कविता

साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०८२ साउन १७ गते संगीत साधक परशुरामभक्त माथेमाद्वारा २००३ सालमा लिखित “संगीत प्रवेशिका“ पुस्तकको परिचर्चा कार्यक्रमको आयोजना गरयो । जेभिएर एकाडमी, लाजिम्पाट, काठमाडौंमा आयोजित सो कार्यक्रममा संघले चर्चित युवा सङ्गीतकार राजु सिंहलाई पहिलोपटक “परशु–चन्द्र सङ्गीत सम्मान“ बाट सम्मानित गरयो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदुत केदारभक्त माथेमाले प्रदान गर्नु भयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा “संगीत प्रवेशिका“ पुस्तकबारे वरिष्ठ सङ्गीतकारहरु प्रदिप बमजन र संगीता राणा प्रधानले गर्नु भएको थियो । यसैगरी प्रमुख अतिथि पूर्व राजदुत केदारभक्त माथेमाले संगीत साधक परशुरामभक्त माथेमाको जिवनी र व्यक्तित्वमा प्रकाश पार्दै योगदानको चर्चा गर्नु भएको थियो । सो कार्यक्रममा स्रष्टा हरिश कल्पितले सम्मानित सर्जक राजु सिंहको परिचय गराउनु भएको थियो भने शिक्षक नारायणप्रसाद खनालले परशुरामभक्त माथेमाले माताश्रीको नाममा रच्नु भएको “श्रद्धाञ्जली“ छन्द कविता वाचन गर्नु भएको थियो ।
शिक्षाविद् डा. श्रीराम भक्त माथेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली, सम्मानित सङ्गीतकार राजु सिंहले आआफ्नो मन्तव्य राख्नु भएको थियो । वरिष्ठ आख्यानकार पद्यमावती सिंहले सहजीकरण गर्नु भएको सो कार्यक्रममा गायकहरु मथुरा श्रेष्ठ, प्रजाभक्त श्रेष्ठ,अन्ना श्रेष्ठ, सुनन्दा माथेमा, डिसु भण्डारी लगायतले गीतहरु गाउनु भएको थियो । कार्यक्रममा साहित्यकार, संगीतकार, पत्रकारलगायतको बाक्लो उपस्थिति रहेको थियो ।