• २०८२ आश्विन २४, शुक्रबार

डा. रामदयाल राकेशको ‘देश–विदेशका सम्झना’ लोकार्पण

काठमाडौँ ।

नियात्राकार डा. रामदयाल राकेशको ‘देश–विदेशका सम्झना’ नियात्रासंग्रहको लोकार्पण भएको छ। काठमाडौंस्थित अक्टूबर क्याफेमा आयोजित समारोहमा नियात्राविद् घनश्याम राजकर्णिकारले नियात्रासंग्रहको लोकार्पण गरेका हुन् ।

नेपाल नियात्रा समाजका अध्यक्ष मोहन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक डा. कृष्णप्रसाद दाहालले नियात्राकार राकेशको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए ।

नेपाली नियात्रा साहित्यमा डा. राकेशको अहिलेसम्म आधा दर्जन पुस्तक प्रकाशित भइसकेका छन् र उनले स्वदेश र विदेशको भ्रमण गर्दा नियात्रा संस्मरण नियमित रूपमा लेख्दै आएका छन् । उनको नियात्रा साहित्यमा निकै योगदान छ ।

त्यस्तै उक्त कार्यक्रममा रामहरि जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष बद्रिमान मास्केले डा. राकेशको साहित्यिक योगदानको चर्चा गरेका थिए। नियात्राकार राकेश सर्लाहीको मात्र होइन नेपाली साहित्यको एक असल व्यक्तित्व भएको र उनको लेखन रूचिकर भएको बताए ।

अध्यक्षको आसनबाट नियात्राकार मोहन चापागाईले उनको नियात्राबारे विस्तृत विवेचना गरे । सोही समारोहमा सिर्जनशील लेखककुञ्जका अध्यक्ष कमल ढकालले पनि डा. राकेशको साहित्यिक योगदानको चर्चा गर्दै लेखनकुञ्जले प्रत्येक वर्ष उनको एकएक कृति प्रकाशन गर्ने प्रतिबद्धता पनि जनाए ।