• २०८२ भाद्र २८, शनिबार

रेवतीरमण स्मृति ग्रन्थ’ सार्वजनिक

काठमाडौं ।

राजप्रासाद सेवामा लामो समय बिताएका, नेपाली कानुनको इतिहाससहित कानुनका विभिन्न पुस्तकहरूका लेखक रेवतीरमण खनालको स्मृतिमा तयार ‘रेवतीरमण खनाल स्मृति ग्रन्थ’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह, प्रा.डा. वासुदेव त्रिपाठी लगायतले संयुक्त रूपमा ग्रन्थ सार्वजनिक गरे ।

कार्यक्रममा प्रमुख अतिथि सिंहले रेवतीरमण खनालसँग आफ्नो पुरानो चिनाजानी भएको बताउँदै उनीसँगका स्मृति साझा गरे । सिंहले खनालमा अद्भूत क्षमता रहेको चर्चा गर्दै उनले कानुनका इतिहास मात्र नभएर मुलुकी ऐनको समेत विवेचना गरेको स्मरण गरे ।

ग्रन्थमाथि समीक्षात्मक मन्तव्य राख्दै प्रा. घनश्याम कँडेलले ग्रन्थ पठनीय भएको उल्लेख गरे । अर्का समीक्षक डा. रामकृष्ण तिमल्सिनाले खनालको कृतिहरूले उनलाई युग युगान्तर अमर बनाएको उल्लेख गरे । मुलुकी ऐनलाई आम मानिसले बुझ्ने गरी गरिएको विवेचना एउटा महत्त्वपूर्ण काम भएको बताए । उनले २०४७ सालको संविधान निर्माणमासमेत खनालको सहभागिता रहेको चर्चा गरे ।

कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले कानुनी वाङ्मयमा उनको विशिष्ट योगदान रहेको चर्चा गरे । उक्त कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठी, अधिवक्ता सुरज खनाल, सोमनाथ घिमिरे, शेषराज सिवाकोटी, कमलनारायण दास, प्रकाशक सरस्वती खनाल लगायतले ग्रन्थ र खनालकाबारेमा चर्चा गरेका थिए । सार्वजनिक ग्रन्थमा ८४ जना विभिन्न व्यक्तित्वद्वारा लिखित आलेखहरू समेटिएको छ ।