फिलिङ्गो कविता

केन्टकी ।
अमेरिकाको केन्टकी राज्यमा अनेसास केन्टकी च्याप्टरको आयोजनामा १६०औँ मोती जयन्ती कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष साहित्यकार लालगोपाल सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा केन्टकीका लुइभिल र लेक्जिन्टन सहरमा बसोबास गर्ने कवि, संगीतकर्मी, सांस्कृतिककर्मी, समाजसेवी, धार्मिक अभियन्ता तथा भुटानी समुदायका नेपाली भाषीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मोतीराम भट्टको तस्वीरमा माल्यार्पण र दीप प्रज्ज्वलनसँगै सुरु गरिएको कार्यक्रममा अनेसास केन्टकीका सचिव जीवन निरौलाले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष रेखा जोशीले मोतीरामलाई बहुमुखी प्रतिभाशाली व्यक्तित्वका रूपमा स्मरण गर्नुभएको थियो ।
कार्यक्रममा बाल प्रतिभा अनुपम थापाको ‘जय जय माता भवानी’ भजन समावेश गरिएको सीडी विमोचन गरिएको थियो। त्यसपछि खेम रेग्मी, किशोर सुवेदी, अरविन्द निरौला, ज्ञानेन्द्र दहाल, मित्र सुवेदी, बद्री दाहाल, एकनारायण सुवेदी, सन्त कुवँर र अर्जुन थापालगायतका सर्जकहरूले आफ्ना गजल, कविता र गीत प्रस्तुत गर्नुभएको थियो । रचनाहरूमा शिष्ट श्रृङ्गार, सामाजिक चेतना, देशप्रेम, राष्ट्रियता, मानवता तथा व्यङ्ग्यात्मक शैली झल्किएको थियो । गायक तथा संगीतकार मुरारि गुरागाईंले मोतीराम भट्टद्वारा रचित भक्तराज आचार्यको गजलसहित आफ्ना मौलिक सिर्जनाहरू प्रस्तुत गर्दा उपस्थित श्रोता मन्त्रमुग्ध बन्नुभएको थियो। त्यस्तै उपेन्द्र शाही निषादको प्रस्तुति पनि निकै चित्ताकर्षक बनेको थियो ।
कार्यक्रमको अन्तिम चरणमा सल्लाहकार साहित्यकार डमरू पौडेलले सम्पूर्ण कवि तथा सर्जकहरूको रचनाको समीक्षा गीति–कविता शैलीमा प्रस्तुत गर्नुभएको थियो। प्रमुख अतिथि लालगोपाल सुवेदीले अनेसासलाई साहित्य, संगीत, कला, संस्कृति, धर्म, दर्शन र खेलकुदलाई समेत समेट्ने ठूलो छाता संस्थाका रूपमा विकसित गर्नुपर्ने धारणा राख्नुभयो । साथै, संकीर्ण राजनीति, जातीयता र साम्प्रदायिकतालाई त्यागी फराकिलो सोचसहित अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
सभाको अन्त्यमा सर्जकहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रम सफल बनाउन व्यस्त जीवनशैलीबीच पनि समय निकालेर सहभागी हुने सबैलाई धन्यवाद दिँदै,अनेसास केन्टकी च्याप्टरलाई सबल च्याप्टरका रूपमा विकसित गर्न सबैको निरन्तर साथ–सहयोगको अपेक्षा गरिएको थियो ।