समाचार

शून्यजस्तो देखिन्छ-
तर शून्यमा शून्य मात्र हुँदैन
त्यसको गर्भभित्र पनि हुन्छन्
अदृश्य हलचलहरू
क्वान्टम फ्लक्च्युएशन,
न त देखिन्छ, न त सुनिन्छ,
तर सृष्टिको पहिलो स्वर
उदाउँछ
त्यही मौन कम्पनबाट,
कसैले सोच्छ होला-
कसरी सम्भव छ
अभावको गहिरो सन्नाटाबाट
भाव अर्थात् अस्तित्वको आगमन ?
तर
शून्यभित्र पनि हुन्छ
सन्तुलन र असन्तुलनको गहिरो लय,
अचानक जन्मिन्छन्
विपरीत जोडीहरू-
जस्तै प्रकाश र अँध्यारो,
ऊर्जा र विरोधी ऊर्जा-
जसबाट अंकुराउँछ सृष्टिको पहिलो रूप,
जसरी
इभेन्ट होराइजनको छेउछाउ
जन्मन्छन् केही सहकणहरू ।
कहिलेकाहीँ
कुनै कण
तानिन्छ कालो गुरूत्वभित्र
र अर्को फ्याकिन्छ
क्षितिजको अनन्त सीमा बाहिर
हकिङ विकिरणको रूप लिएर
र लेखिन्छ एउटा दुखान्तक प्रेम कथा ।
ठीक त्यस्तै-
शान्त देखिने हाम्रो मस्तिष्क
कहिल्यै चुप हुँदैन
मौनजस्तो लागे पनि
भित्रभित्रै उठ्छन्
चिन्तनका छालहरू,
कल्पनाका कणहरू,
अनुत्तरित प्रश्नहरूका तरंग,
सिलिङको पंखा
निरन्तर फन्का मारिरहेजस्तो-
मस्तिष्कमा पनि घुमिरहेछ
एक मौन गुनगुन,
एक मौन अनुनाद,
शब्दविहीन लयमा
सतहमा देखिँदैन केही
तर गहिराइमा चलिरहेछन्
अव्यक्त उतारचढावहरू-
न योजना, न थालनी,
के थाहा-
त्यही अनायास उठेको एक तरंगले
जन्माइदिन्छ कुनै कवितारु
वा उदाउँछ
कुनै एक मौलिक विचार,
दर्शन,
अथवा कुनै नवीन आविष्कार ?
यसै गरी,
कहिलेकाहीँ
शून्यको क्षणमै
फुट्छ एक बिन्दु-
मस्तिष्कभित्रको फ्लक्च्युएशनबाट
उदाउँछ सृष्टिको भाषा
अनि
हाम्रो चेतनाले कोरिदिन्छ
एउटा ब्रह्माण्ड-
भावना,
अर्थ,
वा अस्तित्वको,
शून्य क्षणमा
उठ्छ एउटा अज्ञात स्पन्दन
खोलिन्छ ब्रह्माण्डको ढोका
जहाँ उत्पन्न हुन्छ एउटा स्वर,
न केवल विज्ञान
न त केवल कविता
तर दुबैको अदृश्य संगम ।।
दीपक चौलागाई