• २०८२ कार्तिक ४, मंगलवार

कथाकार सुजन वैरागीको ‘रित्तो हात’ सार्वजनिक

काठमाडौं ।

कथाकार सुजन वैरागीद्वारा लिखित कथासङ्ग्रह ‘रित्तो हात’ शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ माया ठकुरीले कथाकृतिको विमोचन गर्दै वैरागीले सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरेको बताउनुभयो । उहाँले वैरागीलाई नव पुस्ताका आशालाग्दा कथाकारका रूपमा व्याख्या गर्नुभएको थियो ।

कार्यक्रममा प्रा. डा. हरिप्रसाद सिलवालले ‘रित्तो हात’ ले नेपाली कथासाहित्यमा नयाँ इँटा थप्ने काम गरेको उल्लेख गर्नुभयो । उहाँले संग्रहभित्रका कथाहरू गाउँ, शहर, देश र विदेशका परिवेशमा प्रस्तुत गरिएको, र पाठकले ती परिवेश प्रत्यक्ष अनुभूति गर्न सक्ने ढंगले कथा लेखिएको बताउनुभयो । समारोहमा कवि रमेश पौडेलले वैरागीको कथाशिल्प प्राञ्जल र पठनीय भएको चर्चा गर्नुभयो । जापान जान लागेका वैरागीले यस कृतिलाई आफूले पाठकहरूका लागि तयार पारेको ‘सरप्राइज कोसेली’ भएको उल्लेख गर्नुभयो । कथाकारले आफ्ना स्वर्गीय आमाबुबा र दाजुलाई सम्झँदै आध्यात्मिक आशीर्वादप्रति आभार व्यक्त गर्नुभयो ।

रामेछापका सर्जक वैरागी विगत दुई दशकदेखि साहित्य र पत्रकारितामा हुनुहुन्छ । २०६७ सालमा मुक्तक संग्रह ‘पर्खाइका पलहरू’ बाट साहित्यिक यात्रा सुरु गर्नुभएको वैरागीका ‘पल्लवी रातहरू’ संयुक्त कृति प्रकाशित भइसकेको छ । उहाँ हाल ‘रुमानी’ साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक पनि हुनुहुन्छ । अमेरिकाको डाइनामिक बुना इन्क र ब्लाइन्ड कोर्प द्वारा प्रकाशित ‘रित्तो हात’ मा १९ ओटा विविध यथार्थवादी कथा समेटिएका छन् । कृतिको आवरण प्रकाशनसँगै विमोचन गरिएको यस कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार, विद्यार्थी तथा शुभेच्छुकको उल्लेख्य उपस्थिति रहेको थियो ।