समाचार

काठमाडौँ ।
गायिका देविका बन्दनाको म्युजिक भिडियो ‘सोलुको मैच्याङ’सार्वजनिक भएको छ। शुक्रबार काठमाडौँमा कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईलगाय उपस्थित थिए ।
सोलुखुम्बुको पर्यटन तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले सोलुको मैच्याङ गीत ल्याएको गायिका देविका बन्दनाले बताइन् । ‘केही समयअघि चीन जाँदा सोलुखुम्बुका जनप्रतिनिधिहरुसँग भेट भएको थियो, उहाँहरुसँगको साक्षात्कारबाट त्यहाँको कला, संस्कृति र पर्यटनबाट प्रभावित भएकी थिए,’ उनले भनिन् । थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले म्युजिक भिडियोमा सोलुखुम्बु झल्किएको उल्लेख गरे। ‘गीतमा व्यक्त भएका शब्द मर्मस्पर्शी छ,’उनले भने ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरजस्तो रोगलाई जितेर फेरि कलाकारितामा सक्रिय हुनुभएकी कलाकार देविका बन्दनाप्रति आभार व्यक्त गर्दै गीतको सफलताको शुभकामना दिए । देविका बन्दनाकै शब्द रहेको गीतमा किरण कँडेलले संगीत भरेका छन्। गीतमा पनि देविका र किरणको स्वर छ। कमल राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङले अभिनय गरेका छन् । गीत देविका बन्दना नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायिका बन्दनाको ‘भरे आउँछु सपनीमा’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तल तल तल तल बेँसीमा मैच्याङ’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउल’लगायतका थुप्रै गीत चर्चित छ ।