स्विजरल्यान्डको कविता

बिन्तीभाउ गरेर, बल्लतल्ल छोरीलाई मनाएँ र पहिलोपल्ट एक कार्यक्रममा साथसाथै ल्याएँ ।
म उभिएर गफ्फिँदै थिएँ अरु सहभागी मित्रहरूसङ्ग ।
झकिझकाऊ भएकोतिर देखाउँदै छोरीले सोधिन्, “त्यो के हो बुवा ?”
“त्यो मञ्च हो नानी ।”
“कति राम्रो ! म त्यहाँ जाउँ ?”
“हुन्न नानी !”
मधुरो अनुहार लाएर उनले भनिन्, “ मोबाईल नि दिसिन्न हजुर ! कस्तो निद्रा लाग्यो क्या ! सोफामा पल्टिन्छु नि !”
मैले सम्झाएँ, “हुन्न क्या ! हामीले त्यहाँ बस्न !”
“अनि को बस्छन् त त्यहाँ ?”
“सभापति ”
“अनि अरुमा कोको बस्छन् नि ?”
मैले सरासर सम्झेजति भन्दै गएँ, “माननीय मन्त्रीज्यूहरू, राजदूत महोदयहरू, सचीवहरू, सभामुख, मेयरहरू, वडाका हाकिमहरू, नेतागणहरू, चन्दादाताहरू, अनि त्यस्तै त्यस्तैहरू नानी !”
अलमल्ल पर्दै छोरीले खाउँलाजस्तै गरेर भनिन्, “अनि हजुरले त मलाई, हजुरजस्तै कविहरूको कार्यक्रम भनेर ल्याएको हैन र ?”
कात्यायन, चाबहिल, काठमाडौं – ७