वसन्तवेला

आज यो लक्ष्मण रेखाभित्र सिमाङ्कन गरिएको
जीवनबाट केही क्षण भएपनि
म हराउन चाहन्छु,
ताकि मैले आफैंलाई खोज्न सकु,
ताकी मैले आफूलाई बुझ्न सकुँ,
मैले आफूलाई चिन्न सकुँ
यति धेरै दौडधुप र अप्ठ्यारा सिंढीहरू
पार गरेपछी पनि
जीवनका अगाडि अनगिन्ती
पहाडहरू अझै ठिङ्ग उभिरहेका
छन,
जिम्मेवारी कर्तव्य वा यावत केहिका
नाममा,
यो तमाम थकाईबाट आज
म हराउन चाहन्छु र
भुल्न चाहन्छु सम्झनाका
मिठा तरेलिलाई केलाएर,
अतितका पाना पल्टाएर,
स्नेहका यदाकदा आउने
प्रेमिल रंगलाई महसुस गरेर
म कतै एक्लै,
बतासको सुस्ततासँग मितेरी
लगाएर हराउन चाहन्छु,
प्रकृतिको काखमा !!
मानव जीवनका धेरै जसो
स्वार्थ र विवेकहिन ढंगका
केही थान मस्तिष्कबाट
अभिनयमै निभाइएका सम्बन्ध,
देख्नकै लागि राखिएका सम्बन्ध,
जो आफूलाई चाहिंदा
हर बखत नजिक भएजस्तो हुन्छ
त मलाई चाहिंदा मेरो
निमित्त खाली प्रश्न र तिक्तता लिएर
मात्र उभिन्छ
म ती सबै भिडबाट एउटा मात्र
हृदयको पात्र जो आफ्नै
मनमा छ,
उ सँग जीवनभरी
अरुलाई केलाएर ध्यान दिए जसरी
त्यही मनलाई सोध्न चाहन्छु,
खुसीको रंग कस्तो हुन्छ ?
त्यागको मुल्य कस्तो हुन्छ ?
मायाको अनुभूति कस्तो हुन्छ ?
दृश्य र मनको संगम कस्तो हुन्छ ???
विभेदको ज्वाला कस्तो हुन्छ ?
नारीत्वको बलिदान कस्तो हुन्छ ?
अपनत्व नभएको स्वामित्व कस्तो हुन्छ,
अस्तित्व नस्विकारीएको स्थानमा
कर्मको मुल्यांकन कस्तो हुन्छ,
गरीविको रंग कस्तो हुन्छ,
अभावको व्यथा कस्तो हुन्छ,
अधर्मिको यज्ञ कस्तो हुन्छ,
आँशुको मूल्य कति हुन्छ,
गृहस्थ बीचको जंजिर कस्तो हुन्छ,
सम्मान बेगरको समर्पण कस्तो हुन्छ ??
सुशिला शर्मा शिलुू