समाचार
 
								 
							काठमाडौं ।
साहित्यिक संस्था एपेक नेपालले १६०औँ मोती जयन्तीको अवसर पारेर ‘मलाई मनपरेको कविता’को चौथो शृंखला सम्पन्न गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यसपटक साहित्यिक संस्थाका पदाधिकारीहरूले आफूलाई मनपरेको कविता वाचन गरे । उक्त अवसरमा कविहरू सुस्मिता नेपालले मञ्जुलको, विनोद नेपालले विनय रावलको, मातृका पोखरेलले आहुतीको, राधेश्याम लेकालीले विमला तुम्खेवाको, मञ्जीला अनिलले मोतीराम भट्टको, दीपक लोहनीले राजवको, श्रीओम श्रेष्ठ रोदनले मनरूप नेप्च्युनको, एलिसा ढुंगानाले तीर्थ श्रेष्ठको, रञ्जना निरौलाले बसन्त चौधरीको र ममता मृदुलले विवश पोखरेलको कविता वाचन गरे ।
त्यस्तै, प्रा.डा. सावित्री मल्ल कक्षपतिले बादल चाम्लिङको, राजेश्वर कार्कीले कपील अञ्जानको, रामप्रसाद पन्तले ठाकुर शर्मा भण्डारीको, रीता खत्रीले कृष्ण प्रसाईंको, विजयध्वज थापाले लीलाध्वज थापाको, कुमारी लामाले सुदीप पाख्रिनको, विक्रमभक्त जोशीले प्रकाश सायमीको, डा. सावित्री श्रेष्ठले सिद्धिश्वरमान श्रेष्ठको, प्रकाश समीरले राजनप्रसाद न्यौपानेको, शंकर भारतीले ध्रुवकुमार सापकोटाको र मीना श्रेष्ठले उषा शेरचनको कविता वाचन गरे ।
उक्त अवसरमा एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले युगकवि मोतीराम भट्टको चर्चा गर्दै संस्थाले अब गर्ने कार्यक्रमहरूका विषयमा जानकारी दिए । उनले यसपटक पाण्डुलिपि पुरस्कार लघुकथाको पाण्डुलिपिलाई दिइने पनि जानकारी गराए । कार्यक्रममा एपेकका कार्यक्रम संयोजक कवि राजेन्द्र शलभले कार्यक्रमको उद्येश्य प्रष्ट पार्दै कार्यक्रमलाई स्वागत गरेका थिए ।
