ८१औँ जन्मोत्सवको अवसर पारेर सम्पन्न कार्यक्रममा प्राध्यापक ऋषिराम भुसाल, भाषाविद् डा. मुरारी पराजुली, साहित्यकार वनमाली निराकार, कृतिकार उद्धव देवकोटा र आमै चन्द्रकुमारी देवकोटाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रम तिलोत्तमास्थित होराइजन गौतम बुद्ध मा.वि.को सभाहलमा सम्पन्न भएको थियो । शिक्षाविद् हरि ज्ञवालीले देवकोटाका कवितामा समयका आयामलाई बिम्बात्मक ढङ्गले प्रस्तुत गरिएको भन्दै पुस्तकको शीर्षक सार्थक रहेको टिप्पणी गर्नुभयो । साहित्यकार रुद्र ज्ञवालीले ‘समयको फन्को’ उत्कृष्ट संग्रह भएको उल्लेख गर्दै देवकोटामा अथाह काव्यिक सम्भावना रहेको बताउनुभयो । साहित्यकार डा. श्यामप्रसाद न्यौपानेले कृतिले समसामयिक विषयवस्तुलाई मार्मिक ढङ्गले उजागर गरेको बताउँदै प्रशंसा गर्नुभयो ।
साहित्यकार वनमाली निराकारले रुपन्देहीमा देखिएका आशालाग्दा युवा कविहरूमध्ये देवकोटा एक हुनसक्ने विश्वास व्यक्त गर्दै उक्त संग्रहले साहित्यिक बजारमा आफ्नो मूल्य स्थापित गर्ने धारणा राख्नुभयो । प्राध्यापक ऋषिराम भुसालले लोकार्पणलाई साहित्य जगतका लागि महत्वपूर्ण उपलब्धि भन्नुभएको छ । भाषाविद् डा. मुरारी पराजुलीले कृतिमा मिथकीय प्रयोग, व्युत्पत्तिगत कौशल र नवीन शैली देखिएको उल्लेख गर्दै पुस्तकलाई शिखरमुखी सृजना भएको बताउँदै शुभेच्छा प्रकट गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव लीलाधर पाण्डेयले सञ्चालन गर्नुभएको थियो भने साहित्यकार रमेश समर्थनले स्वागत मन्तव्य दिनुभएको थियो । साथै लीलाधर पाण्डेय, काव्या देवकोटा र कृतिकार स्वयं उद्धव देवकोटाले ‘समयको फन्को’ मा सङ्कलित केही रचनाहरू वाचन गर्नुभएको थियो ।